१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

भूमि आयोग बागलुङमा कुँवर, गरे पदबहाली


जनमञ्च संवाददाता
  • २१ माघ २०७८ , शुक्रबार

  • भूमि आयोग बागलुङमा कुँवर, गरे पदबहाली

    बागलुङ, २१ माघ  – राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङको अध्यक्षमा धर्म बहादुर कुँवरले जिम्मेवारी पाएका छन् । बुधबार जिल्ला समन्वय समितिमा रहेको आयोगको सचिवालयमा अध्यक्ष कुँवर र पदेन सदस्यहरुले पदवहाली गरे ।

    पाँचदलीय गठबन्धन सरकारमा रहेको राष्ट्रिय जनमोर्चाको तर्फबाट सिफारिस भएका कुँवरलाई नेपाल सरकारले राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङको अध्यक्षमा नियुक्त गरेको थियो । जिल्ला समितिमा तीन जना मनोनित सदस्यहरु भने चयन हुन बाँकी छ । एक जना विज्ञसहित अध्यक्षले तीन जना सदस्य मनोनित गर्न पाउने व्यवस्था छ ।

    जिल्ला समन्वय अधिकारी, मालपोत कार्यालयका प्रमुख, डिभिजन वन कार्यालयले तोकेका अधिकृत र जिल्ला प्रशासन कार्यालयले तोकेका अधिकृत समितिको पदेन सदस्य हुने व्यवस्था रहेको छ । नापी कार्यालयका प्रमुख पदेन सदस्यसचिव रहने व्यवस्था छ ।

    पदबहाली गर्दै कुँवरले भूमिहीनहरुको समस्या समाधानका लागि पटक पटक भएका प्रयासहरु असफल भएको भन्दै आफ्नो कार्यकालमा प्रयास गर्ने बताए । यसअघि बनेको समितिले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको आवेदन मागेर तथ्यांक तयार गरेको भन्दै कुँवरले सोही तथ्यांकका आधारमा काम अघि बढाउने बताए ।

    जिल्लाभर भूमिहिन दलित १ सय १० परिवार, भूमिहिन सुकुम्बासी ३ सय ९३ परिवार र अव्यवस्थित बसोबासी ४ हजार ५ सय २० परिवार गरी जम्मा लाभग्राहीको संख्या ५ हजार २३ रहेको प्रारम्भिक तथ्यांक छ । जिल्लामा क्रियाशिल राजनीतिक दल तथा सरोकारवाला कार्यालय समेतको उपस्थितिमा पदबहाली गरेका कुँवरले छिट्टै काम थाल्ने बताए ।

    कार्यक्रममा बोल्ने बक्ताहरुले भूमिहीनलाई जग्गा दिनेभन्दा अव्यवस्थित बसोबासीको व्यवस्थापनको काम चुनौतीपूर्ण रहेको बताए । संख्यामा पनि अव्यवस्थित बसोबासी धेरै रहेको पाइएको छ । जग्गा, बसोबासको व्यवस्थान गर्ने काममा सबै सरोकारवालाको साथ आवश्यक हुने उनीहरुको धारणा थियो । भूमिहीनलाई जग्गा प्रदान गर्दा र बसोबास व्यवस्थापन गर्दा कोही छुट्न नहुने धारणा उनीहरुले राखे ।

    जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाले लामो समयदेखि भूमिहिन रहेका दलित, सुकुम्बासीलाई जग्गा दिने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने बिषय चुनौतीपूर्ण रहेको बताए । ‘अन्य जिल्लामा जस्तो हाम्रोमा समस्या छैन् तरपनि चुनौतीपूर्ण काम धेरै र थोरै हुनुले फरक पार्दैन्’, ढुंगानाले भने ‘वास्तविक समस्याको पहिचान गरेर काम गर्नुपर्ने चुनौती अहिलेको समितिलाई छ ।’

    कार्यक्रममा बोल्दै नेकपा मालेका तर्फबाट नेतृ मञ्जु क्षेत्रीले सुकुम्बासी भूमिहीनहरुको समस्या समाधानको बिषय पेचिलो भएपनि कम महत्व दिईने गरेको बताए ।
    नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापाले यसअघि बनेको समितिलाई स्थानीय तहले असहयोग गरेको गुनासो आएको भन्दै दल र जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सूकुम्बासीलाई जग्गा प्रदान गर्ने काम चुनौतीपूर्ण भएपनि सबैको सहकार्य र साथले सम्भव हुने बताए ।

    जिल्ला समन्वय प्रमुख ढुंगानाको अध्यक्षता, समन्वय अधिकारी कृष्णराज गौतमको स्वागत र नापी कार्यालयका प्रमुख योगेन्द्र कुमार यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend