८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

प्रोफेसर सजलको अधुरो प्रेम कथा


जुनी भण्डारी
  • १७ पौस २०७८ , शनिबार

  • प्रोफेसर सजलको अधुरो प्रेम कथा

    अंग्रेजी ट्युसन पढाउने क्रममा प्रोफेसर डा. सजल एकछिन आफैं भावुक हुन पुग्छन्। एउटा बियोगान्त प्रेम कथाबारे व्याख्या गरिरहँदा उनी आफ्नो २७ वर्ष अगाडिको प्रेम सम्झेर एकछिन टोलाउँछन्।

    यसैबीचमा एक जना विद्यार्थी बोल्छ – सर तपाईंले कसैलाई प्रेम गर्नुभएको थियो ?’

    अर्कोले थप्छ – सर तपाईंको लभस्टोरीबारे सुनाउनुस् न आज।

    प्रोफेसर सजलले आफ्नो चश्मा मिलाउँदै ‘सुन्न चाहन्छौ मेरो लभस्टोरी ?’ भन्यो।

    ‘सुनाउनुस् न सर सुनाउनुस् न,’ सबै विद्यार्थी एकैपटक बोल्छन्।

    सलजले लामो सास फेर्‍यो अनि अगाडिपट्टीको कुर्सीमा बसेर सुनाउन थाल्यो आफ्नो अधुरो प्रेम कथा।

    ऊ फर्केर आउँछे भन्ने मलाई अलिकति आश थियो। मेरो हालत देखेर बहिनी र काकी साह्रै चिन्तित थिए। उनीहरूको चित्त नदुखोस् भनेर मात्र म खाना खाइदिन्थें, हाँस्ने कोसिस गर्थें। त्योबेला मेरो फूपाजूले मुम्बईबाट ल्याइदिनुभएको वाकमेन र कुमार सानुका गीतको रिलवाला क्यासेटले नै मलाई सम्हालिरहेका थिए।

    ‘सम्हाला है मैने बहुत अपने दिलको, जुवाँपर तेरा फिर भी नाम आरहा है’ बोलको गीत लाख पटक सुने होला रिलवाला क्यासेटमा। त्यो गीत मेरै लागि बनेको रहेछ जस्तो लाग्थ्यो। मलाई यो गीत सुन्ने अवास्थामा पुर्‍याउनको लागि त्यही दिन जिम्मेवार थियो, जुन दिन म पहिलोपटक पब्लिक बसमा आधा घण्टाको यात्रा गर्न पुगेको थिएँ।

    प्राइभेट गाडीमा मात्र यात्रा गर्ने म त्यो दिन बुवाको गाडी सर्भिसिङमा दिएकोले पब्लिक बसमा नै साथीलाई भेट्न जानुपरेको थियो। २०५१ सालको एसएलसीमा हाम्रो स्कुलबाट प्रथम श्रेणीमा पास हुने उमेश र म मात्र थियौं। पछि आइएस्सी पनि सँगै सकायौं। इञ्जिनियरिङ तयारीको लागि सँगै काठमाडौं जाने तयारीमा थियौं उमेश र म।

    उसको घर भैरहवा बजारबाट एक घण्टाको दुरीको ग्रामीण भेगमा थियो। म उसको घरमा गएर भेटेपछि मात्र मसँगै काठमाडौं पठाउने कुरा उमेशका बुवाले गर्नुभएको हुनाले म त्यहाँ जान लागेको थिएँ। बस हिँड्नै लागेको रहेछ म दौडेर चढेँ। सिट पूरै प्याक रहेछ। बसको माथि डण्डी समातेर उभिनुपर्‍यो। मान्छेको भिड, पसिनाको दुर्गन्ध, खाद्यान्नका बोराहरूले गर्दा टेक्ने ठाउँको पनि अभाव, ब्रेक लाग्दा हुरुरुरु गर्दै सबै अगाडि हुत्तिने, यात्रा अनौठो खालको नै लागिरहेको थियो।

    यतिकैमा म उभिएको भन्दा अघिल्तिरको सिटमा बस्ने एक अपरिचित अनुहारमा मेरो नजर गएर अचानक अडियो।

    म त्यही सिटतर्फ फर्केर उभिएको हुनाले नजर हटाउन पनि सम्भव थिएन। नजर यसरी अडियो कि आँखा झिमिक्क गराउने ग्रन्थी पनि एकछिन आफ्नो कार्य गर्नै बिर्सिएर बस्यो। झ्यालबाट आएको हावाले उसका केसहरू उडाइरहेको थियो। घरीघरी आफ्नो केसलाई औंलाले समेट्थी ऊ। कम्मरसम्मको लामो कपाल, अनुहार सादा र एकदमै सफा। न कुनै टिका न गाजल। सेतोमा निलो बुट्टा भएको कुर्ता सुरुवाल एकदमै सिम्पल, हेर्दै निर्दोष देखिने उसको अनुहार एकटकले हेरिरहेको थिएँ। उसलाई हेर्दाहेर्दै बाटो कटेको पत्तै भएन।

    विस्तारै भिडबाट आइरहेको पसिनाको दुर्गन्धलाई पनि धुलो र हावाले पराजित गरिदियो। यतिकैमा गाडी रोकियो, सिटबाट उठेर मेरो छेवैबाट ऊ गई, उसको गन्तव्य आएछ। त्यसको ठिक तीन मिनेट अगाडिजतिको दुरीमा बस स्टप आयो। म पनि बसबाट ओर्लिएँ।

    सानो बजार थियो। ८-१० वटा पसलहरू थिए। त्यसदिन त्यहाँ हाटबजार लाग्दोरहेछ। मानिसहरूको हल्का भिड पनि थियो। नजिकै तातोतातो जेरी र पकौडाको बास्ना आइरहेको थियो। त्यसैको अलिकति पर माछा बेचेको ठाउँबाट गन्ध पनि आइरहेको थियो। त्यो ठाउँ माछाको लागि प्रसिद्ध थियो।

    ‘आलु ७ रुपैयाँ किलो, आलु ७ रुपैयाँ,’ एक जना व्यापारी घाँटी सुकाइरहेको थियो।

    साँच्चै नै पहिलोपटक जाँदा नै त्यो ठाउँ कस्तो रमाइलो र प्रिय लागेको मलाई। त्यति नै बेला उमेश मलाई लिन त्यहाँ आइपुग्यो। उसको घरसम्म गाडी जाने बाटो थिएन। उसले रेन्जर साइकलमा बसालेर मलाई आफ्नो घरसम्म पुर्‍यायो।

    बेलुका काठमाडौं जाने बारेमा उमेशका बुवाआमासँग सरसल्लाह भयो। उमेशको घरमा माछाको पोखरी थियो। आफ्नै पोखरीको ताजा माछाको झोल र भात खाइयो। मैले उमेशसँग दिउसो बसमा भेटेकी केटीको बारेमा राति कुरा गरें। उसको सुन्दरताको प्रशंसा पनि गरें। उमेशले त्यस एरियामा दुई जना केटी मात्र एकदम राम्री भएको बतायो। जसमा एउटी नितु भन्ने रहिछ।

    ‘हेर तैंले बसमा देखेको नितु हो भने त्यसलाई सम्झेर फाइदा छैन,ऊ देख्नमा एकदमै सुन्दर छे तर त्यसको क्यारेक्टर राम्रो छैन, ९ क्लासमा पढ्दा नै त्यसको २ वटा ब्वाईफ्रेण्ड थिए, अहिले तिनिहरूलाई छोडिसकी रे। फेरि अर्कोसँग चक्कर छ रे, अस्ति बाइकमा छोड्न आको थियो कलेजबाट आउँदा भन्ने गाउँभरि हल्ला छ। अर्की राम्री भनेको उषा हो, त्यसलाई पनि सम्झेर फाइदा छैन,’ उमेशले भन्यो।

    ‘किन? उसको पनि ब्वाईफ्रेण्ड छ?’

    उमेश हाँस्दै बोल्छ, ‘ब्वाईफ्रेण्डको बी पनि हुन सक्दैन उसको। उसको परिवार एकदमै कडा छ, पढाइबाहेक अन्त सोच्न, साथीभाइसँग घुम्न त के, कोही केटासँग बोल्न पनि उसलाई आफ्नो दाजुको अनुमति चाहिन्छ। दाजु आर्मी, बाउ रिटायर्ड आर्मी,ऊ घरकी एक्ली छोरी। अब तँ आफै सोंच न!’

    उमेशले एकैछिन त सोच्न बाध्य बनायो।

    त्यो रात म निदाउन सकिनँ।  त्यही अनुहार मात्र आँखा वरिपरि आइरह्यो। मलाई त्यो केटी पक्कै उषा नै हो भन्ने लाग्यो किनकि ऊ केही डराएजस्तै, केही उदासजस्ती देखिन्थी। बसमा पनि कसैसँग नबोली यताउता पनि नहेरी बसेकी थिई। अब मलाइ पत्ता लगाउनु थियो त्यो उषा हो या नितु भनेर।

    अर्को दिन बस बिहान ८ बजे मात्र त्यहाँबाट भैरहवा जान्थ्यो। बिहान उमेशको घरपरिवारसँग बिदा भई म घर फर्किन लागें। उमेशले बस स्टपसम्म फेरि रेन्जर साइकलमा छोडिदियो। एक हप्तापछि सँगै काठमाडौं जाने योजना अनुरुप हामी छुट्टियौं।

    म बसमा चढें। यसपटक भने मलाई बसको डण्डी समातेर उभिनुपरेन। मैले खाली सिट पाएँ। तर बस त मान्छेले भन्दा त्यहाँका तरकारीका बोराले खचाखच थियो। एकैछिनमा बस भरियो, मान्छेहरू कोही तिनै बोरामा बसे, कोही उभिए। हिजोजस्तो पसिनाको गन्ध थिएन। आज त बसमा पनि कस्तो कडा खालको तेलको बास्ना आइरहेको थियो।

    ठाउँ-ठाउँमा रोक्दै यात्रु चढाउँदै थियो बसले। यसै क्रममा बसले म माथि ठूलो गुन लगायो। हिजो झरेकै ठाउँबाट फेरि उसलाई चढायो। मेरो मुटुको धड्कन खुसीले हो या किन हो बाहिरैसम्म आवाज आएजस्तो गरी धड्किन थाल्यो। खुसीको सीमा रहेन। ऊ सिट नदेखेर अलमल गर्दै नजर यताउता डुलाउँदै थिई। मेरो मुखबाट फ्याट्ट आवाज आइहाल्यो- उषा!

    उसले पुलुक्क म तर्फ हेरी अनि फेरि उता फर्किई। म ढुक्क भएँ उषा नै थिई ऊ भनेर। मैले फेरि बोलाएँ- उषा! यहाँ बस।

    म उभिएर उसलाई सिट छोडिदिएँ।

    ‘होइन बस्नु तपाईं,’ उसले बस्न अस्वीकार गरी।

    त्यसैबेला मेरो छेऊमा बस्ने दाजु उठ्दै भने, ‘बस नानी, म त्यहीँसम्म हो, ओर्लिने बेला आइसक्यो।’

    त्यसपछि ऊ मेरो छेऊको सिटमा बसी।

    ‘तिमी उषा नै हौ नि?,’ मैले सोधें।

    ‘हो,’ हावाले उडाउन खोजेको कपाललाई समेट्दै उसले जवाफ दिई। त्यसपछि म मनैदेखि मुस्कुराएँ।

    ‘तर, मैले चिनेको छैन तपाईंलाई, पहिला कतै भेटेको नि छैन, कसरी चिन्नुभो मलाई?,’ उसले आश्चर्य मान्दै सोध्छे।

    म पनि के कम र मौकामा चौका भनेझैं फ्याट्ट जवाफ दिइहालें, ‘राम्रो मान्छेलाई सबैले चिन्छन्।’

    उसले कुनै प्रतिक्रिया दिइनँ। मैले उसको बारेमा सोधें। सबै कुरा सहज तरिकाले बताई उसले। भर्खरै एसएलसी पास गरेर आइए पढ्नको लागि ऊ दिनँहु बसमा आउने जाने गर्दिरहिछ। अरू साथीहरू क्याम्पसनजिकै कोठा लिएर बस्दा रहेछन् तर उसलाई घरबाट बाहिर बस्न अनुमति नभएकोले सधैं आउने जाने गर्नुपरेको रहेछ।

