१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

प्रशासनकै अगाडि नक्कली नागरिकताको धन्दा


जनमञ्च संवाददाता
  • १० फाल्गुन २०७८ , मंगलबार

  • प्रशासनकै अगाडि नक्कली नागरिकताको धन्दा

    पोखरा, १० फागुन – जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेल आइतबार बिहानै पर्वत सदरमुकाम कुश्मा बजारबाट पोखराका लागि हानिए। सादा पोसाकमा रहेका उनले आफ्नो टोलीलाई पनि सादा पोसाकमा नै तयार पारे। पर्वत प्रहरीको टोली बिहान १० बजे पोखराको पृथ्वीचोकमा पुग्यो ।

    काठमाण्डौबाट बुद्ध एयरको फ्लाइट नम्बर ६०५ मा तुलाराम नाम्जाली मगर आउँदै गरेको सूचना पाएपछि इन्स्पेक्टर पौडेल उक्त दिन पोखरा विमानस्थलमा झर्न लागेका यात्रुहरूका नामावली निकाले । उनी सहितको एउटा टोली पोखरा विमानस्थलको यात्रु आगमन कक्षमा पुगेर प्रतीक्षामा बस्यो । ११ बजेको समयमा आफूले खोजी गरिरहेको व्यक्तिको हुलिया पहिचान गर्दै उनले सुर्खेतको चौकुने गाउँपालिका-५ स्थायी घर भई हाल पोखरामा बस्दै आएका ३२ वर्षिय मगरलाई नियन्त्रणमा लिए ।

    लिखत कसुर सम्बन्धी अभियोगमा प्रहरीको खोजीमा परेका तुलारामको साथमा रहेका कागजातको बारेमा प्रहरीले खोजी गरे पनि साथबाट त्यस्तो प्रमाण फेला परेन । उनको कसुर र हुन सक्ने कारबाहीको बारेमा मनोवैज्ञानिक रूपमा सम्झाइबुझाई गरेपछि अभियुक्त तुलारामले आफूहरुले गर्दै आएको किर्ते कामको बारेमा बताइदिए ।

    सोही आधारमा प्रहरीको टोली पोखरा महानगरपालिका-१७ राष्ट्र बैङ्क चोकमा पुग्यो, जहाँ ‘भूपू सैनिक अनलाइन सेवा’ नाम गरेको पसल थियो । प्रहरी टोलीले सोही पसलमा छिरेर छापा मार्दा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको भनिएको एसइई प्रमाणपत्र ५७ थान, मदरल्याण्ड सेकेन्डरी स्कुल पोखराको चारित्रिक प्रमाणपत्र एक थान, नेपाल प्रहरीले प्रदान गर्ने जस्तै नक्कली चारित्रिक प्रमाणपत्र एक थान, दुई थान मोबाइल, दुई थान मनिटर, एक थान किबोर्ड, एक थान प्रिन्टर, छ ओटा एटिएम कार्ड, प्रहरी प्रधान कार्यालयको स्ट्याम्प प्याड एक थान, जिल्ला प्रशासन कार्यालय कास्कीको स्ट्याम्प प्याड एक थान, जिल्ला प्रहरी कार्यालय लमजुङको स्ट्याम्प प्याड एक थान लगायतको बस्तुहरू फेला परेका छन् । सोही क्रममा पर्वतको महाशिला गाउँपालिका-२ भोक्सिङ घर भई हाल पोखरामा बस्दै आएका ३८ वर्षिय रिम बहादुर हमाल पनि पसलबाटै पक्राउ परे ।

    गिरोहले एकदेखि एक लाख ३० हजार सम्ममा उमेर घटाएर पहिले लिएको बाहेक नागरिकताको प्रमाणपत्र दोस्रो पटक पनि निकाल्न सघाउने गरेको पुष्टि भइसकेको थियो । आफू नै ग्राहक बनेर आरोपितको सम्पर्कमा गएमा दोषीहरूलाई पक्राउ गर्न सहज हुने अनुमान सहित इन्स्पेक्टर पौडेलले आफूलाई भर्ती हुनको लागि पुन नागरिकताको आवश्यकता रहेको बताउँदै तुलारामलाई फोन गरे ।

    आफू भारतीय सेनामा पटक–पटक देखिँदा पनि असफल भएको र अबको विकल्प अर्को नागरिकताको प्रमाणपत्र लिने र त्यसमा उमेर घटाएर आफू भर्ती हुन जाने बताए । त्यसका लागि पैसाको कुराकानी हुँदा आफूले एक लाख २५ हजार रुपैयाँ तिर्न तयार रहेको सुनाए । नक्कली शैक्षिक प्रमाणपत्र तयार पारेपछि नयाँ नागरिकताको प्रमाणपत्र निकालेर पैसा असुल्न माहिर तुलारामले आफ्नो सम्पर्कमा आएको व्यक्ति प्रहरी होला भनेर अनुमान नै गर्न सकेनन्।

    आफू कामको सिलसिलामा काठमाडौँ रहेको प्रमाणपत्र तयार पार्नको लागि पोखरा आउने बताएपछि त्यही क्रमलाई पछ्याउँदै पर्वत प्रहरीको टोली पोखरा पुग्यो। उनी जहाजमार्फत पोखरा आउन लागेको खबर पाएपछि प्रहरीको टोली सादा पोसाकमै विमानस्थलको निगरानीमा लागेको थियो ।

    ‘म आफै ग्राहक बनेर उसलाई फोन गरेको थिएँ । म धेरै पटक देखिँदा पनि इन्डियन आर्मीमा भर्ती हुन सकिन, अब नागरिकतामा नै उमेर घटाएर फेरि निकाल्नुपर्ने भयो भनेर कुरा गरेको थिए,’ इन्स्पेक्टर पौडेलले भने, ‘उनले मलाई ग्राहकमै रूपमा लिए, प्रहरी हो भन्ने त शङ्का नै रहेन। उनीहरूले काम गर्ने अफिससम्म जान पनि तुलारामले नै सघाए ।’

    पर्वतको कुश्मा नगरपालिका–११ पकुवा घर भएका २५ वर्षिय आशिष के.सी जिल्ला प्रशासन कार्यालय पर्वतमा गत फागुन छ गते ई पासपोर्ट निकाल्नको लागि गए । उनको वास्तविक नाम आशिष भए पनि सागर केसीको नामबाट दोस्रो नागरिकताको प्रमाण पत्र निकालेर सोहीको आधारमा नयाँ ई पासपोर्ट बनाउन प्रशासनमा पुगे ।

    राहदानीको लागि ‘फिङ्गर प्रिन्ट’ लिने क्रममा उक्त ‘फिङ्गर प्रिन्ट’ पहिले नै दर्ता भएको देखिएपछि उनीमाथि शङ्का लाग्यो। प्रशासनले तत्कालै गरेको अनुसन्धानबाट उनले आफ्नो उमेर घटाएर बनाएको दोस्रो नागरिकताको प्रयोग गरेर राहदानी बनाउन लागेको खुल्यो । ‘२०७१ वैशाख २७ मा जन्म मिति २०५३ साल चैत आठ गते राखेर नागरिकताको प्रमाणपत्र लिएको र पुन दोस्रो पटक २०७४ फागुन २८ मा २०५६ मङ्सिर एक गतेको जन्म मिति राखेर नागरिकता लिएको भेटियो,’ जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले भने, ‘थर उही कायम गर्ने नाम मात्रै फेर्ने, थर मिल्ने खालको अरू कोहीको पनि डकुमेन्ट वा नमुना फेला पारेमा सोही डकुमेन्ट बनाउने काम यिनीहरूले गरेको रहेछ ।’

    जिल्ला प्रशासन कार्यालय पर्वत स्रोतका अनुसार ई पासपोर्टको लागि आशिषको नाम दर्ता गराउँदै गर्दा विद्युतीय माध्यमबाट उनको नागरिकताको प्रमाणपत्र र राहदानी दुई ओटा रहेको भन्ने सूचना आयो। सोही आधारमा प्रशासनले आशिषलाई प्रहरीको जिम्मा लगायो ।

    मुद्दा हेरिरहेका इन्स्पेक्टर पौडेलले आशिषको फोन र फेसबुक समेत आफ्नो नियन्त्रणमा लिए। आफूलाई जस्तै आफ्नो साथीलाई पनि प्रमाणपत्र चाहिएको बताए । आफ्नो पूर्व ग्राहक नै बोलेपछि तुलाराजले समेत नयाँ ग्राहक प्रदीपलाई विश्वास गरिहाले ।

    अहिलेसम्म झन्डै दुई सयको हाराहारीमा त्यस्ता नक्कली प्रमाणपत्रहरू बनाएको र तीमध्येका ७०÷८० जना भर्ती पनि भइसकेको अभियुक्तहरूको भनाई उद्धृत गर्दै पर्वत प्रहरी बताउँछ ।

    पर्वतका रिम बहादुर नेपाली सेनाको हवल्दार पदबाट निस्किएका पेन्सनर रहेको तथा तुलाराम पोखरा र सुर्खेतमा रहेका भर्ती प्रशिक्षण केन्द्रहरूमा बसेर प्रशिक्षकको रूपमा काम गरिरहेको पाइएको छ । भर्ती हुनका लागि पटक पटक असफल भएका युवाहरूलाई अन्तिम विकल्पको रूपमा कागजात किर्ते गर्ने उपाय बताएर सोही अनुसारको रकम सङ्कलन गर्ने गरेको अनुसन्धानमा खुलेको छ । पसलबाट बरामद भएका कागजातमा २०७४ सालसम्मका कागजात भेटिएका कारण कम्तीमा पनि चार वर्षदेखि उनीहरूले यो धन्दा गरिरहेको हुन सक्ने डिएसपी बुढाथोकीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend