काठमाडौं, ११ माघ – एपमार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरेको आरोपमा राजस्व अनुसन्धान विभागले ३७ करोड ६४ लाख बिगो दाबीसहित काठमाडौं जिल्ला अदालतमा एक व्यक्तिविरुद्ध मुद्धा दायर गरेको छ।
विद्यार्थी राजनीतिमा संलग्न कैलालीको लम्कीचुवा स्थायी घर भई काठमाडौं कालोपुल बस्ने दिनेश खड्काविरुद्ध विभागले मंगलबार अदालतमा मुद्धा दायर गरेको हो।
खड्काले ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाख रुपैयाँ कारोबार गरेको अनुसन्धानका क्रममा भेटिएको छ।
खड्काले आफ्नी दिदी भगवती खड्काको एनआइसी एसिया बैंकमा रहेको खाताबाट २० करोड ४२ लाख र उनकी साथी अनिता धितालको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख कारोबार गरेको अनुसन्धानका क्रममा भेटिएको विभागले जनाएको छ। बुवा नरबहादुर खड्काको ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख रुपैयाँपनि कारोबार भएको भेटिएको छ।
राष्ट्र बैंकको वित्तीय जानकारी एकाइसँगै विभागले इन्टिलिजेन्समार्फत खड्कालाई पक्राउ गरी अनुसन्धान गरेको थियो।
विभागले उनीहरुको बयान, बैंकका स्टेटमेन्ट, बरामद गरेको मोबाइलमा प्राप्त मिसिलसंलग्न डाटालगायत कल डिटेल बिवरणका आधारमा सामूहिकरुपमा मिलिमतो गरी मोबाइल एप्स इस्क्रिल बिनान्स प्रयोगगरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर गरेको अनुसन्धानमा फेला परेको विभागले जनाएको छ।
डलरको अनलाइनमार्फत अवैधरुपमा कारोबार गरेको कसुरजन्य कार्यमा संलग्न भई उक्त एपमार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरेको अनुसन्धानमा खुलेको छ। खड्काबाट विगो जफतगरी तीन वर्षसम्म कैद सजाय माग गरिएको छ।