बागलुङ, १७ पुस – दशरथ रंगशालामा संचालित राष्ट्रिय स्तरको ८ सय मिटर दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेका काठेखोला गाउँपालिका–७ रेशका खेलाडी बादल कार्कीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ ।
गाउँसभाको अवसर पारेर गाउँपालिकाका अध्यक्ष अमर थापाले कार्कीलाई ३० हजार नगद र सम्मान पत्रले सम्मान गरेका हुन् । पालिकाको गरिमा उचो बनाउन खेलकुदका माध्यमबाट महत्वपूर्ण योगदान गरेको भन्दै कार्कीलाई नगद, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको अध्यक्ष थापाले वताए ।
गाउँपालिकाको कला संकृति तथा खेलकुद विकास उपसमितिको संयोजनमा कार्कीलाई तीस हजार नगद सहित सम्मान गरिएको समितिका संयोजक टिका संगम बिकले बताए । ‘उहाँदे हाम्रो पालिका, जिल्ला र राष्ट्रको गौरवका लागि खेल्नुभएको हो’ उनले भने ‘हामिले जन्मभूमिमा सम्मान गर्नु दायीत्व सम्झेर सम्मान गरेका हौं ।’
कार्की रेशमा रहेको रेश नुन्थला माविका छात्र हुन् । ‘सानै उमेरदेखि दौडमा रुची राख्ने बादल सम्मानित हुँदा विद्यालयको गरिमा पनि बढेको महशुस भएको छ’ शिक्षक डिलबहादुर कार्कीले भने ‘यो सम्मानले उसलाई थप खेल्न प्रेरित गर्नेछ ।’