८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
कविता

घुम्ने मेचमाथि बस्ने मान्छे


दुर्गा आचार्य
  • ७ फाल्गुन २०७८ , शनिबार

  • घुम्ने मेचमाथि बस्ने मान्छे

    भुलेँ मैले हिँड्ने बाटोमा

    तिमी सहयात्री थियौ

    युद्धको त्यो आगोमा,

    तिमी शीतल थियौ

    तरबारको त्यो बाटोमा,

    तिमी ढाल थियौ

    म पुगेँ, हामीले भनेका हिजोका

    शोषक सामन्ती बस्ने कुर्सीमा

    तिमी हिजो जहाँ थियौ त्यहीँ छौँ

    जिउँभरि गोलीका खोका

    मुटुभरि बेपत्ता पारिएका,

    आफन्त आउने आशा

    अनि सँगै मर्ने बाँच्ने कसम खाएका

    प्रियतमाको सम्झनामा

    युद्धमा हारेको एक सिपाही जस्तै

    गलित, भई उही गाउँ घरमा

    एकसरो खान, लाउन र  उपचार गर्न,

    मसँग मागिरहेछौँ भीख ।

    तर हेर सहयात्री म तिमीलाई सहयोग गर्न सक्दिनँ

    म त, रमको चुस्कीमा बेहोस छु,

    बेहोसी जस्तै भएर त, सरकारी निवासमै बसेर

    घरभाडा थाप्ने क्रान्तिकारी म,

    एउटी निर्मलाको बलात्कारी बचाउन,

    उहीँ चेलीको हत्या गर्ने म

    मसँग क्रान्तिका केही याद छैनन्,

    सफाया गरिएका निर्दोष मान्छेका रगतले

    लत्तपतिएको मेरो हात र मन

    तिमीहरू मण्डलमा सुत्दैमा, अनशन बस्दैमा,

    कहाँ पग्लन्छ र ?

    युद्धमा काटीकाटी, मारीमारी,

    तिमीहरु जस्तै निर्दोषका लासमाथि टेकेर म यहाँ पुगेँ,

    अब म चिन्दिनँ तिमीहरू जस्तो माटोमा लम्पसार पर्नेलाई

    अब मलाई माटोको गन्ध होइन,

    ब्रान्डेड मधुरसको गन्ध मनपर्छ

    विलासिता मन पर्छ

    अत्तर, रम, ह्वस्कीका अनेक ब्रान्डमा रम्ने मान्छे मन पर्छ,

    अयोग्य लडाकु, सहिद, बेपत्ता र द्वन्द्वपीडित,

    अब मेरो कुनै शब्दकोशमा छैनन् ।

    जहाँ पुग्ने स्वप्न अभिलाषामा म थिएँ

    म त्यहाँ पुगिसकेँ

    तिमीहरू रोएको, कराएको सुनेर पनि,

    मेरो मनमा केही हुनेछैन

    किनकि म अब घुम्ने मेचमाथि बस्ने मान्छे भएको छु ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend