पोखरा, १९ फागुन – पैदलयात्रीको लागि बनाइएको फेवा किनारको बाटो (फुट ट्रयाक) अतिक्रमणको चपेटमा परेको छ । ताल किनारमा खुलेका रेष्टुरेण्टहरुले पैदलयात्रीलाई अल्झाउने गरी बाटो अतिक्रमण गरेका छन् भने ताल अवलोकन गर्ने ठाउँमा पनि कुर्सी टेबुल राखेका छन् ।
करिब १० रेष्टुरेण्टले आफ्नो टेबल तथा कुर्सी फेवा किनारमा राख्दा ट्रयाकमा हिड्ने पर्यटकले निकै सास्ती खेप्नुपरेको छ । सबैभन्दा बढी पर्यटक घुम्ने क्षेत्र नै त्यसरी कब्जा हुँदासमेत स्थानीय तथा सम्बन्धित निकाय मौन देखिएको छ ।
पोखरा महानगरपालिका नगर प्रहरी निरीक्षण प्रमुख तथा वरिष्ठ कानून अधिकृत नारायणप्रसाद शर्माले फेवा किनारमात्र नभई कुनै पनि सार्वजानिक स्थान कब्जा गर्नु गैरकानूनी रहेको सुनाए । उनले फेवाताल पटक-पटक अतिक्रमणमा पर्दै आइरहेको स्वीकारे ।
‘हामीले पनि फेवा किनारमा अस्थायी संरचना बनाएको भन्ने कुराहरु सुन्ने गरेका छौँ तर हामी जादाँ त्यहाँ केही देखिदैन् । नगर प्रहरी पुग्दा सबै उठिसकेका हुन्छन्,भाग्छन्’, उनले भने,‘हामी त्यसलाई तत्कालै हटाउने तयारी गर्छौँ ।’

फेवातालको नक्साङकन तथा सिमाङकनको काम समेत सकिएर प्रतिवेदन तयार भइसक्दा समेत फेवातालको मापदण्ड निर्धारण नहुँदा अतिक्रमण बढ्ने प्रक्रिया नरोकिएको उनको बुझाइ छ । उ
ता, पोखरा महानगरपालिका ६ का वडाध्यक्ष जगतबहादुर पहारीले पटक–पटक वडा र महानगरपालिकाले हटाउन आग्रह गर्दा पनि हटाउने र पुनः राख्ने काम भएको गुनासो गरे ।
‘पटक-पटक व्यवसायीलाई पैदलमार्ग भन्दा तल्लो क्षेत्रमा व्यवसाय नगर्न अनुरोध गर्दै पत्रचार समेत गरेका छौँ तर राख्ने प्रवित्ति भने हटेको देखिएन्’, उनले भने,‘फेवाताल सफा गर्नका लागि कर्मचारी नै खटाएका छौँ । उनीहरुलाई एक संस्थाले खटाएको हो ।’ वडाध्यक्षले कर्मचारी खटाएको बताए पनि फेवा किनार फोहर हुने क्रम भने बढ्दो छ ।