पोखरा, २५ माघ – चुनाव लड्दा नै थाहा थियो, ‘जितेँ भने कार्यालय आउजाउ गर्न दुःख पाउनेवाला छु ।’ त्यसलाई स्वीकारेर कास्कीको अन्नपूर्ण गाउँपालिका- ७ मा घनश्याम चापागाई २०७४ सालको निर्वाचनमा मैदानमा उत्रिए । गाउँपालिकाका ११ मध्ये पाँच वडा एमालेले जित्यो । अन्नपूर्ण–७ को वडाध्यक्षमा एमाले उम्मेद्वार घनश्याम चापागाई वडाध्यक्षमा विजयी भए ।
देशका दुर्गम क्षेत्रमा यसरी घण्टौं हिँडेर जनतालाई सेवा दिने जनप्रतिनिधि छन् । ‘घनश्याम बा’ सुगम जिल्लाका त्यस्तै एक जनप्रतिनिधि हुन् । चुनाव जितेर उनी जनसेवामा लागेको साढे चार वर्ष बितिसकेको छ । मिजासिलो स्वभावका उनलाई ‘घनश्याम बा’ भनेर आफ्नै अनि आसपासका गाउँलेले पनि चिन्छन् । गाउँलेदेखि जनप्रतिनिधिसम्मका ६१ वर्षीय ‘घनश्याम बा’ दैनिक ६ घण्टा हिँडेर कार्यालय आउजाउ गर्छन् ।
उनको घर अन्नपूर्ण ७, लान्द्रुक हो । सोही वडाको कार्यालय ह्वाँडीमा छ । लान्द्रुकदेखि ह्वाँडी पुग्न गाडीमा एक घण्टा र हिँडेर तीन घण्टा लाग्छ । कास्कीको लान्द्रुकमा आठ वर्षअघि मोटर बाटो पुगेको थियो । तर, सार्वजनिक यातायातको राम्रो सुविधा छैन । त्यो बाटोले गाउँलेलाई पोखरा आउजाउ गर्न काम चलेको छ । हिउँदमा खासै समस्या हुँदैन, बर्खामा हिलाम्मे भएर आउजाउ गर्नै मुस्किल पर्छ ।
वडाध्यक्ष चापागाईं मोटरसाइकल चलाउन जान्दैनन् । कहिलेकाहीँ कार्यालय जाँदा र फर्किँदा गाडी पाइन्छ, नभए प्रायः उनी हिँडेरै जनताको सेवामा खटिएका छन् । ‘मलाई जनताको काम गर्दा केही दुख गरेजस्तो लाग्दैन । बिहान आठ बजे हिँड्दा १२ बजे पुग्थेँ । अहिले ११ बजे हिँड्छु,’ वडाध्यक्ष चापागाई भन्छन्, ‘कहिले जनता धेरै आए भने ६ बजेसम्म काम हुन्छ । जनताको सेवकले अफिसको समय सक्कियो भनेर हिँड्ने कुरा भएन ।’
गाउँपालिका अध्यक्ष युवराज कुँवरले उनलाई घोडा किन्न सुझाव दिएका थिए । त्यसलाई पाल्ने झन्झट लिएनन् र हिँड्नै सहज माने । ‘गाउँपालिका अध्यक्षले घोडा किन्नुस् बा भन्नुभएको थियो,’ गाउँले लवजमा वडाध्यक्ष चापागाईले थपे, ‘घोडालाई दाना दिन प¥यो, लिएर
हिँड्दा घाँडो हुन्छ त्यो । म खुट्टाले हिँड्न सक्छु, हिँडेरै पाँच वर्ष बिताउँछु भन्ने लाग्यो ।’
घान्द्रुकको पारिपट्टिको लान्द्रुक गाउँ अन्नपूर्ण र मर्दी हिमाल पदयात्रा जाने रूटमध्येको एक हो । कमै पर्यटक यो रूटबाट यी गन्तव्य पुग्छन् । अन्नपूर्ण ७ को वडा कार्यालय गत निर्वाचनताका माझगाउँस्थित तत्कालीन लुम्ले गाविसको भवनमा थियो । लान्द्रुकबाट गाविस भवनमा भएको कार्यालय पुग्न चार घण्टा लाग्थ्यो । वडाध्यक्ष भएको तीन वर्षसम्म आउजाउ गर्न आठ घण्टा खर्चिन्थे । एक वर्षअघि तत्कालीन गाविस भवनमा रहेको कार्यालय ह्वाँडीमा सारेपछि उनको एक घण्टा समय बचत भएको छ ।
कार्यालय सार्दा खाएका हप्की
निर्वाचित भएपछिकै पहिलो बैठकमा घनश्यामले वडा कार्यालय सार्ने प्रस्ताव राखेका थिए । वडाका जनप्रतिनिधिबाट त्यो प्रस्ताव पारित भयो । त्यसपछि जनतासँग छलफल थालियो । तर, दुई पक्षमा रहेका जनताबीच सहमति जुटेन । कार्यालय सार्ने तयारी गर्दा आक्रोशित पक्षले आफूलाई ‘कार्यालय पोको पारेर लैजा’सम्म भनेको उनी अनुभव साट्छन् । ‘पोखराबाट तीन÷चार बस आउनुभयो । यताबाट पनि गयौँ । दुई÷तीन सय जना भेला भयौँ । ४२ वर्षदेखि एक ठाउँमा भएको वडा कार्यालय सार्ने भनेपछि कसैलाई चित्त परेन,’ वडाध्यक्ष चापागाई सुनाउँछन्, ‘कुनैले भाषण गर्दा कार्यालय पोको पारेर तेरै घर लैजा पनि भने । कोहीले बीचमा लैजाऊ भने, कोहीले भएकोलाई किन सार्ने भन्ने कुरा भए ।’
पहिलो छलफलमा सहमति जुटेन । निस्किनेबेला उनले सहभागीलाई भने, ‘हामी बहुमतका छौँ । जनतालाई पायक पर्ने ठाउँमा लैजान कुनै आपत्ति छैन । लैजान मन लाग्यो भने हाम्रै निर्णयले लैजान सकिन्छ ।’ पछि फेरि बैठक डाके । अर्कोपल्ट बोलाउँदा पनि टुंगो लागेन । तेस्रोपटकमा सहभागी कम भए । पहिला हुँदैन भन्नेहरू छलफलमा सहभागी नै भएनन् । पहिला विपक्षमा रहेकाले पछि केही अवरोध नगरेपछि कार्यालय सार्न सहज भयो । वडाको सबै भेगबाट बीचमा पर्ने जग्गा खोज्न थालियो ।
वडाकै एउटा गुरुङ परिवारले कार्यालय बनाउन जग्गा दियो । आफूहरू बेलायत बस्ने र जनताकै कामका लागि भनेपछि उनीहरू जग्गा दिन तयार भएका थिए । हाल वडा कार्यालय भएको ह्वाँडीकै छिमेकी गाउँ पात्लेखेतका इन्द्रबहादुर गुरुङ, मेघविक्रम गुरुङ र डम्मरकुमारी गुरुङले वडा भवन बनाउन आफ्नो जग्गा दिएका हुन् । उनीहरूले त्यहाँ चार रोपनी १४ आना जग्गा दिएको वडाध्यक्ष चापागाईंले बताए । जग्गा पाइए पनि भवन बनाउन वडा कार्यालयसँग पैसा थिएन । गाउँपालिकासँग पनि नभएपछि केन्द्र सरकारसँग बजेट मागियो । संघ सरकारको सांसद विकास कोषबाट १० लाख रुपैयाँ आएपछि भवन निर्माण सुरु भयो । कास्की–३ बाट निर्वाचित सांसद एवं पूर्व खेलकुदमन्त्री जगत विश्वकर्माले कोषबाट १० लाख रुपैयाँ दिएका हुन् । जिल्ला विकास समितिले ५० लाख रुपैयाँ दिएपछि ६ कोठाको भवन बनाइएको वडाध्यक्ष चापागाईंले जानकारी दिए ।
घर फर्किंदा कहिले १०/११ बज्छ । हिउँदमा खोला तरेर कार्यालय पुग्नै नसकेका दिन पनि छन् । ‘हिउँदमा बाटो सहज हुने भो, जुका पनि लाग्दैन । बर्खामा कतै पहिरो हुने, गाडीको बाटोले गर्दा पहिला हिँड्ने पुलहरु प्रयोग हुन छोडे । त्यता झाडी छ, जानै सकिन्न,’ उनी गाउँका दुःख सुनाउँछन्, ‘गाडीको बाटो जाँदा खोला तर्न सकिन्न । आज म वडामा उपस्थित हुन सकिन भन्नुपथ्र्यो । अहिले बाटो खुल्यो । कहिलेकाहीँ गाडी पाइन्छ ।’ कहिलेकाहीँ अबेरसम्मै काम प¥यो भने वडाध्यक्ष चापागाई कार्यालयमै बस्छन् । खाने, बस्ने व्यवस्थाका लागि कार्यालयमा एउटा कोठा छुट्याइएको छ ।
२०४८ सालमा वडाध्यक्षको खासै भूमिका हुन्थेन । भर्खर ३१ वर्ष पुगेका उनलाई त्यतिबेला राजनीतिमा खासै चासो थिएन । गाउँमा सामाजिक काममा सक्रिय रहनेहरूलाई पार्टीले खोजीखोजी आफूतिर ल्याउँथे । उम्मेद्वार बने र गाउँकै सुबेदारलाई हराए । चापागाईका अनुसार त्यतिबेला महिनामा एकपटक बैठकमा गए हुन्थ्यो । गाविससँग पनि बजेट हुँदैनथ्यो । संघ सरकारसँग सबैजसो अधिकार थियो । ‘त्यसबेला हामीलाई महिनाको एकपटक, दुई महिनाको एकपटक गए हुन्थ्यो । सबै काम गाविस अध्यक्षले गर्थे । मिटिङ पर्दामात्रै बोलाउनुहुन्थ्यो,’ उनी सम्झन्छन्, ‘त्यतिखेर गाउँपालिकामा खासै पैसा पनि थिएन । हामी त्यतिबेला निर्वाचित हुँदा गाउँपालिकाले चलाउने भनेर २० हजार रुपैयाँ आउँथ्यो । विकास खर्च, चिया खर्च भने पनि त्यही थियो ।’
अब दुःख नगर्ने
अहिले गाउँपालिकामै करोडका योजना हुन्छन् । पैसा निकासा गर्ने अधिकार वडा कार्यालयलाई छैन । तर, सिफारिसदेखि अनुगमनसम्मका काम भएकाले वडाध्यक्षलाई गाउँपालिका अध्यक्षभन्दा धेरै चाप हुने उनी बताउँछन् । ‘गाउँपालिकाको अध्यक्षले महिनामा १० वटा साइन हान्छन् भने हामीले दुई÷तीन सय वटा हान्न पर्छ । कामको चाप छ । हेल्थपोष्टको अध्यक्ष उही, वडाध्यक्ष पनि उही, सबै स्कुलतिर हेर्नप¥यो,’ उनले थपे, ‘मिटिङ हुन्छन् । हामीलाई शुक्रबार न शनिबार । अरुलाई कुनै समयमा बिदा हुन्छ, हामीलाई त्यो पनि हुँदैन ।’
वडाध्यक्ष चापागाई अन्नपूर्ण संरक्षित क्षेत्र (एक्याप)अन्तर्गत वडा नम्बर ६ र ७ मा पर्ने वन संरक्षण समितिका अध्यक्ष हुन् । ११ वर्षदेखि उनी त्यही जिम्मेवारीमा छन् । आफूले चार पटक राजीनामा बुझाए पनि स्वीकृत नभएको चापागाई सुनाउँछन् । वडाको भन्दा वनतिरको काममा बढी चाप हुने उनको अनुभव छ । ‘एउटा काम गर्दा गाह्रो हुन्छ भने दुइटा काम गर्दा कस्तो हुन्छ ?’ उनले सुनाए, ‘वडाभन्दा जंगलको काम धेरै हुँदो रहेछ । कहाँ रूख काटे, कहाँ चोरेर लगे, कहाँ मृग हाने, बाँदरले बाली खायो, मृगले खायो भन्ने हरेकथरी कुरा आउँछन् । त्यसको पनि उत्तर दिनप¥यो ।’
आउँदो जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा सरकार छ । चापागाई दुई पटक जनप्रतिनिधि भए । उनी आफूले सक्दो राम्रो गरेको र कुनै विवादित काम नगरेकोमा खुसी छन् । दुईपटक वडाध्यक्ष भएका उनलाई जनप्रतिनिधि हुने इच्छा छैन ।
फेरि यसरी नै हिँडेर कार्यालय आउजाउ गर्ने कि अरू केही योजना छ ? वडाध्यक्ष चापागाईले जवाफ फर्काए, ‘हिँड्न त गाह्रो नै छ । यसले भेदभाव ग¥यो भनेर कसैले भनेको सुनेको छैन । त्यसले मलाई आनन्द लाग्छ । अब चुनावमा लड्ने इच्छा छैन । पार्टीले टिकटै दिए पनि उठ्दिनँ । अरूले पनि अवसर पाउनुप¥यो नि !’