मुस्ताङ, १७ फागुन – गौरवका आयोजना अनुगमन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलसहितको टोली यहाँ आईपुगेको छ । आयोगको टोली आईतबार मुस्ताङ आईपुगेको छ । आयोगका उपाध्यक्ष पौडेल, सहसचिव राजेन्द्र पौडेल र संघीय सडक सुपरिवेक्षण तथा अनुमगन कार्यालयका सुपरिटेन्डेन ईन्जिनीयर ललिजन खनाल लगायतको टोली मुस्ताङ आएको हो ।
मुस्ताङ आएको आयोगको टोली सडक तथा अन्य पूर्वाधारहरुको अनुगमन तथा सम्भाव्यता अध्ययन गर्न सोमबार उपल्लो मुस्ताङ गएको छ । यसअघि आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सरोकारवाला कार्यालयसंग छलफल तथा अन्तरक्रिया गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
कालिगण्डकी करिडोर, जिल्ला स्थित सरकारी निकाय ,सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, कमैचारी र स्थानीय पत्रकारहरुबीच छलफल तथा अन्तरक्रिया भएको प्रजिअ शर्माले बताए । कार्यक्रममा प्रजिअ शर्माले मुस्ताङ जिल्लाको समग्र वस्तुगत अवस्थाका बारेमा आयोगको टोलीलाई जानकारी गराएका थिए । सो क्रममा जिल्लास्थित कार्यालय प्रमुखहरुले आफ्नो कार्यक्षेत्रमा भईरहेका प्रगतीका बिषयमा आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई जानकारी गराए ।

आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले राष्ट्रिय गौरवको सडक अनुगमन, जोमसोम(कोरला सडकको कालोपत्रे, सम्भाव्यता अध्ययन, कृषि, सास्कृतिक सम्पदा लगायतका बिषयमा जानकारी लिन मुस्ताङ आएको बताए । मुस्ताङ जिल्ला धार्मिक तथा पर्यटकीय जिल्ला भएकाले सडक पहुँच सुव्यवस्थित हुनुपर्ने बताउदै उनले योजना बनाउदा स्थलगत अनुगमन आवश्यक पर्ने र सम्वन्धित स्थानमा नपुगी हुबहु योजना बनाउदा प्रतिफल राम्रो नहुने भएकोले अध्ययन गर्न आफुहरु मुस्ताङ आएको वताए ।
उनले सडक सहज भएमात्र सुरक्षित यात्राको प्रत्याभुती हुन भएकाले यसलाई व्यवस्थित गर्न आयोग कटिबद्ध रहेको जानकारी दिए । उनले निर्माणधिन बेनी—जोमसोम सडकको कार्यप्रगतीमा सन्तुष्ट गर्ने ठाउँ नभएको उनले उल्लेख गर्दै मुस्ताङमा कृषि र स्याउ खेतीको प्रचूर सम्भावना रहेकाले किसानलाई आर्कर्षित गर्नुपर्ने बताए ।
‘पछिल्लो समय स्याउ लगायतका कृषि वालीको उत्पादन घट्ने गरेको समाचार आउँछ, यसलाई जलवायु परिवर्तनको कारण भनिएको छ, आयोगका उपाध्यक्ष पौडेलले भने, उत्पादन घट्ने बिक्तिकै जलवायु परिवर्तनको कारण नभई अन्य कारणले पनि हुन सक्छ ।’
नेपालमा १ हजार वर्ष पुराना एक सय भन्दा बढी ऐतिहाँसिक गुम्बा रहेको उल्लेख्य गर्दै आयोगका उपाध्यक्ष पौडेलले मुस्ताङमा रहेका गुम्बाहरुको अवस्था र यसको स्तरोन्नति गर्न आवश्यक रहेको बताए । धार्मिक गुम्बा र मठमन्दिरहरुप्रति सचेतना बढाउन सके सबैले ईज्जत र सम्मान हुने वताउदै पौडेलले नेपालका सदियौ वर्ष पुराना गुम्बाहरुको संरक्षणमा राज्यले लगानी गर्ने बताए । यसका लागि लगानी कसरी गर्न सकिन्छ भन्नेतर्फ आयोगले गृहकार्य गरिहेको जनाए ।
दुर्गम हिमाली क्षेत्रका सुरक्षा निकायलाई पूर्वाधार उपयुक्त नहुँदा कठिनाई भईरहेको उल्लेख्य गर्दै आयोगका उपाध्यक्ष पौडेलले प्रहरीहरुको सुरक्षा संरचनालाई सुविधा सम्पन्न बनाईने जानकारी दिए । हिमाली क्षेत्रमा मुखिया प्रथा र तराईमा पञ्चायत प्रथा रहेकाले यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । यस्ता प्रथाहरुमा कतिपय फौजदारी मुद्धा न्यायिक निकायमा आउन नसक्दा पीडित मर्कामा पर्ने गरेको उल्लेख्य गर्दै यसमा सामाजिक सचेतना बढाउन निर्देशन दिए ।
आयोगका उपाध्यक्ष पौडेलले शिक्षा ,स्वास्थ्य लगायतका क्षेत्रलाई प्रभावकारी बनाउन आयोग कटिबद्ध रहेको जनाए । समाजमा महिला हिंसा र जातीय हिंसाका घटनालाई सुन्य सहनशीलतामा ल्याउन जोड दिए ।