२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

शिव पलाँसका गीत अव पुस्तकमा


जनमञ्च संवाददाता
  • २१ मंसिर २०७८ , मंगलबार

  • शिव पलाँसका गीत अव पुस्तकमा

    पोखरा, २१ मंसिर – माया गर्नुको अर्थ, आगो भन्ने जान्दा जान्दै, गन्दै जाँदा पिरतीमा जस्ता लोकप्रिय गीतका सर्जक शिव पलाँसको गीत संग्रह बजारमा आएको छ ।
    ‘अनेसास शब्द सारथि’ कार्यक्रमबाट आइतबार कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा अग्रज गीतकार, समालोचक डा कृष्णहरि बरालले पलाँसका गीतमा रुपक, अलंकार, बिम्ब, प्रतीक, सँगसँगै कला र शिल्पको लोभलाग्दो तालमेल भएको बताए ।

    विभिन्न भावका सर्वकालिक गीत पलाँसको कृतिमा रहेको बरालले उल्लेख गरे । उनले भने, ‘पलाँस महात्वपूर्ण गीतकार रुपमा स्थापित भएका छन् । उनका गीतमा प्रेम, मिलन, विछोड, देशभक्ति, समाजको चित्रण त छँदै छ, विसंगत जीवनदृष्टिसमेत आएको छ ।’
    साहित्यकार डा. ऋषि बस्ताकोटीले पलाँसका गीत पढ्दा नै गीत भएको महसुस गराउने, लय र अन्तध्र्वनि समाहित भएको उल्लेख गरे । उनले पलाँसका कतिपय गीत दिमाग खल्बल्याउने र मुटु झस्काउने खालका भएकोसमेत टिप्पणी गरे ।

    सरल तर बिम्बात्मक शब्दमा गहन मनोविज्ञान हुनु पलाँसको विशेषता भएको उनको ठम्याइँ छ । चर्चित गीतका सर्जकले त्यो गीत मेरो हो भन्न प्रमाण जुटाउनुपर्ने समयमा पलाँस भाइरल हुनभन्दा पनि गहन गीत लेख्न लागेको उनको भनाइ छ ।
    साहित्यकार रमेश पौडेलले आफूले पहिला माया गर्नुको अर्थ गीतलाई चिनेको र पछिमात्र गीतकारसँग परिचित भएको सुनाए । गीतकार हरिहर तिमिल्सिनाले पलाँसका गीत फरक खालका भएको तर्क गरे । उनले भने, ‘पलाँसका गीतहरु सुन्ने खालका होइनन् । हेर्ने खालका पनि होइनन् । यी त महसुस गर्ने खालका हुन् ।’

    विष्णुबाबु देवकोटाले पलाँसलाई इमान्दार किसानको संज्ञा दिए । उनले भने, ‘पलाँस सस्तो चर्चाको पछि नलाग्ने, संगीतमा देखिएको विकृति माथि औंला उठाउने र सुगम गीतको खेतीमा रमाउने इमान्दार किसान हुन् ।’
    अनेसास वरिष्ठ उपाध्यक्ष गोवद्र्धनपूजाले स्वदेश र प्रवासमा रहेका नेपालीका जीवनका सुस्केरा समेटिएको धारणा राखे ।

    कार्यक्रममा नम्रता गुरागाईं, डा. चिरञ्जीवी भट्टराई, राजेन्द्र श्रेष्ठ, सर्वज्ञ वाग्ले, रोहिणी शर्मा, ईश्वर देवकोटा, सरस्वती श्रेष्ठ ‘सरू’, लक्ष्मी थापा, विमल गौतम लगायतले गीतकार पलाँसका रोज्जा गीत सुनाउँदै उनलाई शुभकामना दिएका थिए । गायक, संगीतकार सञ्जु थापाले पलाँसको गीत प्रस्तुत गरे ।

    कार्यक्रममा गीतकार पलाँसले गीतका रङहरु जिन्दगीका रङ जस्तै हुने सुनाए । उनले भने, ‘कहिले अध्यारा र त कहिले उज्याला रङ । त्यसैले गीत मेरा लागि अनुभव र अनुभूतिको सङ्लो प्रतिबिम्ब हो ।’
    दीप श्रेष्ठ, नरेन्द्र प्यासी, रामकृष्ण ढकाल, शिशिर योगी, कर्णदास, प्रमोद खरेल, सन्तोष रुचाल, इन्दिरा जोशी, सुमन क्षेत्री, चन्दादेवी, स्वरुपराज, नरजंग गुरुङ, एबी संकल्प, अनिता घिमिरे, भुवन प्यासी, नवीन काफ्ले , मनोजराज लगायतका गायक गायिकाले पलाँसका गीतमा स्वर दिएका छन् । ती गीतमा बीबी अनुरागी, अर्जुन पोखरेल, सञ्जु थापा, तेजेन्द्र गुरुङ, रमेश कडरिया, विनोद रसाइली, तीर्थराज पोखरेल लगायतका संगीतकारले संगीत भरेका छन् ।
    कृतिमा ती गीतसहित ८१ गीत समावेश छन् । आवरण प्रकाशनबाट निस्किएको कृति वितरण पाल्पा बुक्स, काठमाडौंले गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend