बागलुङ, २३ फागुन – बेरोजगार महिलालाई स्वरोजगार बनाउन गलकोट नगरपालिकाले कुसन तथा डल बनाउने तालिम दिएको छ । गलकोट नगरपालिका वडा नं. ६ का २० महिलाका लागि १५ दिने तालिम दिइएको हो ।
यो तालिमबाट महिलाले स्वरोजगार बन्नकालागि सामान बनाउने सिप सिकेको बताए । ‘घरधन्दामा मात्रै थियौं, तालिम आएको रहेछ, यसले केही फाइदा पुग्ने आस गरेका छौं’ स्थानीय लक्ष्मी रेग्मीले भनिन्, ‘सीप सिकेपछि घरमा बसेर पनि कमाइ गर्न सकिने रहेछ ।’ उनले तालिमको सीप मर्न नदिने बताइन् ।
स्थानीय सन्तु बस्नेत त यो सीपलाई व्यवसायिक बनाउने बताइन् । उनले बजार खोजेर व्यपार नै गर्ने लक्ष सुनाइन् । ‘अरु दिदी बहिनीले पनि काम गर्नु भयो भने मैले समेत गरेर बजारमा बेच्ने योजना बनाएकी छु’ उनले भनिन्, ‘गलकोट बजारमा पनि ती सामानको राम्रो बिक्री हुने गरेको छ ।’ बाहिरबाट आएका सामान बेच्नेलाई स्थानीय उत्पादन दिन सके धेरैको रोजगारी बढ्ने बताइन् ।
गलकोट नगरपालिकाले महिला उद्यमी प्रवद्र्धन कार्यक्रम ल्याएको छ । उपप्रमुख उद्यम बिकास कार्यक्रम सँगै टोलटोलमा पनि उद्यमी बढाउने लक्ष राखिएको उपप्रमुख रेणुका काउचाले बताइन् । उनले हरेक महिला उद्यमी बनेर कमाउन सक्ने भएमा हिंसा समेत अन्त्य हुने बताइन् । ‘सचेतनाका कार्यक्रममा मात्र गरिएको लगानी भन्दा हरेक महिलालाई उत्पादनमा जोड्दा हिंसा कम हुन्छ भन्ने लक्षले यस्ता गतिविधि गरेका छौं’ उनले भनिन्, ‘अघिल्लो बर्षपनि एकसयबढी महिलालाई त व्यवसायिक बनाइसकेका छौं ।’
चालु बर्ष ५० महिला उद्यमी बढाउने योजना उनले सुनाइन् । हरेक बर्ष ५० देखि १ सय जना महिला उद्यमी बढ्दा घरघरमा आम्दानीका श्रोत बढ्ने उनले सुनाइन् । दक्ष प्रशिक्षक ल्याएर तालिम दिएकोले कतिपयले समयमै काम थालेर कमाइ गर्न थालेका छन् ।
‘पोहोर मैले तालिम दिएका धेरै दिदी बहिनीले काम थालेर पैसा कमाएको देखें’ प्रशिक्षक सोनिया राइले भनिन्, ‘बेरोजगार बस्नेकालागि यो उपयोगी सीप हो ।’ वडा नं. ६ का लागि मात्रै ३ लाख रुपैयाँ लगानी गर्दा २० जना दक्ष उद्यमी उत्पादन भएको उनले जानकारी दिइन् । नगरपालिकाले उद्यममा लाग्नेलाई व्यवसाय कर्जा दिने योजना समेत बनाएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।