कुश्मा, १ चैत – पर्वतको फलेवास नगरपालिका-५, देवीस्थानमा ज्येष्ठ नागरिक सामुदायिक भवन बनेको छ । भवनको सोमबार फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले उद्घाटन गरे ।
नगर प्रमुख शर्माले कतिपय परिवारमा ज्येष्ठ नागरिकहरुलाई हेय भावका रुपमा हेर्ने त कतिपयलाई बृद्धाश्रममा जान बाध्य पार्नेजस्ता काम भइरहेकोमा दुखेसो व्यक्त गरे ।
फलेवास नगरपालिका प्रवक्ता टीकाराम गौडेलले ज्येष्ठ नागरिक भवनहरुले झनै सहज हुने बताए । जेष्ठ नागरिक भवनमा बृद्ध पुस्ताहरुले मन बहलाउन सक्ने उनको भनाइ छ ।
भवन उद्घाटनकै अवसर पारेर देवीस्थानका जेष्ठ नागरिकहरु सय वर्षीय रत्नबहादुर थापा र ९५ वर्षीय भिमप्रसाद रेग्मीलाई सम्मानित गरिएको छ ।
सोही अवसरमा जेष्ठ नागरिक भवनलाई भजनमा प्रयोग हुने वाद्यवादन सामग्रीहरु तथा आमा समूहलाई स्ट्रेचर हस्तान्तरण पनि गरिएको देवीस्थानका वडाध्यक्ष भोलानाथ भुसालले जनाए ।