काठमाडौं, २४ साउन– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेश भइरहेको बारे जानकारी गराउन बालुवाटार पुगेका उनले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताएका हुन् ।
उनले गठबन्धनमा अहिले दलहरू थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताए । प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकाले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मद्देनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको बताए ।
गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रुपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने बताए । उनले वाम एकताको लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनैपनि वृहत वाम एकताको सम्भावना नरहेको दाबी गरे ।
‘गठबन्धनमा दलहरु जे आधारमा थपिन्छन्, त्यही आधारमा आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ । तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ । २०७४ को निर्वाचनको कुरा, भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनको परिणाम यी सबै आधारमा उभिएर सबैलाई समान हुने ढंगले हामीले तालमेल गर्नुपर्छ’ उनले भने, ‘कसैले अपमान फिल गरेमा उ तालमेलमा आउँदैन । सबैलाई समान हुने खालको तालमेलको बुटी बनाउन आवश्यक छ वाम एकताको लागि सबैभन्दा ठूलो पार्टीले पहल गर्नुपर्ने हो, उसमा त्यो रुची मैले देखिनँ । वृहत वाम एकताको सम्भावना अहिले छैन ।’