१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

विद्यालयमा कृषिको प्रयोगात्मक अभ्यास


जनमञ्च संवाददाता
  • २९ पौस २०७८ , बिहिबार

  • विद्यालयमा कृषिको प्रयोगात्मक अभ्यास

    ‘कम्प्युटर त हामीले कक्षा ५ देखिनै पढाएका छौं, त्यसैले उच्च शिक्षामा सहयोगी हुने कृषि राखेका हौं,’ भण्डारीले भने, ‘यो विषयले अभिभावक पनि खुसी छन् ।’

    बागलुङ, २९ पुस – प्राविधिक विषय पढेकाहरुले प्रयोगात्मक अभ्यास गर्दा सहरी क्षेत्र रोज्ने प्रवृत्ति धेरै छ । तर, बागलुङको बडिगाड गाउँपालिका २, खरबाङस्थित त्रिभुवन माविका विद्यार्थीले विद्यालयमै खेतीपाती गरेर प्रयोगात्मक अभ्यास गरेका छन् ।

    उनीहरुले कक्षा १२ को परीक्षापछि विद्यालयमै कृषि कर्म गरेका हुन् । कक्षा १२ को पढाइ सकेपछि पूजा बलालले दैनिक विद्यालय गएर कृषि कर्मअन्र्तगत च्याउ र गोलभेडा खेती थालेको बताइन् ।

    उनकै साथी प्रकाश खराल र पुस्कर कँडेल पनि नियमित विद्यालयमा पुगिरहेका छन् । त्रिभुवन माविबाट उनीहरुले कृषि विषयमा कक्षा १२ पूरा गरे । पूजा बडिगाड ५ कि हुन् । प्रकाश गुल्मीको मुसिकोट र पुस्कर ढोरपाटन नगरपालिका २ का हुन् । सबैले डेरा लिएर बस्छन् । तरपनि प्रयोगात्मक अभ्यासका लागि विद्यालय छाडेका छैनन् ।

    पढाइ सकेपछि तीन महिना प्रयोगात्मक अभ्यासमा जाने चलन छ । उनीहरुले आफ्नै विद्यालय रोजेर काम गरेको बताए । विद्यालयको जमिनमा उनीहरुले प्लास्टिकको टनेल बनाएर खेती गरेका छन् । त्यसैले उनीहरुले नै स्याहार गरेर नमुना उत्पादन देखाउने लक्ष्य बनाएको बताए । त्रिभुवन माविले चार वर्ष अघिदेखि कृषि विषय पढाउन थालिएको थियो । अहिले पनि यहाँ कक्षा ९ देखि १२ सम्म झन्डै डेढसय विद्यार्थी अध्ययनरत छन् ।

    प्राविधिक विषयको नाममा कम्प्युटर लगायतका अन्य शिक्षा धेरैले राखेकोले ग्रामीण विद्यार्थी लक्षित गरेर कृषि विषय राखेको प्रधानाध्यापक ढालमणी भण्डारीले बताए । ‘कम्प्युटर त हामीले कक्षा ५ देखि नै पढाएका छौं, त्यसैले उच्च शिक्षामा सहयोगी हुने कृषि राखेका हौं,’ भण्डारीले भने, ‘यो विषयले अभिभावक पनि खुसी भएका छन् ।’

    कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीले जेटिए वा कृषि प्राविधिकमा सरकारी जागिरसमेत खान सक्छन् । ‘लोकसेवा परीक्षा उत्तीर्ण गरेर गाउँघरमै जागिर खाने र सेवा गर्ने चाहना छ, त्यसैले कृषि पढेकी हुँ,’ बलालले भनिन्, ‘यस्तो मौका अरु साथीहरुले पाएका छैनन् ।’ बागलुङमा रहेका तीनवटा प्राविधिक धारका विद्यालयमध्ये त्रिभुवन माविले कृषि विषय पढाएको हो ।

    विद्यालयले ३ रोपनी जमिनमा कृषिका लागि छुट्याएको छ । अपुग भएको काम गर्न थप ४ रोपनी भाडामा लिएको छ । उक्त जग्गामा लहरेबाली, कोषेबाली, च्याउखेती, प्लाष्टिक टनेलमा ताजा तरकारी लगाउने काम गरिएको छ । यसरी उत्पादन भएको तरकारी विद्यालयमा खानेदेखि बिक्री गरेर कमाइ गर्न समेत पुगेको शिक्षक कमल पौडेलले बताए ।

    विद्यालयमा २० जना निजी स्रोतका शिक्षक छन् । तर नमूना विद्यालय भएकोले ६ जना कृषि प्राविधिक शिक्षक नै दरबन्दीका पाएको पौडेलले बताए । दुई जना कृषि तर्फका शिक्षक त विद्यालयले निजी स्रोतमै राखेको छ ।

    विद्यार्थीले गरेको कामबाट स्थानीय पनि प्रभावित भएका छन् । अभिभावकले पनि विद्यालयको व्यवस्थापनबाट सन्तुष्टी मिलेको बताए । ‘राम्रो र पछि जागिर पाउने पढाइ रहेछ, त्यसैले मैले टाढा भएपनि छोरी पढाउन पठाएँ,’ पूजा बलालका बाबु ज्ञानेन्द्र बलालले भने, ‘शुल्क पनि महंगो छैन, सहर पठाएर पढाएको भए लाखौं खर्च हुन्थ्यो ।’ बलालले ग्वालीचौर बजारमा होटल व्यवसाय गरेर छोरी पढाएको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend