९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

उत्तरी गोरखाका खाद्य डिपो रित्तिदै, चामल ढुवानीको ठेक्का लागेन


जनमञ्च संवाददाता
  • २२ मंसिर २०७८ , बुधबार

  • उत्तरी गोरखाका खाद्य डिपो रित्तिदै, चामल ढुवानीको ठेक्का लागेन

    गोरखा, २२ मंसिर – उत्तरी गोरखाका खाद्य डिपो रित्तिन थालेका छन् तर चालु आर्थिक वर्षको ६ महिना बित्नै लाग्दा पनि सुहलियत दरको चामल ढुवानी हुन सकेको छैन । अघिल्ला वर्ष ठेक्का प्रक्रिया सकेर असोज पहिलो साताबाट ढुवानी सुरु भइसक्थ्यो । यो वर्ष ठेक्का प्रक्रिया नटुङ्गिदा अहिलेसम्म चामल ढुवानी भएको छैन ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाका अनुसार ढुवानीका लागि अझै ठेक्का स्वीकृत भएको छैन । ‘हामीले दुई पटकसम्म ठेक्का खुलाइसक्यौं’ कार्यालय प्रमुख नवीन बस्नेतले भने, ‘ठेक्का हाल्नेहरूको दररेट धेरै भएकाले स्वीकृत हुन सकेन ।’ कार्यालयले पहिलो पटक गत असार २२ गते ठेक्का आह्वान गरेको थियो । ठेक्का स्वीकृत गर्दा गत वर्षको ढुवानी दररेटमा १० प्रतिशत बढाउन नमिल्ने प्रावधान रहेको छ ।

    आवेदकले गत वर्षको भन्दा ३० प्रतिशत बढाएर दररेट हाल्दा पहिलो ठेक्का स्वीकृत हुन नसकेको बस्नेतले बताए । गत वर्ष सिर्दिवास डिपोका लागि प्रतिकेजी १६ रुपैयाँ ९५ पैसामा चामल ढुवानी गर्ने गरी प्रगति निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो ।

    कार्यालयले पुनः असोज २५ गते दोस्रोपटक ठेक्का आह्वान गर्‍यो । दररेटकै अल्झनले दोस्रो ठेक्का पनि स्वीकृत हुन सकेन । यही मंसिर २४ गतेसम्मको अन्तिम म्याद राखेर कार्यालयले तेस्रो पटक पुनः ठेक्का आह्वान गरेको छ ।

    कार्यालय प्रमुख बस्नेतका अनुसार मंगलबारसम्म कुनै आवेदन परेको छैन । ‘दोस्रो पटक ठेक्का आह्वान गर्दा गत वर्षको दररेटमा २० प्रतिशत बढाउन मिल्ने प्रावधान थियो, तर ठेक्का परेन, अहिले तेस्रो पटकमा ३० प्रतिशतसम्म बढाउन मिल्छ, सायद यो पटक ठेक्का लाग्छ होला,’ उनले भने ।

    समयमै चामल ढुवानी नहुँदा उत्तरी क्षेत्रमा खाद्यान्न अभाव भएको छ । डिपोहरू रित्तिन थालेपछि स्थानीयले सुहलियत दरको चामल किन्न पाएका छैनन् । ‘माछाखोला डिपोमा चामल नै छैन, सिर्दिवास डिपोमा ९६ क्विन्टल मात्र स्टक भएकाले बिक्री गरेका छैनौ,’ बस्नेतले भने ।

    अर्वुङ लगायतका विशेष परिस्थितिमा मात्र चामल उपलब्ध गराएको उनले बताए । तर त्यसका लागि वडाको सिफारिस अनिवार्य रहेको उनले जानकारी दिए ।

    यो वर्ष माछाखोला डिपोका लागि ५०० क्विन्टल र सिर्दिवास डिपोका लागि ३५ सय क्विन्टल कोटा स्वीकृत भएको छ । सिर्दिवास डिपोका लागि दुई हजार क्विन्टल गोरखाबाट र बाँकी १५ सय क्विन्टल विमलनगर तनहुँबाट ढुवानी हुने छ ।

    मनाङमा चामल ढुवानी गर्दै आएको विमलनगर तनहुँको डिपोले यो वर्षबाट गोरखामा पनि ढुवानी गर्न लागेको हो । तर, हालसम्म ठेक्का स्वीकृत नहुँदा चामल ढुवानी हुन सकेको छैन ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend