बागलुङ, १९ माघ – जुवामा नारेका गोरु कुट्दै हलोको सहारामा खेतबारी जोत्नेहरुका हातमा अहिले मेसिन छ । संघीय, प्रदेश र स्थानीय सरकारले अनुदानमा दिएका मिनिटेलर हलो (आधुनिक हालो)ले परम्परागत शैली फेरिएको छ । कतिपयले व्यक्तिगत लगानीमा आधुनिक हलोको जोहो गरेका छन् ।
केही वर्ष पहिलेसम्म दिभर जोत्दा नसकिने खेतबारी अहिले एक/दुई घण्टामा जोतेर सकिन्छ । डिजेल र पेट्रोलको सहायतमा चल्ने हलो गाउँ गाउँमा पुगेपछि हिजो गोरुका पछि हलोको अनौ समाउनेहरुले अहिले मिनिटेलरको गियर त चलाएका छन् तर प्राविधिक ज्ञानको अभावमा बिचमै रोकिने हलो मर्मत कसरी गर्नेभन्ने समस्या भने कायम थियो ।
‘किसानलाई उपकरण मात्रै होइन, प्राविधिक ज्ञानको पनि आवश्यकता छ, उपकरणको सही प्रयोग नहुँदा परम्परागत शैलीमा भन्दा धेरै दुख हुन्छ’, जैमिनी नगरपालिकाको कृषि शाखाका प्राविधिक रवीन्द्र शर्मा भन्छन्,‘एक वर्ष पहिलेसम्म हामिले प्रविधि मात्रै दियौं, अहिले प्राविधिक ज्ञान पनि दिने अभियानमा छौं ।’ जैमिनी नगरको कृषि शाखाले यो वर्षमात्रै २१ जना मिनीटेलर मर्मत गर्नसक्ने किसान तयार पारेको छ ।
दश दिन लामो प्रयोगात्मक तालिमको व्यवस्था गरेर किसान आँफैले मिनिटेलर मर्मत गर्नसक्ने बनाइएको छ । ‘घरको हलो बिग्रिँदा बजार पु¥याउनुपर्ने, मर्मत खर्च पनि किसानले धानिनसक्नुको महंगो’, जैमिनीकै किसान प्रेम पौडेलले भने ‘तालिम पाएपछि आफ्नो मात्रै होइन छिमेकीको हलो बिग्रिए पनि अब हामी आफै बनाउँछौं ।’ तालिम पाएपछि किसानहरु उत्साहित छन् ।
जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले तालिमले प्राविधिक ज्ञान दिने र कृषकहरुलाई नै सहज बनाउने बताए । किसान सवल नहुँदासम्म कोही पनि सुरक्षित नहुने उनको तर्क थियो । उनले नगरपालिकाले अनुदानमा दिएका कृषि सामग्रीहरु बिग्रिएर प्रयोगविहीन बनेकोले यो तालिमले कृषकहरुको सामग्रीको सदुपयोग हुनेमा आशा व्यक्त गरे ।
कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र पोखराको प्राविधि सहयोग लिएर नगरले किसानलाई तालिम दिएको हो । कृषि मेसिनरी औजार मर्मत तालिम अवधिभर कृषकहरुले प्रयोगात्मक अभ्यास गरेका थिए । नगरले कृषि औजार बिग्रेको भए निःशुल्क मर्मत सम्भार समेत गर्ने प्रबन्ध गरेको छ ।
‘हामिले अहिले तयार गरेका किसानले अरुलाई पनि सिकाउँछन्’ प्राविधिक शर्मा भन्छन्,‘अव प्राविधिक ज्ञानको अभावमा किसानले महंगो मुल्य तिरेर मर्मत गर्नुपर्ने बाध्यताको अन्त्य हुने छ ।’ बागलुङका दशवटै स्थानीय तह र कृषि ज्ञान केन्द्र बागलुङले हरेक बर्षका कार्यक्रममा यान्त्रिकीकरणका लागि मिनिटेलर हलो वितरण गर्ने गरेका छन् भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत समेत कृषिमा यान्त्रीकीकरण थालिएको छ ।