पोखरा, ८ चैत – लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सव ६ करोड ४५ लाख रुपैयाको कारोबार गर्दै सकिएको छ । महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिए ।
महोत्सवको समापन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले व्यापारिक मेला महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । मन्त्री शर्माले गण्डकी प्रदेश सरकारले पोखरामा वैकल्पिक औद्योगिक क्षेत्रका रुपमा पुणिटारमा संभाव्यता अध्ययन गरी कार्य अगाडी बढाएको उल्लेख गरे ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले व्यवसायीक सुरक्षाका लागि स्थानीय प्रशासनले सहयोग गर्ने प्रतिद्धता गरे । नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाले मेला महोत्सवले सरकारले आयोजना गर्नु पर्नेमा जोड दिए । संघले आगामी बर्षका लागि समेत महोत्सवका मिति घोषणा गरेको छ ।