१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

फलेवास नगरपालिकाको स्थायी कार्यालय कायम


जनमञ्च संवाददाता
  • २० फाल्गुन २०७८ , शुक्रबार

  • फलेवास नगरपालिकाको स्थायी कार्यालय कायम

    पर्वत, २० फागुन – देश संघीयतामा गएर स्थानीय तह निर्माण भएको पाँच वर्ष हुनै लाग्दा पर्वतको फलेवास नगरपालिकाले हालै मात्र स्थायी कार्यालय पाएको छ । स्थापनाको बेलामा मोति पुस्तकालयको भवनमा कार्यालय राखेर नगरपालिकाका कामहरू सम्पादन हुँदै आएको भए पनि भवन साँघुरो हुँदा सेवा प्रभावकारी हुन सकेन। त्यसपछि नगरपालिकाको कार्यालय फलेवास सिँचाइ आयोजनाको कार्यालयमा सरेको थियो ।

    फलेवास नगरपालिका-५ खानीगाउँ झकलकमा अस्थायी रूपमा संरचना निर्माण गरेर अब भने कार्यालय स्थायी रूपमा रहने गरी काम सुरु गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण श्रेष्ठका अनुसार झकलकमा अस्थायी रूपमा संरचना निर्माण गरी बुधवारबाट सेवा शुभारम्भ गरिएको छ । अस्थायी रूपमा हलसहित १० वटा कोठा निर्माण गरेर अस्थायी रूपमा कार्यालय रहेको सिँचाइ कार्यालयबाट करिब एक किलोमिटर टाढाको दूरीमा कार्यालय सारिएको हो ।

    केन्द्रका कारण विवाद र समस्यामा पर्दै आएको नगरपालिकाको केन्द्र स्थायी बनेसँगै फलेवास नगरपालिकाका करिब एक दर्जन सामाजिक संघ–संस्थाहरूले जनप्रतिनिधिहरुलाई सम्मानसमेत गरेका छन्। नागरिक सम्मान ग्रहण गर्दै नगरप्रमुख पदमपाणी शर्माले जनताको अपेक्षा र भावनालाई बुझेर काम गरेका कारण आफूहरू नगरवासीको मनमा बसेको बताए । आफ्नो कार्यकालमा उपलब्धिमूलक कामहरू भएको उनले जिकिर गरे ।

    कार्यपालिकाको बहुमतको आधारमा अस्थायी रूपमा फलेवास–५ खानीगाउँमा रहेको केन्द्र सोही वडाको झकलकमा सार्ने निर्णय भएको थियो । नगरपालिकाको नगर सभाले केन्द्रको संरचना झकलकमा राख्ने निर्णयका विरुद्ध उपप्रमुख मञ्जु अधिकारीले गत वर्षको चैत २२ मा नगर सभा, कार्यपालिका, नगरप्रमुखसहितलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

    लगत्तै २०७७ चैत २५ गते भवन निर्माणको काम अघि नबढाउन भन्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि केन्द्र सार्ने कुरा अलमलमा परेको थियो । तर नगरप्रमुख शर्मा नेतृत्वको समूहले सर्वोच्चको आदेशविरुद्ध आदेश खारेज गर्न माग गर्दै २०७८ वैशाख नौ गते मुद्दा दर्ता गराए । सर्वोच्चकै आदेशविरुद्ध नगरप्रमुख शर्माले दायर गरेको पुनरावलोकन मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुरानो अन्तरिम आदेश खारेज गर्दै झकलकमा भवन निर्माणको काम अघि बढाउने बाटो खुलाइदिएको थियो ।

    भवन निर्माण स्थलका विषयमा भएको विवादका कारण लामो समयदेखि रोकिएको प्रशासनिक भवन निर्माण काय भने अहिले तीव्र गतिमा अगाडि बढेको छ । जुम्ले थान एन्ड आचार्य विल्डर्स प्रालि बागलुङले निर्माणको जिम्मा लिएको भवनमा भवन ४२ ओटा कोठाहरू बन्नेछन् । नौ करोड बढीको लागतमा डेढ वर्षमा निर्माण कार्य पूरा गर्ने गरी गत भदौमा नगरपालिका र निर्माण कम्पनीबिच सम्झौता भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend