१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026
विद्यार्थी मृत्यु प्रकरण

लमजुङ प्रहरीले जाहेरी लिएन, पीडित पक्ष आन्दोलित


जनमञ्च संवाददाता
  • २६ फाल्गुन २०७८ , बिहिबार

  • लमजुङ प्रहरीले जाहेरी लिएन, पीडित पक्ष आन्दोलित

    लमजुङ, २६ फागुन – लमजुङको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयमा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको छ ।

    तनहुँको भानु नगरपालिका-९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माविका संचालक बाबुराम पौडेल, वार्डेन सरोज अमलिया र एक विद्यार्थीविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिन पुगेका थिए ।

    प्रहरीले उक्त घटनामा भवितव्य दुर्घटना मुद्दा आकर्षित हुने भन्दै कर्तव्य ज्यान मुद्दाको जाहेरी लिन नमानेको हो ।

    फ्युचर स्टारमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार मर्स्याङ्दी नदीले बगाउँदा मृत्यु भएको थियो । होस्टेलमा बस्दै आएका सनिजलाई बोलाएर होस्टेल वार्डेनले पौडी खेल्न लगेको, पौडी खेल्नेक्रममा सनिजलाई अगाडि सारको र होस्टेलमा बसेका छोरालाई मर्स्याङ्दीमा पौडी खेल्न जान स्कुल संचालकले स्वीकृति दिएको भन्दै पीडितले परिवारले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका हुन् ।

    डीएसपी कृष्णबहादुर कार्कीले घटनाको अवस्था हेर्दा भवितव्य दुर्घटनाको मुद्दा आकर्षित हुने देखिए पनि पीडित परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी दिएको र अनुसन्धान गर्छु भन्दा पनि प्रहरीलाई अविश्वास गरेको बताए ।

    ‘घटना एउटा र मुद्दा अर्को भयो । भवितव्य दुर्घटना मुद्दामा अनुसन्धान गर्दै जाँदा कर्तव्य भएको देखिएमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा लगाउन मिल्छ । उहाँहरुले अहिले नै कर्तव्य ज्यानकै मुद्दा चलाउनुपर्छ भनेर जाहेरी दिएपछि लिन सकिएन,’ उनले भने । उनका अनुसार स्कुलका संचालक बाबुराम पौडेल, वार्डेन सरोज अमलिया र एक विद्यार्थी प्रहरीको निगरानीमा छन् । उनले उजुरी सच्याएर ल्याउन आग्रह गरिएको बताए ।

    प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पीडितले दिएको उजुरी र मुद्दाको शीर्षक नमिल्दा उजुरी नलिएको भन्ने जानकारी आएको बताए । ‘उजुरीको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने ।

    प्रहरीले उजुरी नलिएको भन्दै पीडित पक्षले तनहुँको बाइसजाँगरमा सडक अवरुद्ध पारेको छ । पीडित परिवारका आफन्त अमृत श्रेष्ठका अनुसार प्रहरीले उजुरी नदिएपछि बाध्यताले सडक अवरुद्ध पार्नु परेको बताए ।

    उनले भने, ‘प्रशासनमा भएको सहमतिअनुसार हाम्रो उजुरी लिनुपर्थ्यो, नलिएपछि हामीले बन्द गर्‍यौं ।’ उनका अनुसार बुधबार लमजुङ प्रशासनमा भएको पीडित, पीडक र प्रशासनबीचको सहमतिअनुसार पीडितले उजुरी दिने र प्रहरीले मुद्दा चलाउने सहमति भएको थियो ।

    बाइसजाँगरका स्थानीयले बन्द गराएपछि डुम्रे–बेंसीसहर सडक खण्ड बिहीबार साँझबाट अवरुद्ध भएको छ । प्रहरी चौकी पुर्कोट बाइसउजाँगरका असई भरत थापाका अनुसार आफ्ना माग पूरा नभएको भन्दै स्थानीयले बाटो अवरुद्ध बनाएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले बाइसजाँगरका स्थानीयले सडक बन्द गराएकोबारे जानकारी आएको बताए । उनले स्थानीयसँग समन्वय गरी सडक खुलाइने बताए ।

    स्कुलको लापरबाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै बाइसजाँगरका स्थानीयले मंगलबार विद्यालयको गेट, २ वटा स्कुल बसको सिसा, एउटा भ्यानको सिसा तोडफोड गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अस्रुग्यास, हवाइफायर र लाठीचार्ज गरेका थिए । स्थानीयले प्रदर्शन चर्काउने सूचाना पाएपछि अप्रिय घटना हुन नदिने भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार बिहान ६ देखि राति ९ बजेसम्म स्कुल भएको सिउँडीबार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

    पीडितले बाइसजाँगरमा टायर बालेर दिनभर सडक अवरुद्ध पारेको थियो । प्रशासनमा भएको वार्तामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिने र मुद्दा चलाउने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएर मृतकको शव बुझेको पीडित परिवारले बताएको छ । तर, उजुरी नै नलिएपछि पुनः आन्दोलन गर्नु परेको पीडित परिवारले बताएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend