१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

पर्वतमा बन्यो नेपालकै पहिलो ‘स्काई क्याफे’


संजय रेग्मी
  • २१ माघ २०७८ , शुक्रबार

  • पर्वतमा बन्यो नेपालकै पहिलो ‘स्काई क्याफे’

    पर्वत, २१ माघ – सामान्यतः क्याफे भन्दासाथ बजारमा देखिरहेका क्याफेलाई नै हामी सम्झिन्छौँ । पसलमा जान्छौँ, चिया, कफी, खाजा के खाने हो खाइन्छ । जमिनमा घर निर्माण गरेर चलिरहेका ‘क्याफे’ मा त हामी सबै छिरेका नै हौँला । तर विश्वकै दोस्रो अग्लो दाबी गरिएको कालीगण्डकी नदीमाथि निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनी ‘द क्लिफ’ ले नेपालमै पहिलो पटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको छ ।

    साहसिक खेलहरू बञ्जीजम्प, स्वीङ, स्काई चेयर, स्काई साइक्लिङ लगायतका पूर्वाधार निर्माण गरेर व्यावसायिक सफलता पाइरहेको ‘द क्लिफ’ ले खाजा खानाकै लागि पनि साहसिक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको हो । ‘द क्लिफ’ का सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई साइक्लिङ’ को लागि राखिने तार जस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भिरमा तार टाँगिएको छ । ‘क्याफे’ मा बस्नको लागि फलाममा काठका फलेक जडान गरेर बेन्च र टेबल निर्माण गरिएको छ । त्यही टेबललाई घिर्नीको माध्यमबाट तारमा झुन्डाइएको छ, घिर्नीकै माध्यमबाट डर लाग्दो तारे भीरको माथि तारमा ‘क्याफे’ बिस्तारै हिँडिरहेको हुन्छ । त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरु गर्ने बेलामा ‘अर्डर’ गरेका खानेकुराहरू खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन् ।

    ‘बन्जी सहितका अन्य साहसिक खेलका लागि पर्वतको द क्लिफ पर्यायवाची भइसकेको छ। हामी सकेसम्मका फरक तर एडभेन्चर खालका खेल तथा पूर्वाधारको निर्माणमा जुटिरहेका छौँ । स्काई क्याफे पनि यही कन्सेप्टमा तयार भएको हो,’ कार्की भन्छन्, ‘तारमा झुन्डिएर हिँडिरहेको क्याफेमा बसेर खाजा खानुको मज्जा नै बेग्लै छ । कालीगण्डकी नदीको सातो जाने भिरमा गुडिरहेको क्याफेको आनन्द लिन आउने पर्यटकहरूको चाप बढी हुन्छ भन्ने लागेको छ ।’

    कालीगण्डकी नदीको सतहबाट दुई सय २८ मिटरको उचाइमा रहेको बन्जी बराबरकै उचाइमा ‘स्काई क्याफे’ सञ्चालन गरिएको ‘द क्लिफ’ का अर्का एक जना सञ्चालक युवराज जोशीले बताए। अहिले सुरुवाती चरण भएको र प्रचार नगरिएकै अवस्थामा समेत दैनिक औसतमा २९ जनाले ‘स्काई क्याफे’ मा बसेर जुस र कफी लिने गरेको उनको भनाई छ । ‘स्काई क्याफे’ का लागि मात्रै झन्डै ९५ लाख लगानी गरेको बताउँदै उनले प्रतिव्यक्ति २५ सय रुपैयाँ शुल्क राखिएको जानकारी दिए ।

    ‘हामीले स्काई क्याफेको परीक्षणपछि व्यावसायिक रूपमा सुरु गरेको दुई दिन मात्रै भएको छ । यसको प्रचार–प्रसार भएको छैन । तर पनि दैनिक औसतमा २९ जनाले यसको मज्जा लिनुभएको छ’ सञ्चालक जोशीले भने, ‘जसले स्काई क्याफेको मज्जा लिनुभएको छ उहाँहरूले एडभेन्चर कफी र जुसलाई निकै तारिफ गर्नुभएको छ ।’ उनका अनुसार कालीगण्डकी नदीमाथि एक सय २० मिटरको लम्बाइका तारहरू राखेर ‘स्काई क्याफे’ सञ्चालन गरिएको छ । अहिले सुरुवात मात्रै भएका कारण आगामी दिनमा थप साहसिक बनाउनका लागि थप विकल्पको बारेमा छलफल भइरहेको छ ।

    कोभिड–१९ को सङ्क्रमण फैलिएका यस अगाडिका लहरमा भन्दा अहिलेको लहरमा व्यवसायलाई कम मार परेको छ । निषेधाज्ञा नै जारी गरिएको भए पनि स्मार्ट लकडाउनका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको र बजार पनि पहिलेको जस्तै ठप्प अवस्थामा नरहेका कारण पालो अनुसार भिडभाड नहुने गरी साहसिक खेलमा आएका पर्यटकहरूले मनोरञ्जन लिन पाएका छन् ।

    कम्पनीमा प्रशासनिक काम हेर्दै आएका ईश्वर कार्कीका अनुसार सबै खालका साहसिक खेलमा आउनेहरूलाई खोप कार्ड अनिवार्य गरिएको छ । पालो बाँडेर थोरै थोरै सङ्ख्यामा मात्र पर्यटकहरूलाई भित्रिन दिएर सञ्चालनमा राखिएको छ। जसका कारण पर्यटकीय क्षेत्रले सङ्क्रमणका अघिल्ला चरणमा जस्तो बन्द नै गरेर बस्नुपर्ने अवस्था नरहेको उनको भनाई छ।

    ‘अघिल्ला चरणहरूमा त बन्द नै गरेर बस्नुपरेको थियो । अहिले भने स्मार्ट लकडाउनका कारण त्यति बेलाको जस्तो मारमा पर्नुपरेको छैन,’ उनले भने, ‘हामीले पूर्ण रूपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गरेका छौँ । ग्राहकलाई पालो अनुसार मात्रै साहसिक खेलमा रमाउन दिएका छौँ। जसले राज्य, हामी र पर्यटक सबैलाई फाइदा पुगेको छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend