पोखरा, १७ मंसिर – ‘कसैलाई दुबै हातमा लड्डु, कसैको दुबै हात रित्तो ।’ नेकपा एमालेको १० औं महाधिवेशनले यो उखानलाई चरितार्थ गरेको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीको एकल निर्णय हावी हुँदा कास्कीका नेता रश्मी आचार्य केन्द्रीय सदस्य बन्नेमा ढुक्क थिए । कास्की–२ बाट माहाधिवेशन प्रतिनिधि चुनिएर चितवन पुगेका आचार्यले अध्यक्ष ओलीको ‘ग्रिन सिग्नल’ पाएनन्, भविश्यमा जिम्मेवारी पाउने आशा मात्र बोकेर फर्किए ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बन्ने लाइनमा थिए, आचार्य । माओवादीसँग पार्टी एकता गरेपछि एकिकृत अनेरास्ववियुमा एमालेका ऐन महर संयोजक चुनिए । सहसंयोजक माओवादीबाट रञ्जित तामाङ छानिए । जबकी एमाले अखिलमा महर भन्दा आचार्य सिनियर थिए ।
आफूभन्दा जुनियरलाई नेता मान्न आचार्य सहमत भए । पार्टी विभाजन भएपछि अनेरास्ववियु पनि फुट्यो, माओवादीले अखिल क्रान्तिकारी पुनर्जिवित बनायो । विभाजन पश्चात बनेको अनेरास्ववियुमा पनि महर नै अध्यक्ष चुनिए । आचार्य पहिलो उपाध्यक्ष बने ।
२०६३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य निर्वाचित आचार्य लगातार विद्यार्थी राजनीतिमा लागिरहे । ऐन महरले अध्यक्ष छाडेपछि अध्यक्षको स्वभाविक दावेदार आचार्य थिए । उनलाई अनेरास्ववियूको अध्यक्ष बनेर विद्यार्थी राजनीति हाँक्ने आकांक्षा पनि थियो । तर, पार्टी अध्यक्ष ओलीले उनको चाहना पूरा हुन दिएनन् ।
अनेरास्ववियुको गत असोज पहिलो साता बसेको सचिवालय बैठकले सुनिता बराललाई अध्यक्षको जिम्मेवारी दियो । पार्टी अध्यक्ष ओलीले टीका लगाएर बराल अध्यक्ष भएको घोषणा गरिदिए । जबकि, अनेरास्ववियुको केन्द्रीय समितिमा बराल मनोनित भएर पुगेकी थिइन् ।
ओलीले त्यतिबेला पार्टी राजनीतिमा आचार्यलाई भूमिका दिने आश्वासन दिए । सचिवालय बैठक सकेर आचार्य अब पार्टी राजनीतिमा लाग्ने भन्दै पोखरा फर्किए । ओलीको आश्वासन अनुसार उनले महाधिवेशनमार्फत केन्द्रीय सदस्य बन्ने आकांक्षा राखेका थिए ।
महाधिवेशनमा केन्द्रिय सदस्य बन्न उनले पनि लविङ नगरेका होइनन् । सुरुकै चरणमा अध्यक्ष ओलीसहितका नेताहरुले आचार्यलाई केन्द्रीय सदस्य बनाउने ढाडस दिइरहे । आचार्य पत्याइरहे । ओलीले जब केन्द्रीय समितिको प्रस्तावित नामावली पढेर सुनाए, आचार्य लिष्टमा परेनन् ।
‘केन्द्रीय सदस्यमा म छुट्दिन भन्ने विश्वासमा थिएँ’, आचार्यले भने, ‘समाजवादउन्मुख समृद्धीको अभियान कार्यान्वयन गर्न पनि युवा पुस्ता आउनुपर्छ भन्ने मेरो मान्यता थियो, कसरी छुँटे नेताहरुले नै भन्नुहोला ।’
अनेरास्ववियुको अध्यक्ष बन्नबाट रोकिएका आचार्य पार्टी केन्द्रीय सदस्य बन्नबाट पनि बञ्चित भए । ओली समुहमै रहेका कारण उनले नेताद्धय भीम रावल र घनश्याम भुषाललेझैं विद्रोही उम्मेदवार बन्न पनि सकेनन् । अध्यक्ष ओलीले आश्वासन पूरा नगरेपनि आचार्य अझै आशावादी छन् ।
‘मलाई नेतृत्वले कहीं न कहीं सेटल गर्नुहुन्छ भन्ने लागेको छ,’,उनले भने, ‘मनोनित गरेर होस् वा कुनै न कुनै जिम्मेवारी पाउँछु जस्तो लाग्छ ।’
गण्डकीको राजनीतिमा उपमहासचिव बनेका पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी समुह मिलाउन आचार्यले भूमिका खेलेका थिए । पोखरा महानगर कमिटीको अध्यक्ष बनाउन दुई नेताबीच तानातान हुँदा आचार्यले नै मिलाएका थिए । उनले एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलिप न्यौपानेलाई सर्वसम्मत बनाउन गुरुङ र अधिकारीलाई सहमत गराएका थिए ।
पोखराका अध्यक्ष भएका न्यौपाने नेता अधिकारी मन्त्री बन्दा सचिवालयमा काम गरेका थिए । गुरुङपक्षबाट अन्य उम्मेदवार उठेका थिए । दुई नेताको द्वन्द्व व्यवस्थापनमा भूमिका खेल्दा आचार्यले दुबै नेताको विश्वास गुमाएको हुन सक्ने एमाले कास्कीका कतिपय नेताहरुको आशंका छ । तर, आचार्य भने यसलाई स्विकार गर्दैनन् । गण्डकीका दुबै नेताले मलाई केन्द्रीय सदस्य बन्न सिफारिस गरेको भन्नुभएको छ,’ उनले भने, ‘अहिले उहाँहरुको द्वन्द्व छैन, उहाँहरुले मलाई विश्वास गर्नुहुन्छ ।’