लमजुङ, २४ फागुन – लमजुङको सुन्दरबजार नगरपालिका-९ फूलबारीमा सडकको नाली बनाउने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर एकजना कामदारको मृत्यु भएको छ ।
बेंसीसहर-डुम्रे सडकमा पर्ने उक्त सडकमा नालीलाई गहिरो पारेर खोल्सातिर पानी लानको लागि डाइभर्सन बनाउने क्रममा मंगलबार अपरान्ह ढिस्को खसेको हो । नाला गहिरो खनेको र एक्साभेटरले खन्दै ह्युमपाइप लगाउँदै आएकोमा एक्कासी माथिबाट ढुंगामाटोको ढिस्कोले २ जना कामदारलाई पुरेको थियो ।
पुरिएकामध्ये मकवानपुरको मनहरी गाउँपालिका २ का ४० वर्षीय सुरेश स्याङ्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै काम गरिरहेका मनहरी २ कै ३१ वर्षीय सूर्यबहादुर स्याङतान घाइते भएका छन् । उनको भोटेओडार अस्पतालमा उपचार गराइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पाउँदीबाट सिउँडीबारतर्फ आउने बाटोको बायाँपट्टी नाला खनिएको थियो । नालामाथि पहिरो रहेको र नाला खन्ने क्रममा पहिरो आएर २ जनालाई पुरेको हो । पुरिएका २ जनाको स्थानीय र प्रहरीले उद्दार गरेका थिए । अपरान्ह साढे ४ बजेतिर उक्त घटना घटेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि बेंसीसहरस्थित जिल्ला अस्पतालमा राखिएको छ ।