पोखरा, १ चैत – पोखरामा बनेको अन्नपूर्ण केवलकारले आज विहानैदेखि सूर्यदर्शन सेवा सञ्चालनमा आएको छ । सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर आजबाट बिहान ५ बजेदेखि सञ्चालन गरिएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।
पोखरा-१८ सेदीदेखि सराङकोट जोड्ने केवलकार बिहान ५ बजेदेखि सांझ ६ बजेसम्म संचालनमा आउनेछ । बिहानी सेवा संचालनसंगै पयर्टकहरुले बिहानको सूर्योदयको दर्शन तथा सांझ सूर्यास्तको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

अन्नपूर्ण केबलकारको दुरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ । केबलकारको यात्राबाट सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १०मिनेट भित्रमा नै पार गर्न सकिने छ ।
यो केबलकारमा १७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा आठ जना सम्म बसेर यात्रा गर्न सकिन्छ । कम्पनीले केबलकारमा यात्रा गर्नेलाई नेपालीका लागि ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय रुपैयाँ र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरेको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भाडा दरमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
विधार्थीका लागि २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भ्रमणमा आउने सदस्यहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।