म्याग्दी, २३ फागुन – म्याग्दीमा वर्षौदेखि सार्वजनिक जग्गा अतिक्रमण गरी निजी बनाउने क्रम बढ्दै गएको गुनासो व्यापक बनेपछि बल्ल अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गर्न थालिएको छ ।
बेनी नगरपालिका भित्रका प्रायः सबै वडाहरुमा सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत बनाउनेको संख्या उल्लेख्य रहेपनि अहिले बेनी नगरपालिका–८ स्थित कालीपुलबाट अतिक्रमित सरकारी जग्गा पहिचान गरी फिर्ता गर्न सार्वजनिक जग्गा अतिक्रमण गरेका व्यक्तिहरुलाई ताकेता गरिएको हो । नगरपालिका भित्रका सबै वडाहरुमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न सम्वन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।
बेनीको पुरानो कालीपुल बजारमा रहेको सार्वजनिक जग्गा ब्यक्तिले ओगटेपछि वडा नम्वर ८ का जनप्रतिनिधि र नापी कार्यालयको प्राविधिक सहयोगमा छुट्याएको सार्वजनिक जग्गा फिर्ताका गर्न धरधनीलाई ताकेता गरिएको हो ।
कालीपुलस्थित पुरानो पुल नजिकमा घरको सिमानासंग जोडिएको सार्वजनिक जग्गा घरधनिले कालीगण्डकी किनारसम्मै ओगटेपछि नगरपालिकाले नापी कार्यालय म्याग्दीको प्रविधिक सहयोगमा सार्वजनिक जग्गा छुट्याइएको बेनी नगरपालिका प्रवक्ता एवम् वडा नम्वर ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले बताए ।
‘ब्यक्तिसंग जोडिएको साँधसिमानामा रहेको सार्वजनिक जग्गा ६ जना घरधनिले ओगटेको भेटिएको अध्यक्ष बराईलीले भने । ‘सार्वजनिक जग्गा ओगटेका घरधनीलाई पत्र काटेर वा फोनमार्फत जानकारी गराएर सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गरेको छौ ।’
वडाध्यक्ष बराईलीसहित वडा सदस्यद्धय हिरा पुन र हिमबहादुर भण्डारीको उपस्थित, नापी कार्यालयका सर्वेक्षक नारायप्रसाद पौडेल र अमिन निरोज गिरीको प्राविधिक सहयोगमा ब्यक्तिले ओगटेको सार्वजनिक जग्गा छुट्याएका थिए । नदीको किनारमा रहेको सार्वजनिक जग्गामा बाल उद्यान बगैचासंगै कालीपुल बसर्पाकमा पुग्ने पैदलर्माग खोल्ने वडाको योजना रहेको अध्यक्ष बराईलीले भने ।
‘यस आर्थिक बर्षमा नगरपालिकाबाट विनियोजन भएको ४ लाख रुपैयाँ बजेटबाट सार्वजनिक जग्गा घेराबार गर्ने छौ । आगामी आर्थिक बर्षमा नगरपालिकाबाट थप बजेट विनियोजन गरेर बाल उद्यान बगैचाको पुर्वाधार निर्माण योजना रहेको छ’ बराइलीले भने । सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण बढ्दो छ । अतिक्रमित सार्वजनिक जग्गा नगरपालिकाले फिता गर्न चासो देखाएको छैन ।