पोखरा, १९ माघ – जेष्ठ नागरिक सरोकार समाज नेपालले एक सय वर्ष माथिका जेष्ठ नागरिकलाई घरघरमै पुगि सम्मान गर्ने अभियान थालेको छ ।
समाजका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार ज्येष्ठ नागरिकहरुको आत्मसम्मानका लागि यो अभियान सुरु गरिएको हो । २०७२ सालबाट सुरु गरिएको उक्त अभियानअन्तर्गत हालसम्म एकसय वर्षदेखि ११५ वर्षसम्मका समाजका १२ जना आमाबुवालाई सम्मानित गरिन्छ ।
संस्थाले पोखरा महानगरपालिका वडा नं. ३१ पचभैया ११५ वर्षीया धनकुमारी गुरुङ, भक्तपुर नगरकोटकी १०७ वर्षीया सुनकान्छी लामिछाने, पोखरा १२ सितलादेवीका लालबहादुर गुरुङ र १०२ वर्षीय यारु गुरुङ, पोखरा १९ पुरन्चौरकी १०१ वर्षीया धनमाया गौतम,पोखरा ३२ लामेआहालकी १०२ मानकुमारी श्रेष्ठ, कास्की लिपयानीकी १०१ वर्षीया तिलोत्तमा न्यौपानेलाई सम्मान गरिसकेको छ ।
यस्तै मादी गाउँपालिका तारकांङका १०१ वर्षीय वामदेव सापकोटा, पोखरा १० का १०३ वर्षीय कुलबहादुर गुरुङ, पोखरा १३ आर्वाका १०२ वर्षीय टीकाराम बराल, पोखरा २७ कन्दनिडाँडाकी १०१ वर्षीया आमा खिमकुमारी रानाभाटलाई सम्मान गरिएको संस्थाका उपाध्यक्ष केशवप्रसाद ढकालले जानकारी दिए ।सम्मानितमध्ये सुनकान्छी लामिछाने, कुलबहादुर गुरुङ र मानकुमारी श्रेष्ठ अहिले पनि जिवितै छन् ।
पोखरा महानगरपालिका वडा नं. ७ माछापुच्छ्रे टोल निवासी १०४ वर्षीया इन्द्रकला पाध्या गौतमलाई सोमबार संस्थाले सम्मानित गरेको छ । अध्यक्ष भक्तबहादुर श्रेष्ठले अग्रज आमा गौतमलाई सम्मानपत्र र दोसल्लाले सम्मान सम्मानित गरेका हुन् ।
सम्मानित आमा गौतमले नौ बर्षको उमेरमा विवाह भएको तथा सो अवस्थामा ताम्दानीमा बोकेर लगेको स्मरण गरिन् ।३० वर्षको हुँदा नहुँदै श्रीमानको वियोग खपेको उनले सुनाइन् । कार्यक्रममा छोराहरु दण्डपाणि र इश्वरवन्दु गौतम र छोरी प्रेमकुमारी आर्यालय उपस्थित थिए ।