काठमाडौं, १८ माघ – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र भोलि बुधबार रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना रहेको जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ। महाशाखाका अनुसार यतिबेला (मंगलबार बिहान) पहाडी भेगमा मौसम आंशिक बदली (थोरै आकाशमा बादल) रही तराईमा हुस्सु/कुहिरो लागेको छ।
यस क्रममा आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना रहेकाे मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। ‘तर सम्भावना निकै न्यून छ, भयो भने फाटफुट वर्षा हुन सक्छ’, मंगलबार बिहान मौसमविद् बासीले भनिन्।
बुलेटिनअनुसार मंगलबार राति (भन्नाले साँझ ६ बजेदेखि भोलि बुधबार बिहान ६ बजेसम्मको अवधि) प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
महाशाखाका अनुसार बुधबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। अनि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै तथा गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

फाइल तस्बिर : काठमाडौंको पर्यटकीय स्थल चन्द्रागिरि डाँडामा हिमपात।
यस्तै बिहीबार दिउँसो कर्णाली र सुदूरपश्चिमका धेरै तथा लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना बुलेटिनमा औंल्याइएको छ। बुलेटिअनुसार प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
बिहीबार राति पनि कर्णाली र सुदूरपश्चिमका धेरै तथा लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ। महाशाखाका अनुसार प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना तथा देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।