९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बतास नाचेको त्यो साँझ र यो समय


सन्जय घिमिरे
  • २ माघ २०७८ , आइतबार

  • बतास नाचेको त्यो साँझ र यो समय
    आनन्द बतास

    १९ अक्टोबर २०१९। लुक्ला।

    साँझको समय। होटलमा ठूलाठालुहरुको एउटा समूह छ, जहाँ राणा थरका एक व्यक्ति गीत गाइरहेका छन्। गीतले भनिरहेको छ–

    वैँशमा समुन्द्र पनि तरौँ तरौँ लाग्छ
    फाँसी लागी झुन्डिएर मरौँ मरौँ लाग्छ

    गीतमा नाच्नेमा एकजना यस्ता व्यक्ति पनि छन्, जो रुप र रंगमा स्वस्थानीका ‘नवराज ब्राह्मण’ जस्तै लाग्छन्। टुप्पी पालेका, होचो कदका। उनको नृत्य यति मस्त छ कि कमै मान्छेहरु त्यसरी खुलेर हलुका किसिमले नाच्न सक्छन्।

    जिन्दगीका अनेक भारी बोकेको, जिन्दगीबाट पिरोलिएको, आफूले गरेका गल्तीहरुको पश्चातापले गलेको कोही मान्छे पनि त्यति हलुका नाच्नै सक्दैन। आफ्नो  जिन्दगीमा निश्चिन्त नभएको मान्छेलाई नाच्न पनि गाह्रो पर्छ।

    त्यो दृश्य देखेपछि म सोचिरहेको थिएँ– यति मदमस्त नाच्ने यी ‘नवराज ब्रम्हाण’ को होलान्?

    दुइ वर्षपछि आज फेरि म त्यो भिडिओ क्लिप हेरिरहेको छु। र, कसैले मलाई चिनाइरहेको छ– त्यसरी नाच्ने व्यक्ति हुन् आनन्द बतास।

    गीतमा भनेजस्तो वैँश त बतासको सायद ढल्किसक्यो। सायद यसकारण भनेँ कि वैंश उमेर हो कि मन हो, म द्विविधामा छु।

    यति चाहिँ भन्न सक्छु– बतासले तन्नेरीमै धेरै समुन्द्र तरेकै हुन्।

    अनेक समुन्द्रहरु पार गरेर आएका बतासलाई आज आएर ‘फाँसी लागी झुन्डिएर मरौँ मरौं’ लागिरहेको छ कि छैन, मलाई थाहा छैन। कामना गर्छु, यस्तो नलागोस् पनि। यस्ता पौरखी मान्छेलाई झनै यस्तो लाग्न दिनु हुँदैन।

    अब, यो लेखनको खास चुरो कुरो गर्नु अघि एउटा प्रष्टीकरण दिऊँ।

    प्रष्टीकरण के भने व्यक्तिगत रुपमा बताससँग मेरो कुनै सम्बन्ध छैन। पोखरातिरकै मान्छे भएकोले पृथ्वीचोकको आनन्द होटल मलाई थाहा थियो, तर त्यसका मालिक आनन्द बतास हुन् भन्ने थाहा थिएन। आजसम्म बतासलाई मैले कहिँकतै भेटेको छैन। उनीसँग मेरो कुनै लेनादेना छैन। उनी लुक्लामा नाचेको भिडिओ मैले कतैबाट प्राप्त गरेको हुँ। अहिले बतासको ‘बतास’ चलिरहेको बेला भएकाले मात्र मैले त्यो समय र सन्दर्भ प्रयोग गरेको हुँ।

    अब चुरो कुरो गरौँ।

    त्यति बिन्दास नृत्य गर्न सक्ने, अनेक समुन्द्रहरु पार गरेर आएका, विपश्यनाका उपासक, लुक्लामा एक घण्टा हेलिकोप्टर रोकिदाँ पनि ध्यानमा बसिहाल्ने आध्यात्मिक चेतका व्यक्ति बतास आज नेपाली समाजमा किन ‘विनाशकारी हुरी’का रुपमा चित्रित हुँदैछन्।

    टाढाबाट म सोचिरहेको छु। आनन्द बतासलाई परेको अन्तर्वार्ताको धपेडी हेरिरहेका छु।

    के उनी, केबल उनी मात्रै ‘हुरी’ हुन्?

    अहँ, टाढाबाट हेर्दा मलाई त्यस्तो लाग्दैन। लाग्दै लाग्दैन।

    नेपालमा अरु थुप्रै ‘हुरी र हुण्डरीहरु’ छन्। बतास त बहँदै बहँदै आएका स्वाभाविक ‘हावा’ हुन्।

    पहिलो त नेपालमा राज्य सञ्चालन गर्ने नेताहरु स्वयं नै हुण्डरीजस्ता छन। राज्य संयन्त्र, त्यसका सञ्चालक र सहायकहरु हुरीजस्ता।

    ती हुण्डरी र हुरीको चक्करमा बतास परेको मात्र हो।

    अनि दोषी बतास मात्र?

    यहाँनेर बतासलाई एक्लो दोषी दोखाउने नेपाली मिडियाको अल्लारे चेतमा पनि ठुलो त्रुटि छ।

    नियम र कानुनभन्दा बाहिर गएर बतासलाई यसै थर्काउने, मान मर्दन गर्ने कतैबाट पनि हुनु हुँदैन।

    बतासले आफनो तर्फबाट कति गल्ती गरे वा गरेनन्, समय क्रममा खुल्दै जाला।

    गल्ती गरेको भए उनी सजायको भागी बन्नु पर्छ। यसमा कुनै दुईमत छैन। तर नेपालको ‘कच्चा सरकार’ र त्यसका ‘कच्चा संयन्त्र’हरुमाथि विश्वासमा वा चक्करमा पर्नु के बतासको मात्र दोष हो? त्यो कच्चा संयन्त्रलाई अलि मलजल नगरी केही काम हुँदैन भन्ने ठानेर बतासले केही मलजल गरेकै भएपनि के आफ्नो कच्चा संयन्त्रमाथि सरकारले लज्जाबोध र अपराध बोध गर्नु पर्दैन?

    टाढाबाट बतासका कुरा सुन्दै गर्दा यति भन्न सक्छु– गल्ती नै गरेका भएपनि बतास त कमसेकम आफूले गरेका दोष र त्रुटिमा पश्चाताप गर्ने ताकत राख्ने मान्छे हुन्। त्यति नैतिक हैसियत भएका मान्छे हुन्। आफूले गरेका ठूलै दोष र त्रुटिको पनि चेत नपाउने, बरु उल्टै हुँकार गर्नेहरुको जगजगी भएको समाज हो नेपाल। त्यस्तो समाजमा बतासले भुलवस वा ‘व्यापारिक प्रचलनअनुसार’ केही यताउति गरेकै भए पनि उनी माफीका हकदार छन्। त्यसमाथि ध्यान र नृत्यमा रमाउने बतास जस्ता मान्छे कुनै ठुलै घातमा लागे होलान् भन्ने मलाई लाग्दैन।

    भाडा कति हुनुपर्ने र कति क्षेत्रफलको कति भन्ने जस्ता कुराहरु सरकारका तर्फका निर्क्यौल गरिनुपर्ने सामान्य प्राविधिक विषयहरु हुन्। नारायणहिटीमा कफी सप राख्न हुन्छ कि हुन्न, यो बहसको विषय हुन सक्छ। हुन्छ र हुन्नमा अनेक तर्कहरु गर्न सकिन्छ। अमेरिकामा हो भने यस्ता विषयलाई निर्वाचनको बेला ब्यालेटको विषय बनाइन्छ। बढी मतदाताले जसो भन्छन्, उसै गरिन्छ। नेपालमा छन त लोकतन्त्र छ, तर सामन्ती लोकतन्त्र। नेताले जसो भन्छ उसै, सरकारले जसो भन्छ उसै। प्रधानमन्त्री वा मन्त्रीहरुले जसो भन्छन् उसै। शक्तिवालाले जसो भन्छ उसै। प्रशासकहरुले जसो भन्छन् उसै।

    लोकतन्त्र पनि सामन्ती हुँदोरहेछ भन्ने उदाहरण म नेपालमा देखिरहेको छु, जहाँ ‘लोक’ले होइन, ‘तन्त्र’ले सबैथोक चलाइरहेको छ।

    ‘तन्त्र’ले चलाइरहेको त्यस्तो ठाउँमा ‘तन्त्र’ले नै बनाएको नियमलाई पछ्याउँदै बतासले एउटा कफी सप चलाउन खोजे त के ठूलो अपराध गरे?

    ‘तन्त्र’ अर्थात सरकार आफैँले गरेको ‘डिल’मा सरकार दोषी हुनु नपर्ने? अनि बतास चाहिँ तारो बन्नु पर्ने?

    नेपालमा राजनीति, प्रशासन, प्रशासनमा बस्ने मान्छे असाध्यै कच्चा छन्। तिनले गर्ने अधिकांश निर्णयहरूमा परिपक्वता भेटिँदैन।

    न दृष्टिकोणमा ती प्रष्ट छन्, न अडानमा टिकाउ।

    ती विचारमा, दृष्टिकोणमा र निर्णयमा पनि झोलुंगे पुलजस्ता। हल्लिरहन्छन्।

    अनि दोष बिचरा पुलमा हिँड्ने मान्छेलाई!

    बतासले त सरकारले बनाइदिएको पुल तर्न खोजे। उनलाई पुल बीचैमा यति हल्लेला भन्ने के थाहा र?

    बतासजी, तपाईं जसरी अडिनु भएको छ, यसैगरी अडिनु होस्।

    तपाईं त कमसेकम गल्ती भएको ठाउँमा गल्ती भयो भन्ने बोध गर्नसक्ने मान्छे। म त नेपालमा वर्षौँदेखि ‘सयौं खुन’ गर्नेले पनि आफूलाई ‘बुद्ध’ भनेको देखिरहेको छु।

    बतासजी हतास नहुनुहोला, नेपालमा अरुहरुले गरेको ‘खुन’को तुलनामा तपाईंबाट यदि कतै जानी नजानी एकादुई ‘खुनै’ भएको छ भने पनि माफीको हकदार हुनुहुन्छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend