काठमाडौं, १७ मंसिर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले प्राविधिक तथा व्यवसायीक शिक्षालाई विशेष जोड दिनुपर्ने बताएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको नवौं वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै मन्त्री पौडेलले प्राविधिक तथा व्यवसायीक शिक्षालाई जोड दिनुपर्ने बताए । विश्वविद्यालयले अनुसन्धानमुखी, गुणस्तरीय, नैतिकवान एवम् योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
सहकुलपति समेत रहेका पौडेलले विश्वविद्यालयलाई आवश्यक पर्ने जनशक्ति तथा आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
‘सुदूरपश्चिम जैविक विविधतायुक्त प्राकृतिक सम्पदा तथा पर्यटनका अनन्त सम्भावनाहरु बोकेको क्षेत्र हो,’ उनले भने, ‘त्यहाँको आवश्यता र माग अनुसारको अनुसन्धामुखी शिक्षा सर्वसुलभ रुपमा व्यवस्था गर्न विश्वविद्यालयले प्रमुख भूमिका निर्वाह गर्नुपर्छ ।’
आजको प्रतिस्पर्धात्मक युगमा नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्र्राष्ट्रिय स्तरका विविध क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल भएको बताउँदै थप योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिए ।
मन्त्री पौडेलले कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा पनि विश्विद्यालयले उपलब्ध सीमीत स्रोत साधन एवम् प्रविधिको उपयोग गरी वैकल्पिक माध्यमबाट पठन पाठनमा दिएको निरन्तरता प्रशंसनीय रहेको बताए ।
विश्वविद्यालयको समृद्धि एवम् सफलताका लागि प्रशासनीक तथा सांगठनिक रुपमा सबल नेतृत्व, पारदशीता र जवाफदेहिता अपरिहार्य भएको मन्त्री पौडेलको भनाइ छ ।