९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

किन जारी भयो विप्लव समूहका नेताहरुविरुद्ध पक्राउ पुर्जी ?


जनमञ्च संवाददाता
  • १६ साउन २०७९ , सोमबार

  • किन जारी भयो विप्लव समूहका नेताहरुविरुद्ध पक्राउ पुर्जी ?

    काठमाडौं, १६ साउन – हिंसाको राजनीति छाड्दै नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले २० फागुन २०७७ मा सरकारसँग गरेको सहमतिको तेस्रो बुँदामा सरकार ‘कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको’ भनिएको थियो ।

    सहमतिको यही बुँदामा टेकेर अनुसन्धानका सिलसिलामा हिरासतमा रहेका धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहित १५ नेता, कार्यकर्ताहरुलाई तत्कालै प्रहरीले थुनामुक्त गर्‍यो । विभिन्न अदालतमा पनि न्यायाधीशहरुले सहजिकरण गरिदिए, तर जघन्य अपराधका कसूर लागेकालाई भने छाड्न कानूनी अड्चन देखियो ।

    त्यहीकारण अझै ३६ बढी नेता, कार्यकर्ता कारागारमा छन् । उनीहरुलाई थुनामुक्त गरेर सहमति कार्यान्वयन गर्न भन्दै महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतले दौडधुप गरिरहेकै छन् ।

    यहीबीचमा सोमबार ललितपुर जिल्ला अदालतले महासचिव विप्लव, प्रवक्ता प्रकाण्डसहितका नेता कार्यकर्ताहरुविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

    हमति कार्यान्वयनमा ढिलाइ भइरहेका बेला पक्राउ पूर्जी जारी भएपछि समूहका नेता, कार्यकर्ताहरु झस्किएका छन् । पार्टीको युवा संगठनका नेता नविन विश्वकर्मा भन्छन्, ‘सरकारले पक्राउ पुर्जी जारी गरेर तीन बुँदे सहमति उल्लंघन गरेको छ ।’

    तर जिल्ला अदालत, ललितपुरका श्रेस्तेदार विष्णुप्रसाद पाण्डे भन्छन्, ‘सहमतिको कुरा अदालतलाई थाहा हुने विषय भएन, यो प्रक्रिया अनुसार जारी भएको हो ।’

    पाण्डेका अनुसार पुराना मुद्दामा हाजिर नभइ फरार रहेकाले नेताहरुका नाममा ३५ दिनभित्र उपस्थिति हुन भनेर सूचना जारी भएको हो ।

    स्रोतका अनुसार चार मुद्दामध्ये पहिलो १९ जेठ २०७५ मा ललितपुरमा बरामद भएको डेटोनेटर, बारुदलगायतका विष्फोटक पदार्थ सम्बन्धी हो । त्यसमा अन्य नेता, कार्यकर्ता पक्राउ परेर धरौटीमा छुटिसकेका छन् ।

    तर प्रतिवादी बनाइएका मध्ये महासचिव विप्लव, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम र पदमबहादुर राई हाजिर नभएकाले उनीहरुका नाममा ३५ दिने सूचना जारी भएको हो ।

    दोस्रो मुद्दा भनेको ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को मुख्यालयमा दुईजनाको मृत्यु हुने गरी भएको विष्फोटको घटनासम्बन्धी हो । यसमा केही धरौटीमा छुटेका छन्, केही अझै कारागारमा छन् । प्रतिवादी बनाइएका मध्ये विप्लव र प्रकाण्ड चाहिँ अदालतमै हाजिर भएका थिएनन्, त्यसैले वारेन्ट जारी भएको अदालत स्रोतको भनाइ छ ।

    तेस्रो मुद्दा ललितपुरको हात्तिवनमा डेटोरनेटरसहित विप्लवका कार्यकर्ता समातिएको घटना हो । प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले विप्लव, स्थायी समिति सदस्य सन्तोष बुढा मगर, तत्कालीन ललितपुर जिल्ला इञ्जार्च नविन विश्वकर्मा र केन्द्रीय सदस्य उदयबहादुर चलाउनेलाई फरार प्रतिवादी बनाएर मुद्दा लगेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend