बागलुङ, २१ पुस -एक साताअघि वर्षासँगै हिमपात हुँदा बिहुँका किसानलाई चिन्ता थियो, ‘बोटमै रहेका सुन्तला स्याहार्न पाइएला कि हिउँले मास्ने होला ?’
रातभर वर्षा हुँदा आसपासमा देखिने डाँडाकाँडा ढाकिए । बिहुँमा पनि हिमपात हुन्छ भनेर किसानले सुन्तलाको माया मारिसकेका थिए । फसल लिने बेलाको सुन्तलामा हिउँ परे कामै लाग्दैन । झरेको भए व्यापारीले लाने थिएनन् । संयोग सुन्तला बगानको केही माथिसम्म भएको हिमपातले बगान प्रवेश गरेन । किसान उत्साहित छन् ।
रोग, वर्षा र हिमपातबाट जोगाएको सुन्तला टिप्न यतिबेला काठेखोला गाउँपालिका ६, बिहुँका किसानलाई भ्याइनभ्याई छ । किसानहरुकै सक्रियतामा खुलेको बिहुँकोट साना किसान कृषि सहकारी संस्थाले बगानमा रहेको एक तिहाई सुन्तला गर्मी यामको लागि भण्डारण गर्दैछ । बिहुँकोटमा रहेको शीतभण्डारमा भण्डार गर्ने सुन्तला किसानले पहिलो चरणमा टिप्दैछन् । ३० टन क्षमताको शीतभण्डार भरिएपछि व्यापारीले सुन्तला खरिद गर्न पाउने किसान बालानन्द कँडेलले बताए ।
‘किसानहरुको सक्रियतामा चलेको सहकारी पहिलो प्राथमिकतामा छ, त्यसपछि हामी व्यापारीलाई सुन्तला बगान दिन्छौं,’ कँडेलले भने ‘अब फुल्ने बेला हुनै लाग्यो सबै सुन्तलाका बोट खाली गर्नुपर्छ ।’ बिहुँबाट बर्सेनि करोडौंको सुन्तला निर्यात हुन्छ । यहाँका किसानले करिब ३० हेक्टर जमिनमा सुन्तला लगाएको वडाध्यक्ष युक्तप्रसाद कँडेलले बताए ।
यो वर्ष पनि एक मेट्रिक टन सुन्तला फलेको किसानको अनुमान छ । सहकारीले प्रतिकिलो ५० रुपैयाँका दरले किसानको सुन्तला खरिद गरेको छ । एक मेट्रिक टन सुन्तला बजार पुग्दा पाँच करोड रुपैयाँ बिहुँ भित्रिने किसानको आशा छ । ‘प्रदेश सरकारको सहयोगमा शीतभण्डार निर्माण भएपछि फलेको सुन्तलामध्ये केही अशंले राम्रो मूल्य पाउँछ,’ कँडेल भन्छन् ‘उत्पादक किसानकै सहकारी भएकाले गर्मी याममा पर्ने मूल्यमा खर्च कटाउँदा आउने मुनाफा पनि किसानले नै दामासाहीले पाउँछन् ।’
सहकारीलाई केही सस्तो मूल्यमा बिक्री गरेका किसानले व्यापारीलाई भने केही मूल्य बढाएर बिक्री गर्ने योजना बनाएका छन् । काठमाडौं, धादिङ, पोखरा र भैरहवाबाट आएका व्यापारीले बिहुँमै बसेर सुन्तला कुरेको किसान बलानन्द कँडेल बताउँछन् । बिहुँको सुन्तला अन्य ठाउँको भन्दा रसिलो हुने भएकाले व्यवसायीले यहाँको सुन्तलामा बढी चासो दिने गरेको अनुभव किसानहरुको छ ।
यहाँका किसानले खेतबारीमा रहेका रुखहरु फँडानी गरेर सुन्तलाको बगान थप व्यवस्थित बनाएका छन् । बगानमै पुग्ने डोके व्यापारीले यहाँको सुन्तला मंसिरदेखिनै सडक छेउमा राखेर बिक्री गर्दै आएका छन् । परम्परागत खेती छोडेर व्यावसायिक सुन्तला खेतीमा लागेका किसानले पुराना बिरुवाको कलमी र नयाँ विरुवा रोप्ने कामलाई समेत निरन्तरता दिएको वडाअध्यक्ष कँडेलले बताए ।
काठेखोला गाउँपालिकाले बिहुँलाई सुन्तला उत्पादनको पकेट क्षेत्र घोषणा गरेर किसानलाई सहयोग गर्दै आएको छ । ‘हामीले एक वडा एक उत्पादनअन्र्तगत बिहुँमा सुन्तला उत्पादनलाई प्रोत्साहन गरेका छौं, बिहुँको सुन्तला पनि हाम्रो गाउँपालिमा आम्दानीका स्रोत मध्येको एक हो,’ गाउँपालिका अध्यक्ष अमर थापाले भने, ‘किसानलाई बिरुवा, मल, प्रबिधि र किटनाशक औषधिमा गाउँपालिकाले सहयोग गर्ने गरेको छ ।’