बागलुङ, १४ माघ – धौलागिरी अस्पताल व्यवस्थापन समिति सत्ता गठवन्धनका तीन राजनैतिक दलको भागबण्डामा गठन गरिएको छ । गण्डकीका ११ जिल्लामा बागलुङको अध्यक्ष राष्ट्रिय जनमोर्चाले प्राप्त गरेको छ । ९ सदस्यीय ब्यवस्थापन समितिमा जनमोर्चाले अध्यक्षसहित १ सदस्य प्राप्त गरेको छ । नेपाली कांग्रेसले र माओवादी केन्द्रले २/२ सदस्य प्राप्त गरेका छन् ।
जनमोर्चाको तर्फबाट अध्यक्षमा जैमिनी नगरपालिका-४ का सेवानिविर्त शिक्षक जनता माविका सर्कुवाका पूर्व प्राचार्य नारायणप्रसाद शर्मा पौडेल मनोनित भएका छन् । सदस्यमा बडिगाड-१ का रुनमाया थापा मनोनित भएकी छिन् ।
नेपाली कांग्रेसको तर्फबाट बानपा-१४ का लक्ष्मीदेवि जिसी र बानपा-३ का कृष्णशंकर श्रेष्ठ तथा नेकपा माओवादी केन्द्रको तर्फबाट बानपा-३ का गगन बहादुर पुन र बानपा-४ का धनमाया शर्मा सदस्यमा मनोनित भएका छन् ।
सत्ता गठवन्धनले बागलुङमा नेकपा एकिकृत समाजवादीलाई भागवण्डामा सहभागी गराएको छैन् । एकिकृत समाजवादीका जिल्ला प्रचार विभाग प्रमुख तथा व्यवस्थापन समितिका पूर्व सदस्य शालिकराम शर्माले अस्पतालको ब्यवस्थापन समिति गठनप्रति आफ्नो पार्टीको असहमति रहेको वताए ।
उनले गण्डकीमा सत्ता गठबन्धन सहमतीय संस्कृतिको अवधारणा अनुसार नचलेको आरोप लगाए । ‘अस्पताल ब्यवस्थापन समिति गठनप्रति हाम्रो असहमती छ’, प्रचार विभाग प्रमुख शर्माले भने, ‘यसलाई सच्याउनु पर्दछ । केन्द्रमा भएको सहमती अनुसार नै सत्तागठवन्धन सहमतीमा चल्नु पर्दछ ।’

९ सदस्यीय बाँकी ३ सदस्यमा सदस्य सचिव अस्प्तालका मेडिकल सुपरीटेण्डेण्ट तथा बागलुङ नगरपालिका प्रतिनिधि र बागलुङ उद्योग वाणिजय संघ पदेन सदस्य रहने ब्यवस्था छ ।
प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल व्यवस्थापन समिति गठन आदेश २०७८ को दफा १ बमोजिम अध्यक्षमा पौडेल सहित सदस्यहरुलाई आगामी ३ बर्षका लागि मनोनित गरेको हो ।
पुस २१ गतेको मितिमा उनीहरुलाई मनोनय गरिएको भएपनि हालसम्म नयाँ समितिले पदभार ग्रहण गरेका छैन् । निवर्तमान अध्यक्ष केवी राना मगरको कार्यकाल सकिएपछि अस्पताल ब्यवस्थापन समिति गत असोजदेखि पदाधिकारीविहिन बनेको थियो ।