    ‘दिक्क लाग्छ यो खटारोमा कोचिएर जाने-आउने, कहिले त पढाइ नै छाडिदिउँजस्तो लाग्छ। फर्किने बेलामा त एउटा क्लास छोडेर आउनुपर्छ नत्र सिट नै पाइँदैन,’ उसले वर्षौंदेखि चिनेको मान्छेसँग जस्तै गुनासो गरी मसँग।

    उमेशले उसको बारेमा बयान गरे जति नबोल्ने पनि होइन रहिछे ऊ। देख्दा नबोल्नेजस्तै देखिए पनि नजिक भएपछि मजाले बोल्ने र मनको कुराहरू पनि सजिलै व्यक्त गर्ने खालकी लाग्यो मलाई। एक घण्टाको बाटो कति छिटो आयो पत्तै भएन। गन्तव्य आयो, हामी छुट्टियौं। घर पुगेपछि मलाई निकै छटपटी भयो। कस्तो खालको छटपटी थियो त्यो, पहिले कहिल्यै पनि भएको थिएन।

    त्यही अनुहार, त्यही सुमधुर आवाज, हावाले उडाइरहेको त्यो केस, उसको मिठो मुस्कानले पलपल सताइरह्यो। म मायामा परें। सोंचेको पनि थिइनँ यतिछिट्टै कोही कसैको मायामा पर्छ भनेर। एक घण्टा पनि उसलाई नहेरी बस्न सकिनँ।

    एक महिनादेखि टायर पन्चर भएर थन्किएको बाइक निकालें र बनाउन दिएँ। बाइक बनेपछि सिधै उषाको कलेज पुगेँ। उसको क्लास चलिरहेको थियो। म ‘मेजर इङ्लिस’ क्लासमा पसें। उसले मलाई देखेर अचम्म परेजस्तो गरेर निधार खुम्च्याउदै हेरी। क्लास सकिएपछि उसको साथीहरूसँग पनि परिचय गराई। म भन्दा तीन वर्ष जुनियरहरू एकैछिनमा मेरो साथी बन्न पुगे। म पनि त्यही ग्रुपमा सामेल भएँ।

    कलेजबाट बस लाग्ने ठाउँसम्म पुग्न १० मिनेट जति हिँड्नुपर्थ्यो। म बाइकमा उसलाई त्यहाँसम्म पुर्‍याइदिन्थेँ। अर्को दिन ऊ आउने समय भएपछि बसबाट ओर्लिने ठाउँसम्म म उसलाई लिन पुग्थें। कलेजसम्म छोडेर फेरि घर जान मन लाग्दैनथ्यो। उसको मायामा यतिसम्म डुबिसकेको थिए कि इञ्जिनियरिङ तयारीको लागि काठमाडौं जान तयार भएको मान्छे अब आइएको क्लासमा भर्ना भएँ।

    यो थाहा पाएर बुवाले अचम्म मान्दै मलाई फोन गर्नुभो। मलाई एकाएक अंग्रेजी साहित्य पढ्ने चाहना भएकोले यो सब गरेको बहाना बनाएँ। यसैगरी एक महिना बित्न लाग्यो। हामी एउटै बेन्चमा बस्थ्यौं, सरले नोट लेखाउने बेलामा मैले उसको कापीमा र उसले मेरो कापीमा नोट लेख्थ्यौं। मेजर इङ्लिसको क्लासमा रमाइला कविताहरू, कथाहरू सरले पढाउँदा ती कथाका पात्रहरूमा म उसलाई र मलाई कल्पना गर्थें। ती कविता उसकै लागि लेखिदिएको जस्तो लाग्थ्यो।

    मलाई सबैभन्दा मनपर्ने कविता थियो- Mosaic भन्ने पुस्तकको अन्तिम च्याप्टरमा रहेको Robert Burn ‘द्वारा लिखित ‘oh my love is like a red red rose’ शीर्षकको कविता। कविले आफ्नी प्रेमिकालाई जस्तै मैले पनि उषालाई एउटा मिठो धुनको उपमा दिन्थें, जुन महिनामा फुलेको ताजा गुलाबसँग तुलना गर्थें। अनि सोच्थें -समुद्रको पानी सुकेर सुख्खा नहुञ्जेल, चट्टानहरू नपग्लिञ्जेल म उसलाई माया गरिरहनेछु।

    एकदिन उषाको गाउँ जाने गाडी बिग्रेकोले बनाउन केही समय लाग्ने भयो। हामी गाडी नबन्दासम्म नजिकैको एउटा पसलमा बस्यौं। धेरैबेर एकअर्कालाई हेरेर गफ गर्ने मौका पायौं। त्यही मौकामा उसले मेरो परिवारको बारेमा सोध्छे।

    ‘बुवा व्यापारको सिलसिलामा प्रायः काठमाडौं नै बस्नुहुन्छ। कहिले महिनौंसम्म भारत जानुपर्छ त कहिले मलेसिया पुग्नुहुन्छ। घरमा मेरो काका-काकी, बहिनी, भाइ र म छौं। बुवाले आमाको मृत्युपछि अर्को बिहे गर्नुभएन। उहाँ व्यापारमै व्यस्त रहन थाल्नुभयो। काकीले कहिले पनि आमाको अभाव महसुस हुन दिनुभएन। बुवाले मेरो चाहनाको कुरामा कहिले पनि रोकटोक गर्नुहुन्न। मलाई समय दिन नसके पनि कुनै कुराको अभाव हुन दिनुहुन्न। बुवा मधेसी समुदायको र आमा पहाडी समुदायको नेवारको छोरी हुनुहुन्थ्यो रे। भागेर बिहे गर्नुभएको। म ५ वर्षको हुँदा आमाले आत्महत्या गर्नुभएको भन्ने मलाई अलिअलि सम्झना मात्र छ। तर मैले सुन्नेगरी घरमा कसैले पुरानो कुरा गर्दैनन् र म पनि खोतल्न चाहन्न।’

    मैले यति भनिरहदा उसले आँखा नझिम्काई मलाइ हेरिरहेकी थिई। त्यसदिन उषा मेरै आफ्नै हो जस्तै लागेको थियो। माया झन् बढेर आएको थियो। गाडी बन्न धेरैबेर लाग्ने भएपछि म उसलाई घरसम्म बाइकमै छोडिदिने कुरा गरेँ तर उसले आनाकानी गरी।

    ‘यो कुरा घरमा कसैले थाहा पायो भने म भूमिगत हुनुपर्छ,’ उसले भनी।

    ‘तिमी कस्तो डराएकी, तिमीलाई कुनै अफ्ठेरो पर्नेछैन म छु तिम्रो साथमा’ भनेर मैले विश्वास दिलाएपछि ऊ मसँग बाइकमा जान तयार भई। उसको घर आइपुग्नुभन्दा अलि अगाडि मात्र पुर्‍याइदिँए। त्यसपछि ऊ हिँडेर गई। जानुभन्दा अगाडि मैले उसलाई मन पराएको कुरा बताएँ। मलाई एकदमै हिम्मत जुटेको थियो। त्यसदिन उसको झन् धेरै माया लागेर आएको थियो। मेरो कुरा सुनेपछि ऊ मौन भएकी थिई। यसको जवाफ सोचेर दिनू भनेको थिएँ।

    भोलिको दिनको प्रतिक्षामा त्यो दिन कट्यो। अर्को दिन उषा कलेज आइनँ। म पर्खंदा पर्खंदा थकित भएँ। पर्खिने क्रम तीन दिनसम्म जारी रह्यो। चौथो दिन पनि ऊ आइन भने म उसको गाउँ नै जान्छु भन्ने सोचेको थिएँ। म बस आउने ठाउँमा गएर पर्खिरहेको थिएँ। ऊ बसबाट ओर्लिई। मलाई नदेखेको जस्तो गरी ऊ तर्किन खोजी। मैले उसलाई बोलाएँ, तर नबोली एउटा रिक्सा चढी।

    म बाइक त्यहीँ रोकेर रिक्सातर्फ दौडिएँ। रिक्सा रोक्न लगाएँ। ‘के भो, किन यस्तो गरेको तिमी, अनि यतिका दिन किन कलेज नआएको?,’ मैले प्रश्न गरेँ।

    ‘मलाई तिमी मन पर्न थालेको छ तर यो राम्रो होइन, जति हाम्रो प्रेम गाढा हुँदै जान्छ नि त्यति हामीलाई पीडा हुनेछ, एकअर्कालाई भुल्न गाह्रो पर्नेछ, त्यसैले अब हामी टाढिनुपर्छ। तिमी मलाई नभेट अब, मसँग नजिक नआऊ प्लीज। हामी जतिसक्दो छिटो छुट्टिएकै राम्रो,’ उसले भनी।

    उसको कुरा सुनेर मेरो सारा खुसीहरूमा कालो बादल लागेको महसुस भयो। यतिकैमा कलेज आइपुग्यो। उसले रिक्सा रोक्न भनी तर म उसको हात बेस्सरी समाएर उसलाई रिक्साबाट झर्न दिइनँ। रिक्सालाई अझै परसम्म हिँड जहाँसम्म हाम्रो कुरा सकिँदैन भनेँ। रिक्सा अगाडि बढ्यो।

    ‘म अब कुनै हालतमा तिमीबाट टाढा हुन सक्दिन बुझ्यौ? जस्तो युद्ध लड्नुपरे पनि लड्छु, भन मैले के गर्नुपर्छ? तिमी बस् मलाई प्रेम गर्छु, मलाई साथ दिन्छु मात्र भन, म तिमीलाई कुनै अफ्ठ्यारो पर्न नदिई आफ्नो बनाउँछु बुझ्यौ?,’ मैले सम्झाउने कोसिस गरेँ।

    उसको आँखाबाट आँशु बगिरहन्छ। आँशु थाम्ने कोसिस गर्दै ऊ बोली, ‘मैले पनि कसैलाई जीवनमा पहिलोपटक मन पराएकी थिएँ, त्यो पनि पहिलो पटक भेट्दा नै। तर तिमी मधेसी समुदायको म पहाडी क्षेत्री। एक त मेरो परिवारले यो सम्बन्ध स्वीकार गर्नेछैन र अर्को कुरा हामी संघर्ष गरेर बिहे गरिहाल्यौं भने पनि भोलि तिम्रो आमाको जस्तै अवस्थाको सिकार हुनुपर्छ म पनि। त्यो अवस्था दोहोरिने पक्का छ।’

    ‘कस्तो अवस्था? के भन्न खोज्दैछौ तिमी?,’ मैले सोधेँ।

    उसको जवाफ सुनेर सास फेर्न गाह्रो भएजस्तो महसुस भएको थियो।

    ‘तिम्रो आमाको आत्महत्या होइन, तिम्रो आमालाई हत्या गरिएको थियो। तिम्रो बुवा अनि तिम्रो हजुरआमा मिलेर। मैले सबै थाहा पाइसकें तिम्रो फेमिली व्याग्राउण्डबारे, म त्यस्तो हत्यारा परिवारको सदस्य कसरी बन्न सक्छु भन त। त्यसैले म हात जोड्छु यदि मलाई माया गर्छौ भने मबाट टाढा जाऊ नत्र म नै यो कलेज छोडेर जान्छु,’ ऊ निकै कठोर भएर बोल्छे।

    त्यसपछि म केही बोल्न सकिनँ। आँशुले आँखा भरिएर वरिपरि सबै धमिलो देखेँ।

    ‘रिक्सा! उसलाई कलेजसम्म छोडिदेऊ,’ भनेर म त्यहीँ झरेँ।

    ‘म पर्खिरहनेछु तिमीलाई, चाहे १० हजार माइलको दुरीबाट किन नहोस् म तिम्रो नै प्रतिक्षा गरिरहनेछु,’ भन्दै मैले उसलाई पठाएँ।

    यो एक महिनामा जिन्दगीमा नभएको खुसी उसलाई भेट्दा भएको थिएँ र जिन्दगीमा नभएको दु:खी पनि उसलाई भेटेकोले नै भएको थिएँ। मेरो बुवालाई लगाएको दोष मैले सुन्दा निकै पीडा भयो। मेरो परिवारको विगतबारे सुन्न र जान्न नचाहने म आज त्यही विगतको कारण आफूले मनैदेखि चाहेको मान्छेसँग टाढा हुनुपरेको थियो। गल्ती उसको थियो या मेरो, या त हाम्रो भाग्यको? हामी एकअर्काको लागि बनेका थिएनौं सायद।

    सजल बोल्दा बोल्दै एकछिन भावुक भयो विगत सम्झेर। यतिकैमा बाहिर कसैले गेट बजायो। ऊ बाहिर निस्कियो।

    ‘दाइ म दुबै मिर्गौला पीडित, उपचारको लागि सानो सहयोग उठाउँदै हिँडेको,’ एक जना २४-२५ वर्षको जस्तो देखिने ठिटो उसको अगाडि उभिएर हात फैलाइरह्यो। उसले ५ सय रुपैयाँ गोजीबाट निकालेर दियो।

    केही दिन अगाडि यही गेटमा एक जना व्यक्ति आफ्नी श्रीमतीलाई ह्वीलचियरमा डुलाउँदै खुट्टाको अप्रेसनको लागि भन्दै पैसा उठाइरहेको सम्झना आउँछ उसलाई। एकछिन यी सबैको बारेमा सोच्यो।

    आफू यो संसारमा भाग्यमानी भएको ठान्यो।

    म हट्टाकट्टा छु, काम गरेर खान सक्छु, धन सम्पत्ति छ, यस्ता २०-३० जना पीडितहरूलाई सहयोग गर्न सक्ने हैसियत पनि त छ म मा। छैन त मैले गरेको प्रेम छैन।

    मैले गरेको प्रेमको ह्याप्पी इण्डिङ हुन सकेन चलचित्रमा जस्तो। त के भो, मैले गुमाएको के नै पो हो र? जो मेरो थिइनँ त्यो नै त हो। मेरो मुटु छ, मिर्गौला छ, हातखुट्टा सबै छ। जति पनि कुरा म जन्मिँदा लिएर आएको थिएँ त्योभन्दा अझ बढी छ। मैले सिकेको सिप छ, ज्ञान छ। म मर्नेबेलासम्म यो सबै रहिरहोस् त्यही नै मेरो कथाको ह्याप्पी इण्डिङ हुनेछ।

    प्रेमको सुखद् अन्त्य भनेको प्रेम गरेको व्यक्तिसँग बिहे गर्नु मात्र हो र? बिहे गरेपछि पनि त कतिपय प्रेम सम्बन्धविच्छेद भएका छन् नि! मैले नि:स्वार्थ प्रेम गरेको थिएँ, त्यसैले त उसको आग्रहलाई मानेर म टाढा भएँ। प्रेम त सधैं गरिरहनेछु, उसँग बिताएका केही पलहरू भए पनि छन् मसँग, जुन पलहरूलाई सम्झेर आनन्द महसुस गर्छु।

    उषाले छोडेर गएपछि एक महिना जति गाह्रो भयो। म कोठाबाट बाहिर निस्किन सकिनँ। एक वर्षको पढाइ बिग्रियो। ड्रग्स सेवनको लत लाग्यो। बुवालाई मुटुको रोगी बनाएँ मेरो कारणले। परिवारलाई चिन्तामा पारें एकछिन। चार महिना भारतको एक रिहाब सेन्टरमा बसेपछि म सामान्य अवस्थामा फर्किएँ।

    बुवाको मलाई इञ्जिनियर बनाउने सपना त पूरा गर्न सकिनँ तर अंग्रेजी साहित्यमा पिएचडी गर्न सफल भएँ।

    आधा-आधी उमेर बाँकी छ। अब तर अझै पनि धेरै कुरा सिक्न र जान्न बाँकी नै छ। बाँकी जिन्दगी स्वस्थ  भएर बाँच्न सकुँ। यही नै मेरो कथाको सुखद अन्त्य हुनेछ।

    तालिको गडगडाहटले कक्षामा छाएको मौनता हराउँछ। विद्यार्थीहरू आँशुले टिलपिल टिलपिल भरिएका आँखा पुछ्न थाल्छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend