जाजरकोट, २४ मंसिर – जाजरकोट सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयका छात्रा पठनपाठनको समयमा बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ।
विद्यालयमा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्राहरु पठनपाठनकै समयमा केही दिनयता अकस्मात बेहोस हुने, चिच्याउने, रुनेलगायतका गतिविधि गर्न थालेपछि विद्यालय नै बन्द गर्नु परेको प्रधानाध्यापक भक्तबहादुर मल्लले जानकारी दिए।
छात्राहरु केही बेर बेहोस् हुने कराउने गरेपछि आफैँ ठीक हुने गरेका छन्। केही समयपछि फेरी अरु छात्रालाई यस्तो समस्या देखिएपछि बिहीबार मध्यान्तरपछि विद्यालयको पठनपाठन बन्द गरिएको हो।
केही दिनअघि विद्यालयको छात्रावासमा बस्ने १२ कक्षामा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी थिइन्। डा.समीक्षा मल्लले छात्रामा देखिएको समस्या मास हिस्टेरिया भएकाले केही दिन विद्यालय बन्द गरेर सम्पर्क विच्छेद गरे विस्तारै समस्या आफैँ समाधान हुने बताइन्।