म्याग्दी, २१ माघ – पश्चिम म्याग्दीमा निर्माणधिन पक्की पुलको ढलान गर्ने क्रममा लापरबाही हुँदा दायाँ र बायाँ दुबैतर्फ दबेको छ । बेनी नगरपालिका-४ फापरखेत र मंगला गाउँपालिका-३ पखेर जोड्न म्याग्दी नदीमाथि बन्दै गरेको मोटरेवल पुलको ढलान ‘नागबेली’ भएको हो ।
तीनवटा स्पाममध्ये पखेरतर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाही हुँदा पुलको दायाँ र बायाँ दुबै तर्फको भागमा असर गरेको स्थानीय यूवा कुमार केसीले बताए ।
‘निर्माणधीन पुलको ढलान दविएको छ,ढलान गर्दा प्रयोग गरिएको टेका बलियो नहुदाँ असर गरेको छ’, केसीले भने । ढलानको क्रममा देखिएको समस्याका बारेमा सम्बन्धित निकायमा जानकारी गराएपछि बिहीबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको नेतृत्वमा प्राविधिकहरू सहितको टोली स्थलगत अनुगमनमा गएको थियो ।
३ देखि साढे ६ सेन्टिमिटरसम्म पुलको ढलान दबिएको अनुगमन टोलीले जनाएको छ । पुलको पहिलो ढलान ३० सेन्टीमिटर बाक्लो रहेकोमा कतिपय स्थानमा साढे ६ सेन्टिमिटरसम्म दबिएको पाइएको हो । ‘ढलानको क्रममा कमजोरी देखिएको छ,‘तत्काल सुधार नगरे भविष्यमा क्षति हुनसक्छ’,जिसस प्रमुख केसीले भने ।
सडक डिभिजनका प्राविधिक टोलीलाई ढलानको लेवल तलमाथि भएको अवस्थाको अध्ययनपछि प्रतिवेदन उपलब्ध गराउन सुझाब दिएको र प्राविधिक रुपमा टुंगोमा नपुग्दासम्म तेस्रो स्पामको थप कामलाई रोक्न निर्देशन दिइएको छ । अनुगमन टोली, सडक डिभिजन कार्यालय र निर्माण कम्पनीले प्राविधिक रुपमा थप नापजाँच गरि वास्तविकता पत्ता नलाग्दासम्म तेस्रो स्पामको थप काम रोक्ने र अन्य बाँकी कामलाई गुणस्तर कायम गरि तीव्रता दिने समझदारीसमेत गरेका छन् ।
सडक डिभिजन कार्यालय बाग्लुङले आर्थिक बर्ष २०७३/०७४ मा लुम्बिनी–प्राकृतिक जेभीसँग भ्याट बाहेक ९ करोड ३९ लाख ९३ हजार २७७ मा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
३५ /३५ मिटरका तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो स्पामको ढलानको सटिङमा भएको लापरबाहीले पुलको ६ ठाउँमा दविएको देखिएपछि निर्माण कम्पनी र सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराइएको तातोपानीकाका अगुवा वीरेन्द्रमान शाक्यले बताए । सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर किरण पोखरेलले ढलानको लेवल नापचाँज गरी विज्ञहरु समेतको सल्लाह लिएर कार्यालयले आबश्यक निर्णय लिने बताए ।
‘पुलमा ठूलो समस्या छैन,सवारीसाधन गुड्ने केही फरक पर्दैन, छेउछेउको भागमा पुगेको असर मर्मतपछि सहज हुन्छ’, उनले भने । लेवल थप १० सेन्टीमिटर ढलान गर्ने काममा मिलाउन सकिने पोखरेलले बताए । ३० सेन्टीमिर बाक्लो ढलानमा थप १० सेन्टीमिटर फिनिसिङ ढलान गर्न बाँकी रहेको छ ।
अनुगमन टोलीमा जिसस सदस्य शेरबहादुर केसी, पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुवास श्रेष्ठ लगायत तातोपानी र पखेरका स्थानीय सरोकारवालाहरुको समेत सहभागिता रहेको थियो ।
चार वटा पिलर र तीन स्पाम रहेको यस पुलको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । आगामी चैत मसान्तसम्म म्याद थप भएको पुलको तीन वटै सेल्याब ढलानको काम सकिएको छ भने अन्य काम बाँकी रहेको छ ।
११ मिटर चौडाइ रहेको फापरखेत–पखरे जोड्ने पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हुँदै बरंजा र अर्मन सोझो सडक सञ्जालमा जोडिनेछन् । सडक विभागले मंगला गाउँपालिका– २ बाबियाचौरको माटेबगर र वडा– ५ अर्मनको मसानघाटमा समेत अर्को मोटरेवल पुल निर्माण गरिरहेको छ ।
लुम्बिनी–प्राकृतिक जेभीले नै ठेक्का लिएर निर्माण गरिरहेको उक्त ८० मिटर लामो पुलको समेत एउटा स्पाम ढलान गरी अर्को स्पामको ढलान गर्ने तयारी गरिएको छ । पुल निर्माण भएपछि मंगला गाउँपालिका वडा नं ३, ५ र ५ का साथै छिमेकी जिल्ला बागलुङको ताराखोला, काठेखोला गाउँपालिकाबासीलाई समेत सहज हुनेछ ।