बागलुङ, २६ माघ – जग्गा अभावका कारण पाँच बर्षदेखि थालनी हुन नसकेको जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माणको काम सुरु भएको छ । पालिका मुकाम कुश्मीशेरा बजारका स्थानीयले भवन निर्माणका लागि निःशुल्क जग्गा उपलव्ध गराएपछि भवन निर्माणको प्रकृया अघि बढेको हो ।
तीन बर्षमा निर्माण सम्पन्न गर्नेगरी भवन निर्माणको काम सुरु भएको इञ्जिनियर बिबेक सापकोटाले बताए । स्थानीय तह गठन पछि भवन निर्माणका लागि योजना बनाएको नगरपालिकाले अहिलेका जनप्रतिनिधिको कार्याकाल सकिने बेला भवनको जग बसाल्ने भएको हो ।
भवन निर्माणको जिम्मेबारी पाएको रविना, प्राकृतिक जुगल जेभीले तत्कालै काम थाल्ने बताएको छ । आठ करोड १७ लाख ६५ हजार ८२ रुपैयाँमा निर्माण हुने भवनका लागि नेपाल सरकार र नगरपालिकाले ५०÷५० प्रतिशत साझेदारी गर्नेछन् ।
२०८१ साल असार मसान्त सम्म भवन निर्माण गर्ने गरी माघ २१ गते ठेक्का सम्झौता भैसकेको सापकोटाले जानकारी दिए । ४ तल्लाको सुविधा सम्पन्न भवनमा ४२ वटा प्रशासनीक कोठा तयार हुनेछन् । ‘हामिले यहाँ नयाँ अभ्यास गरेका छौं, भूँइतला बाट चारतला सम्म बिद्युतीय लिफ्ट हुने छ’ सापकोटाले भने ‘अहिले भवनको परिसरका संरचना बन्ने छैनन् तर सबै संरचना बनिसक्दा नगरको प्रशासनीक भवन नमुना हुनेछ ।’ जिल्लामा सरकारी भवनमा लिफ्टको सुविधा भएको यो प्रशानिक भवन दोस्रो हुनेछ । यसअघी धौलागिरीमानै पहिलो पटक धौलागिरी अस्पताल बागलुङमा लिफ्ट जडान भएको थियो ।
जनप्रतिनिधि आएपछि पहिलो बर्षदेखिनै जग्गा प्राप्तीका लागि प्रयास भएपनि अघिल्लो बर्ष मात्रै नगरपालिकाले जग्गा प्राप्त गरेको थियो । नेपाल सरकारले जग्गाको प्लटिङमा लगाएको रोकको मारमा परेको नगरपालिकाले रोक फुकुवा भएपछि जग्गा आफ्नो नाममा बनाएको थियो ।
११ जना स्थानीयको १८ रोपनी जग्गा एकिकृत गरेर नगरपालिकाले पाँच रोपनी जग्गा प्राप्त गरेको थियो । बाँकी जग्गा प्लटिङ गरेर आवश्यक पूर्वाधार निर्माण पछि सम्बन्धित उपभोक्तालाई नगरपालिकाले फिर्ता दिने छ । कुश्मिसेरा बजारको दक्षिण तर्फ बन्ने भवन जैमिनी नगरपालिकालाई फेरो हालेका ठेउले खोला र टिमुर खोलाको दोभानमा बन्ने छ । कर्मचारीका लागि आवासीय सुविधा समेत भवन परिसरमै हुनेछ । भवन निर्माण भएपछि नगरपालिकाको सेवा प्रवाहमा सहज हुने नगरप्रमुख इन्द्रराज पौडेलले बताए ।
आफ्नै भवन नहुँदा नगरपालिकाले महंगो भाडा तिरेर व्यक्तिको घरबाट प्रशासनीक काम गर्दै आएको छ । नगर प्रमुख, उपप्रमुख र कर्मचारीका लागि आवासको सुविधा समेत गर्दा मासिक १ लाख ५० हजार बढी भाडामा खर्च हुनेगरेको छ । सभाहल समेत निर्माण हुने भएकाले नगरसभा,बैठक लगायतका कार्यक्रम गर्न भाडाको हल खोज्नुपर्ने बाध्यता अन्त्य हुने पौडेलले बताए ।