८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि आरजु दिल्लीमा


जनमञ्च संवाददाता
  • १२ पौस २०७८ , सोमबार

  • प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि आरजु दिल्लीमा

    काठमाडौं, १२ पुस – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी चलिरहेका बेला पत्नी आरजु राणा आइतबार नयाँ दिल्ली पुगेकी छन्।

    राणा आइतबार बिहान ११ः४० को नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली उत्रिएकी हुन्।

    प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री देउवा पुस २५ गतेदेखि भारत भ्रमणमा जाने कार्यक्रम छ।

    प्रधानमन्त्री पत्नी आरजु देउवाको भ्रमणकै तयारीको क्रममा दिल्ली पुगेको चर्चा भएपनि बालुवाटार स्रोतले भने उनी भाइको स्वास्थ्य उपचारका लागि गएको दाबी गरेको छ।

    ‘आरजु भाइको उपचारको सिलसिलामा दिल्ली जानु भएको हो, भोली दिल्लीस्थित एक अस्पतालमा भाइको शल्यक्रिया हुँदैछ’, प्रधानमन्त्रीको सचिवालयका ती अधिकारीले भने, ‘प्रधानमन्त्रीको भ्रमण तयारी र आरजुको दिल्ली भ्रमणको सम्बन्ध छैन।’

    भारतीय राज्य गुजरातको गान्धीनगरमा आयोजना हुन लागको दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जाने कार्यक्रम बनेको छ।

    परराष्ट्र मन्त्रालयका एक अधिकारीले यही साता भ्रमण कार्यक्रमको टुंगो लाग्ने बताए।

    प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भ्रमणको तयारी गर्न निर्देशन दिइसकेका छन्। ओमिक्रोनको संक्रमण बढे भ्रमण रोकिन सक्ने सम्भावना रहेको परराष्ट्र अधिकारीले बताए। तर भ्रमणको गृहकार्य भने भइरहेको छ।

    गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर हो। गुजरात राज्य सरकारले आयोजना गर्ने उक्त ग्लोबल समिट मोदीले उद्घाटन गर्नेछन्।

    पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको उक्त समिटमा नेपाल, श्रीलंका लगायत विश्वका विभिन्न मुलुकलाई साझेदार मुलुकका रुपमा आमन्त्रण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    मोदी गुजरातको मुख्यमन्त्री हुँदा सन् २००३ मा उक्त समिटको अवधारणा अघि सारिएको थियो। हरेक दुई वर्षमा यो समिट हुँदै आएको छ। यसपाली समिटको नारा ‘आत्मनिर्भर गुजरातदेखि आत्मनिर्भर भारत’ दिइएको छ।

    समिटमा विश्वका आर्थिक क्षेत्रका प्रभावशाली व्यक्ति, लगानीकर्ता र राजनीतिक व्यक्तित्व गरी १३५ देशका ४० हजार पाहुना सहभागी हुनेछन्।

    देउवा प्रधानमन्त्री भएयता पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन्। पछिल्लोपटक प्रधानमन्त्री बनेयता देउवा पहिलो विदेश भ्रमणमा बेलायतको स्कटल्याण्ड गएका थिए।

    उनले त्यहाँ संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागिता जनाएका थिए। स्कटल्याण्ड भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन भेट गरेका थिए। भेटमा दुई प्रधानमन्त्रीबीच भ्रमण आदान प्रदान गर्ने सहमति भएको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend