९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
एमाले भन्छ : गठबन्धनलाई जनताले पत्तासाफ पारिदिन्छन्

कास्कीमा वडासम्मै मिल्ने सत्ता गठबन्धनको निर्णय


जनमञ्च संवाददाता
  • २६ माघ २०७८ , बुधबार

  • कास्कीमा वडासम्मै मिल्ने सत्ता गठबन्धनको निर्णय

    पोखरा, २६ माघ – नेकपा एमालेले ‘किल्ला’ ठानेको कास्कीमा सत्तारुढ ५ दलीय गठबन्धन मिलेर जाने निर्णय गरेका छन् । सरकारले वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने निर्णयको स्वागत गर्दै वडा तहसम्मै कार्यकर्ताबीच भावनात्मक एकता बनाउने उनीहरुले निर्णय गरेका हुन् ।

    स्थानीय तहको २०७४ सालमा भएको निर्वाचनमा कास्कीका अधिकांश ठाउँमा एमाले उम्मेदवारले जितेका थिए । पोखरा महानगरसहित कास्कीमा रहेका ५ वटा स्थानीय तहमध्ये अन्नपूर्ण गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार युवराज कुँवरले जिेतका थिए भने बाँकी चारवटै तहमा एमाले उम्मेदवार निर्वाचित भएका थिए ।

    संसदीय निर्वाचनमा पनि प्रदेश सभाको एउटा क्षेत्रबाट मात्र कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए । कास्कीमा रहेका प्रतिनिधि सभाका ३ वटा निर्वाचन क्षेत्रमै एमाले उम्मेदवार विजयी भएका थिए भने प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये कास्की– २ प्रदेश सभा ‘ख’मा मात्र कांग्रेस उम्मेदवार विन्दुकुमार थापा निर्वाचित भएका थिए ।

    गत स्थानीय निर्वाचनमा हाल सत्ता गठबन्धनमै रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेको थियो । तर,गठबन्धन कसिलो थिएन । उपमेयरमा माओवादीकी गोमा ढकाल उम्मेदवार थिइन् । पोखराको मेयरमा गठबन्धनका बावजुद अन्नपूर्ण गाउँपालिकाबाहेक कास्कीका ४ वटै तहमा एमाले उम्मेदवार विजयी भएका थिए । कांग्रेससँग गठबन्धन गर्दा कास्की जिल्लामा ३ वटा वडा अध्यक्षमात्र माओवादी उम्मेदवार विजयी भएका थिए ।

    गत स्थानीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेसँग गठबन्धन गरेको थियो । गठबन्धन गर्दा माओवादीले प्रतिनिधि सभामा एकजना पनि उम्मेदवार उठाउन पाएनन् । ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रमा मात्र माओवादीले उम्मेदवारी उठाउन पाएको थियो । त्यसमा पनि एउटा क्षेत्रमा पराजित भएको थियो भने २ वटा क्षेत्रमा निर्वाचित भएको थियो ।

    एमालेको बाहुल्यता रहेको कास्कीमा यसअघि पनि सत्ता गठबन्धनको बैठक बस्दै आएको थियो । सरकारले सोमबार स्थानीय चुनावको मिति घोषणा गरेपछि जिल्ला जिल्लामा गठबन्धन बैठक बस्न पार्टीका शीर्ष नेताहरुबाटै निर्देशन आएको थियो । सोही निर्देशन अनुसार मंगरबार कास्कीमा गठबन्धनका नेताहरुवीच बैठक बसेको नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यले बताए ।

    ‘केन्द्रको निर्देशन अनुसार नै गठबन्धन बैठक बसेका हौं’, आचार्यले भने, ‘वडा तहसम्मै गठबन्धन बनाउने कुरा छ ।’ ७७ वटै जिल्लामा गठबन्धन बैठक बस्न केन्द्रले सर्कुलर गरेको उनले बताए ।

    नेपाली कांग्रेस कास्कीको कार्यालयमा बसेको गठबन्धन बैठकले तीनवटा निर्णय गरेको छ ।

    पहिलो, गठबन्धनले हालसम्म गरेका गतिविधिको समीक्षा गर्दै गठबन्धनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

    दोस्रो, स्थानीय तहका गतिविधि अनुगमन गर्ने र सुशासन स्थापना गर्न पहल गर्ने निर्णय गरेको छ भने तेस्रो वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय निर्वाचनको स्वागत गर्ने र निर्वाचनमय वातावरण बनाउने निर्णय गरेको कास्की कांग्रेसका सचिव भानु ढकालले बताए ।

    कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्र कास्कीका अध्यक्ष बखानसिँह गुरुङ, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्य,जनता समाजवादी पाटीका अध्यक्ष गिरिप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्की अध्यक्ष रविमोहन ढकाल सहभागी थिए ।

    बैठकमा माओवादी केन्द्रका जिल्ला अध्यक्ष गुरुङले स्थानीय निर्वाचनमा गठबन्धन मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष आचार्यले समर्थन जनाएका थिए भने अन्य नेताहरु प्रस्तावमा मौन बसेको बैठकमा सहभागी एक नेताले बताए ।

    कास्की कांग्रेसका सभापति बरालले भने चुनावमा गठबन्धन गर्ने कि नगर्ने केन्द्रिय कार्य समितिले निर्णय गर्ने बताए । ‘केन्द्रले गरेको निर्णय हामीले मान्दैनौं भन्न मिल्दैन’, उनले भने, ‘कास्कीमा एमालेलाई हराउन कांग्रेस एक्लैले सक्छ ।’
    गठबन्धनले स्थानीय तहका जनप्रतिनिधीले ५ वर्षमा गरेका कामको समीक्षा गरेर गलत कामको भण्डाफोर गर्ने चेतावनी दिएको छ । स्थानीय चुनावमा गरेका प्रतिवद्धता पूरा भए÷नभएको मूल्याङ्कन गर्ने, अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्ने उनीहरुले बताएका छन् ।

    एकीकृत समाजवादीका अध्यक्ष आचार्यले स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएपछि उनीहरुको कामको समीक्षा गर्ने बेला आएको बताए । ‘गैरकानूनी काम गरेका छन्, भ्रष्टाचारको सूचना आएको छ’, उनले भने, ‘कास्कीका सबै पालिकाको समीक्षा गरेर जनतामाझ पस्कन्छौं ।’

    नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले भ्रष्टाचारीलाई कारबाही गर्न आफुले सहयोग गर्ने बताएका छन् । उनले भने, ‘सरकारमा तपाईहरु हुनुहुन्छ, भ्रष्टाचारको छानविन गरेर कारबाही गर्नुहोस्, मेरो समर्थन रहन्छ । ’पाँच दललाई गठबन्धनमात्र हैन, पार्टी एकता गरेर एमालेविरुद्ध आउन पनि उनले सुझाव दिए । ‘कास्कीमा वडासम्मै ५ दलीय गठबन्धन मिल्ने कुरा मैले पनि सुनेको छु’, उनले भने, ‘पार्टी एकता गरेर आउनुस्, मेरो शुभकामना छ ।’

    एमालेविरुद्ध जतिसुकै दल मिलेर आएपनि कसैको केही नलाग्ने गुरुङले दाबी गरे । ‘एमालेलाई पत्तासाफ पार्छु भनेर उहाँहरु लाग्नुभएको छ, त्यो उहाँहरुको कोरा सपना मात्र हो’, गुरुङले भने, ‘जनतालाई उनीहरुलाई नै पत्तासाफ पारिदिन्छन् ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend