स्याङजा, १३ फागुन – आँधीखोला गाउँपालिकामा ५ वटा वडाले आफ्नै कार्यालयबाट सेवा दिन थालेका छन् । वडा नम्बर ४ बाङसिङको वडा कार्यालय भवनको निर्माण गरेसँगै यो अवस्था आएको हो ।
हालसम्म पालिकाअन्तर्गत पंचमुल, सेतीदोभान, बाङसिङ, बागेफड्के, बिचारीचौतारामा कार्यालय भवन बनेको पालिका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिए ।
उनले व्यवस्थित संरचनाबाट गुणस्तरीय सेवा दिएर जनतालाई सहज बनाउने योजना अनुरुप सबै वडा कार्यालय बनाउने नीति अनुसार पाँच वटा वडा कार्यालय भवन सम्पन्न भएको बताए । उनका अनुसार आगामी वर्ष वडा नम्बर २ चिन्नेबासको भवन सम्पन्न हुँदा ६ वटै वडाले आफ्नै भवनबाट सेवा दिनेछन् ।
कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिका उपाध्यक्ष शर्मिलादेवि पौडेलले बताइन् । गाउँपालिकाको आर्थिक वर्ष २०७७।७८ को ९८ लाख लागतमा दुई तले वडा कार्यालय भवन निर्माण गरिएको प्रमूख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए ।
भुईँ तल्लामा कार्यालय रहने वडा कार्यालय भवनको पहिलो तल्लामा १५० जना क्षमता भएको सभाहल निर्माण गरिएको उनले जानकारी दिए ।