१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026
चालक फरार

बन्दीपुर जिप दुर्घटनाः क्षमताभन्दा ४ गुणा बढी यात्रु, शोकमा गाउँ


जनमञ्च संवाददाता
  • २ माघ २०७८ , आइतबार

  • बन्दीपुर जिप दुर्घटनाः क्षमताभन्दा ४ गुणा बढी यात्रु, शोकमा गाउँ

    ‘कालोपत्रे सडक हो । दुर्घटना भइहाल्छ जस्तो देखिदैन् । चालक आत्तिएर संयमित हुन सकेनन्जस्तो छ । दुर्घटनास्थलको प्रकृति हेर्दा जिप ब्याक भएर खसेको देखिन्छ ।’

    तनहुँ, २ माघ – तनहुँको बन्दीपुर गाउँपालिका-६ धरमपानी बाक्सेमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आँबुखैरेनीको घुमाउनेघाटबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बरको बोलेरो जिप शुक्रबार राति साढे ८ बजे दुर्घटनामा परेको हो ।

    चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमै मृत्यु हुनेमा बन्दीपुर ६ धरमपानीकी ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने र ४८ वर्षीया शुशिलादेवी न्यौपाने छन् । ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङलाई दुर्घटनास्थलबाट उद्धार गरेर बन्दीपुर अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक न्यौपानद्वय श्रीमान श्रीमति हुन् भने रोशन र विममाया आमा छोरा रहेको खुलेको छ ।

    दुर्घटनामा आठ जना घाइते भएका थिए । घाइते हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ बाक्सेकी २१ वर्षीया जमुना थापा, सोही वडाको हुस्लाङकोटकी ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

    खड्का अनुसार बन्दीपुर ६, बाक्सेकी साते महिने बालिका विविसा थापा, १६ वर्षीया सनिसा थापा १८ बर्षीय कुमार थापा, २० बर्षीय दानबहादुर थापा र २१ बर्षीय विपिन थापा घाइते भएका छन् । उनीहरुलाई शुक्रबार राति नै बन्दीपुर अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर शिक्षण अस्पताल चितवन पठाइएको थियो ।

    उपचारपछि जमुना र कुमार डिस्चार्ज भएका छन् । अन्य ६ जनाको अवस्था सामान्य रहेको खड्काले बताए । तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार जिपमा चालकसहित १७ जना सवार थिए । चालकसहित तीन जना सकुसल छन् ।
    क्षमताभन्दा ४ गुणा बढी यात्रु, चालक फरार

    बोलेरो जिपको यात्रु क्षमता पाँच जना हो । क्षमताभन्दा झन्डै चार गुणा बढी यात्रु बोक्दा दुर्घटना भएको अनुमान गरिएको छ । रेग्मीका अनुसार दुर्घटना भएको ठाउँ हेर्दा दुर्घटना होला जस्तो देखिँदैन ।

    ‘कालोपत्रे सडक हो । दुर्घटना भइहाल्छ जस्तो देखिदैन् । चालक आत्तिएर संयमित हुन सकेनन् जस्तो छ,’ रेग्मीले भने, ‘दुर्घटनास्थलको प्रकृति हेर्दा जिप ब्याक भएर खसेको देखिन्छ ।’ जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

    सवारी धनी समेत रहेका चालक ४८ वर्षीय आनन्द गुरुङ फरार छन् । सवारी धनी फरार रहेकाले मृतकका आफन्तले शव बुझ्न नमानेको वडाध्यक्ष सन्तबहादुर गुरुङले बताए । मृतकको शव दमौली अस्पतालमा राखिएको छ । ‘सवारी धनी फरार भएकाले मृतकको पोस्टमार्टम हुन सकेको छैैन,’ उनले भने ।

    माघे संक्रान्तिको अघिल्लो दिन दुर्घटना भएर ६ जनाको ज्यान गएपछि बन्दीपुर गाउँपालिका शोकमा डुबेको छ । शनिबार शोक विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष पुर्णसिंह थापाले दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई उचित उपचारको व्यवस्था मिलाउन पहल गरिरहेको बताएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend