पोखरा, १७ मंसिर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
शुक्रबार निर्माणाधीन विमानस्थलमा पुगेर मन्त्री आलेले रिठेपानी डाँडा कटान र वर्षाको समयमा विमानस्थलमा पानीको व्यवस्थापनमा देखिएको समस्या तत्काल समाधान गरेर विमानस्थलमा निर्माणकार्य समयसिमा भित्रै सम्पन्न गर्न निर्देशन दिए ।
विमानस्थलमा आयोजना प्रमुख तथा सरोकारवालाहरूसँग निर्माण कार्य प्रगति बारे बुझ्दै उनले रिठेपानी डाँडा कटानमा देखिएको अवरोध तत्काल हटाउन र विमानस्थलको सञ्चालन पूर्व नै पानीको निकासमा देखिएको समस्या समाधान गर्न पनि निर्देशन दिए ।
मन्त्री आलेले रिठेपानी डाँडाको विषयमा आफू यसअघि बन मन्त्री भएको समयमा मन्त्रिपरिषद् स्तरीय बैठकबाट निर्णय भइसकेकोले सोही अनुसार अघि बढ्न र देखिएका समस्यालाई तत्काल समाधान गर्न आग्रह गरे ।
‘म जुन बेला बन तथा वातावरण मन्त्री थिए त्यति बेला नै यो राष्ट्रिय गौरवको आयोजना हो भनेर रिठेपानी डाँडा कटान गर्न पाउने भनेर सदर गरे र त्यसलाई क्याबिनेटमा लगेर पनि पास भयो तर त्यहाँ ब्युरोक्रेसीले ‘ईआइए’ सर्त राखेछ‘, उनले भने, ‘त्यो बेला गरेको काम अहिले म यही मन्त्रालयमा आउँदा समस्या देखियो, अव त्यस्तो हुँदैन हामी समस्याको समाधान गर्छौ ।’
उनले रिठेपानी डाँडा कटानको विषयमा थप मन्त्रिपरिषद्को निर्णय आवश्यक नपर्ने भन्दै आयोजना प्रमुखलाई देखिएका समस्या समाधान गर्न अग्रसर भई छिटोभन्दा छिटो कटान कार्यलाई तीव्रता दिन निर्देशन दिए ।
मन्त्री आलेले विमानस्थल भित्रको पानीको व्यवस्थापन राम्रो नहुने बेलासम्म चिनिया ठेकेदार कम्पनीलाई रकम भुक्तानीको लागि सिफारिस नगर्न आदेश समेत दिए । ‘मैले सुनेको छु यहाँ बनाएको नहर पनि ठाउँ ठाउँमा भत्किएको छ, नहर गुणस्तरको पनि बनेको छैन उहाँले भन्नुभयो जबसम्म यो समस्या समाधान भएर पानीको व्यवस्थापन राम्रो हुँदैन ठेकेदार कम्पनीलाई हुने यस सँग सम्बन्धित रकम भुक्तानी रोक्नुहोस् ।’

विमानस्थल भित्रको पानीको समस्या सम्बन्धित ठेकेदार कम्पनी मार्फत गराउन र सिचाइको नहरका कारण देखिएको समस्या तत्काल सम्बन्धित सरोकारवालाहरू सँग छलफल गरी समाधान गर्न उहाँले निर्देशन गर्नुभयो । ‘यहाँ विमानस्थलको निर्माण कार्य सम्पन्न भएर बाहिरबाट पानी आएर समस्या भयो भने त्यसको के अर्थ रु’, उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘प्रधानमन्त्री ज्यू र अर्थमन्त्री ज्युले पनि समस्या समाधान गर्न भनिसकेको अवस्थामा बजेटले रोक्छ ?
सिचाई कारण देखिएको पानीको व्यवस्थापनको समस्या विमानस्थलसँग सम्बन्धित नै भएकाले सो विषय सिचाइ डिभिजन कार्यालयको हो भनेर नबस्न र तत्काल सिचाई डिभिजनलाई लागत स्टिमेट गरेर पठाउन भन्न उनले आग्रह गरे ।
‘सिचाई डिभिजन कार्यालयलाई लागत स्टिमेट गरेर माथि पठाउन् भनेको भए हामी पहल गर्थ्यौ, अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गर्थ्यो, टेन्डर प्रक्रियामा लगेर समस्या समाधान हुन्थ्यो, मन्त्री आलेले झोक्किँदै भने ।
जवाफमा आयोजना प्रमुख विनेश मुनानकर्मीले रिठेपानी डाँडामा ‘पूरक इआइए’को काम भइरहेकोले १० दिनमा फाइल तयार पारी मन्त्रालयमा स्वीकृतिको लागि पठाइने बताए । मन्त्रालयको स्वीकृतिसँगै ठेक्का प्रक्रिया शुरु भई कटानको कार्य अघि बढ्ने उनको भनाई थियो ।
विमानस्थलमा सिचाइका कारण भएको पानीको समस्या समाधान गर्न हाइवेबाट पानीको डाइभर्सन गर्ने विकल्प रहेको भन्दै आयोजना प्रमुख मुनानकर्मीले त्यसको लागत ३४ करोड लाग्ने देखिएको बताए । यस सम्बन्धमा सिचाई डिभिजन कार्यालय कास्कीले आफूहरू सँगै बजेट नभएकाले केन्द्रसँग बजेट माग गरेको बताएकाले उक्त रकम विनियोजन भएको खण्डमा विमानस्थल भित्रको पानीको व्यवस्थापनको समस्या दीर्घकालीन रूपमा हल हुने उल्लेख गरे ।
‘पानीको डाइभर्सन गर्न कार्य आउने वर्षाको समय अगावै सम्पन्न गर्न सकिन्छ’, आयोजना प्रमुख मुनानकर्मीले भने, ‘यदि उक्त कार्य सिचाई डिभिजन कार्यालयले गर्न सक्दैन भने हामीले त्यसको जिम्मा लिएर काम गर्न तयार छौ ।’ विमानस्थल भित्र एउटा खोला नै बग्न सक्ने खालको नहर बनाइएकाले आन्तरिक रूपमा जम्ने र बग्ने पानीको सहज व्यवस्थापन हुने उनको तर्क थियो ।
यी समस्या समाधान भएको खण्डमा अगामी वैशाखबाट विमानस्थलको निर्माण कार्य सम्पन्न गरी फ्लाइट शुरु हुने उनले वताए । विमानस्थलको सहज सञ्चालनका लागि सञ्चालन अगावै नजिकै रहेको ल्यान्ड फिल्ड साइट हटाउनुपर्ने र मुख्य राजमार्ग सँगै आसपासका गन्तव्यलाई जोड्ने सहायक बाटाको निर्माण तथा व्यवस्थापन हुनुपर्ने उनको भनाई थियो ।
विमानस्थलको हालसम्म ८८ प्रतिशत निर्माणको काम सकिएको र ६८।७ प्रतिशत वित्तीय खर्च भएको मुनानकर्मीले बताए । विमानस्थलका लागि ९९ प्रतिशत जग्गा अधिग्रहण भइसकेको र ३ हजार ८ सय रोपनीमध्ये बैङ्कहरूमा धितो बन्धक रहेको, व्यक्ति विदेशमा रहेको, सम्पर्कमा नआएको लगायतका समस्या रहेको २० रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको जानकारी दिए ।
विमानस्थलमा हाल ३ किलोमिटर लामो रनवे, विमानस्थललाई राजमार्गसँग जोड्ने सडक, विमानस्थल भित्रका स्थानहरूलाई जोड्ने सडक, जहाज पार्किङ, ट्याक्सी पार्किङ, टर्मिनल भवन लगायतका एयर साइड र ल्याण्ड साइडका मुख्य कार्यहरू सम्पन्न भइसकेको मुनानकर्मीले उल्लेख गरे ।
करिब २२ अर्बभन्दा बढी लागतमा गएको जुलाई १० भित्रै निर्माण कार्य सम्पन्न गर्नुपर्ने गरी चीनको सिएएमसी कम्पनीसँग सम्झौता भएको भए पनि कोरोनाका कारण सिर्जित समस्याका कारण नागरिक उड्डयन प्राधिकरणले निर्माण अवधि १ वर्ष थप गरेको हो । थप गरिएको सम्झौताअनुसार आयोजना २०७९ असार सम्ममा सम्पन्न गरिसक्नुपर्नेछ ।