बागलुङ, १८ फागुन – धौलागिरी आयुर्वेद औषधालय बागलुङले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सुरु गरेको छ । सदरमुकाममा रहेका विद्यामन्दिर मावि र आदर्श विद्यामन्दिर माविका शिक्षकहरुलाई अभिमुखीकरण तालिम दिएर कार्यक्रमको सुरुवात गरिएको हो ।
कार्यक्रममा विद्यामन्दिर माविका स्वास्थ्य तथा शारीरिक शिक्षक, नर्सिंङ कर्मचारी र प्रधानाध्यापक तथा आदर्श विद्यामन्दिरका स्वास्थ्य तथा शारीरिक शिक्षक र प्रधानाध्यापक एवं शिक्षा तथा समन्वय एकाई बागलुङबाट एक जना प्रतिनिधि सहभागी रहेका छन् ।
निर्देशिका अनुसार २ वटा विद्यालयको छनौट शिक्षा तथा समन्वय एकाई बागलुङले गरेको थियो । तालिम ४ दिनसम्म संचालन हुनेछ । तालिमपछि विद्यालयहरुले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले तयार गरको ‘विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम’ अनुसार १९ वटा कक्षाहरु ८, ९ र १० कक्षाका विद्यार्थीहरुलाई हप्तामा १ कक्षा हुनेगरी १९ हप्तामा सम्पन्न गर्नुपर्ने हुन्छ ।
निर्देशिकामा ४ वटा आयुर्वेद तथा स्वस्थ जीवनशैली, ५ वटा भान्सा तथा घर वरिपरी पाईने औषधीय जडीबुटीहरु र १० वटा योग सम्बन्धी कक्षाहरु सामेटिएका छन् ।
महाशिवरात्रीको अवसर पारेर औषधालयले कार्यक्रमको उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रम औषधालयका प्रमुख डा.सरोज कुमार रायको अध्यक्षता, शिक्षा तथा समन्वय एकाई बागलुङका प्रमुख कुस्मराज उपाध्यायको प्रमुख आतिथ्यता, औषधालय संचालन तथा व्यवस्थापन समतिका सदस्य ललिता थापा, पतंञ्जली योग समिति बागलुङका अध्यक्ष हिरा बहादुर केसी, विद्यालयका प्रधानाध्यापकहरुको आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य औषधालयका वैद्य निरीक्षक एकराज ढुंगानाले गरेका थिएभने औषधालयका बरिष्ट कविराज निरीक्षक डा. कमल विक्रम पौडेलले कार्यक्रम संचालन गरेका थिए ।