पर्वत, २३ फागुन – गुराँसका रुखहरुले टम्म भरिएको अग्लो पहाड । गोठाला र गाईवस्तुबाहेक हिउँदको समयमा गृहणीहरु झरेका गुँरासका पात लिन त्यहाँ पुग्थे । साना रुखको घनाजंगल भएकाले घाँस नउम्रिने, घसेनीहरु कमै पुग्थे त्यहाँ । फलेवास नगरपालिका–१ कार्कीनेटामा रहेको थामाको जुरो अग्लो पहाड फलेवास नगरकै शिर हो । जहाँबाट अनेकौं हिमश्रृंखला र समथर बस्तीहरु देख्न सकिन्छ ।
त्यहिं पहाड (थामाको जुरो) अहिले समथर भएको छ । यो पहाडमा अब बिसौनी खोज्नेहरु, कोलाहालबाट टाढा बस्न चाहने, घुम्न र रमाउन चाहनेहरु सहजै पुग्ने छन् । सडक र पैदलमार्गको पहुँचले उनीहरु त्यहाँ पुग्न सहज हुनेछ ।
फलेवास नगरपालिकाले आफ्नो कार्यकालको पहिलो बर्षदेखिनै महत्वपूर्ण योजनाको रुपमा विकास गरेको मोहन–मोहन शान्ति बाटिका यहाँ बन्दै छ । पहाड सम्याएर बनेको समथर भू–भागमा धमाधम संरचना निर्माणको काम भैरहेकाले आउँदो असारसम्ममा बाटिका केही हेर्न लायक बन्ने नगरप्रमुख पदमपाणी शर्माले बताए । संघीय सरकारको पाँच करोड अनुदानमा अहिले १ सय ३० मिटर लम्वाई र १ सय मिटर चौडाइ भएको मैदान तयार भएको छ ।
‘भर्खरैका लागि शान्ति बाटिकाको उपलव्धीको बिषयमा प्रश्न उठ्लान तर हामीले गरेको विकास आजका लागि होईन भोलिका लागि हो ।’ शर्माले भने ‘हाम्रो जीवनशैली र जिवन पद्धतीमा शान्ति, मनोरञ्जनका लागि आवश्यक बाटिका निर्माण गरिरहेका छौं, यो फलेवासको गौरव हो ।’
बाटिका परिसरमा ३ सय जना अट्ने सभाहल निर्माण भैरहेको छ । तत्कालका लागि एक तला निर्माण थालिएको हल तीन तलाको बनाउने योजना छ । बाल उद्यान, पानीका फोहोरा, बगैँचा, बिभिन्न मुर्तिहरु यो परिसरमा निर्माण हुने इञ्जिनियर केशव चालिसेले बताए । १२ करोड रुपैयाँको बिस्तृत परियोजना प्रतिवेदन रहेको बाटिका निर्माणका लागि नगरपालिकाले सडकको पहुँच त्यहाँ पुर्याएको छ ।
डिपिआर अनुसारका संरचना निर्माणका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने नगरको योजना छ । ‘हामी पर्यटनको विकास भन्छौ हाम्रा घुम्ने ठाउँ कहाँ छन्, पहिले घुम्ने ठाउँ बनाए पो पर्यटक आउँछन्, त्यसैको नमुना हो मोहन–मोहन शान्ति बाटिका’ नगर प्रमुख शर्मा भन्छन् ‘प्रयोगबिहिन ठाउँलाई घुम्न मिल्ने बनाउने योजना हो, यो फलेवासको महत्वपूर्ण पर्यटकीय स्थल बन्ने छ ।’
कार्यकालको पहिलो बर्ष नै बुटवलमा घुम्न पुगेका नगरप्रमुख शर्माले त्यहाँ बाटिका देखेपछि कार्कीनेटामा बाटिकाको योजना बनाएका थिए । डहरे देउराली पुग्ने पर्यटकको बाटोमा पर्ने भएकाले बाटिका उपयोगी बन्ने नगरको आशा छ । कार्कीनेटा बजार र थापाठाना बजारको समेत नजिकैमा पर्ने भएकाले शहरीया कोलाहालबाट शान्ति खोज्नेहरुका लागि बाटिका उपयोगी हुने विश्वास स्थानीय सिता केसीको छ ।