पोखरा, २० माघ – कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कलाभिरमा लामा अमृत फाउण्डेशनले रेलिङ निर्माण गरेको छ । सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित करिब १ लाख ४५ हजारको लागतमा सो भिरमा रेलिङ निर्माण गरेको हो ।
घान्द्रुकका स्थानिय होटल तथा पर्यटन व्यवसायीहरु र देश विदेशमा रहेका दाताहरुको आर्थिक सहयोगमा पक्की रेलिङ निर्माण गरेको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । सो स्थानमा असोज २५ गते जीप दुर्घटना हुदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।
गुरुङले दुर्घटना पश्चात् नकरात्मक सन्देश प्रवाह भएको बताउदै सो क्षेत्रमा सवार गर्दा सुरक्षित महशुस गराउन रेलिङ निर्माण गरेको बताए । ‘त्यो दुर्घटना अत्यन्तै दुखदायी बन्यो । पर्यटकमा पर्न गएको नराम्रो खबर पछि हामीले धुक्क महसुस गराउनका लागि रेलिङ निर्माण गरेका हौ, उनले भने, ‘यति मात्र नभएर यही क्षेत्रमा भएका ५ वटा घुम्तीमा ऐना पनि राखेका छौ । यसले यात्रा थप सुरक्षित बनाउन मद्दत पुर्याउछ ।’

उनले सो संरचना निर्माण गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिदै घान्द्रुक यात्रामा सुरक्षित महसुस गर्न सकिने बताए । ‘त्यो घटनापछि गाउँले पनि हिड्न डराउथे । अहिले यो बनाइसकेपछि सबै धुक्क बनेका छन्’, गुरुङले भने ।
त्यसैगरी प्हे ल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङले लामा फाउण्डेशनले सरकारत्मक सन्देश दिने कार्य गरेको भन्दै प्रशंसा गरे । ‘यो कार्यले सबैभन्दा त सकरात्मक सन्देश पु¥याएको छ । अब सहजै सवारीसाधनहरु घान्द्रुक भित्रिन सक्छन्’। उनले भने, ‘अझ सरकारी पक्षले पनि थप जोखिम क्षेत्रमा यस्ता रेलिङहरु निर्माण गर्नुपर्छ ।’
भारत राजदूतावासको सहयोगमा सञ्चालित एम्बुलेन्सका चालक तथा रेलिङ निर्माण समितिका संयोजक यामबहादुर गुरुङले सो क्षेत्रमा यात्रा गर्दा ढुक्क भएको बताए । उनले सो रेलिङ निर्माणको संयोजकको रुपमा काम गरेको बताउदै रेलिङ निकै बलियो रहेको जानकारी दिए ।
उनले सो क्षेत्रमा दुर्घटना पश्चात प्राय सवारी चालकहरु त्रसित भएको बताउदै भने, ‘यो ठाउँमा सबैभन्दा ठुलो दुर्घटना नै यही थियो । त्यसैले यहाँ आउँदा अलि कस्तो लाग्थ्यो अब भने चालकहरुले पनि ढुक्क भएको प्रतिक्रिया दिएका छन् ।’उनका अनुसार अहिले जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट २० लाख बजेट विनियोजन भएको छ ।