१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

बाबुको नाम नचढाएको भन्दै बागलुङ प्रशासनले छोरीलाई दिएन नागरिकता


जनमञ्च संवाददाता
  • १३ चैत्र २०७८ , आइतबार

  • बाबुको नाम नचढाएको भन्दै बागलुङ प्रशासनले छोरीलाई दिएन नागरिकता

    बागलुङ, १३ चैत – जन्मदर्तासहित बाबुआमाको नागरिकता पेस गरेकी बागलुङ नगरपालिका-१२ अमलाचौरकी एक युवतीले नागरिकता बनाउन सकिनन् । ५ दिनदेखि प्रशासन धाउँदा पनि उनी नागरिकना नबन्दा दिग्दार भएकी छन् ।

    आमाको नागरिकतामा बाबुको नाम नचढाएको र बाबुको निवेदन नआएको भन्दै प्रशासनले नागरिकता नदिएपछि बागलुङ नगरपालिका-१२ अमलाचौरकी अल्सा बेगमले नेपाली नागरिकताको प्रमाणपत्र नपाएकी हुन् ।

    उनी काठमाडौंको पद्मकन्या क्याम्पसमा बीएएलएलबी अध्ययनरत छिन् । छात्रवृत्तिका लागि उनलाई नागरिकता आवश्यक भएपछि बनाउन आएकी थिइन् । ५ दिनदेखि आमा तायरा बेगम र उनी होटलमा बसिरहेका छन् ।

    बेगमका बाबु १४ वर्षयता बेपत्ता छन् । खर्च र समयको बर्बादी भए पनि प्रशासनले भने आमाको नागरिकतामा बाबुको नाम चढाउनुपर्ने, त्यसका लागि बाबुको निवेदन चाहिने भन्दै फर्काउने गरेको छ । उनका बाबु कहाँ छन् भन्ने पत्तो छैन ।

    ‘म सानो छँदैमा हराउनुभएको रहेछ, अहिलेसम्म भेटेका छैनौं,’ बेगमले भनिन्, ‘बाबु हराएको भन्ने वडा मुचुल्का पनि बनाएका छौं, तर प्रशासनले नागरिकता दिन मानेन ।’ आमाको नाउँमा नागरिकता बनाउन पाउने व्यवस्था भए पनि नपाएको उनले गुनासो गरिन् ।

    बेगमकी आमाले विवाहअघि नागरिकता बनाएको, विवाहपछि नाम नचढाएकोले छोरीले यो सास्ती खेपेकी हुन् । प्रमुख जिल्ला अधिकारी रमेश ढकालले कागजात पुगेको भए नागरिकता बन्नुपर्ने बताए । ‘म कहाँ आइपुगेको छैन, नागरिकता फाँटबाटै केही अप्ठेरो पारिएको भए म खोजी गर्छु,’ ढकालले भने, ‘शंकास्पद भएमा अनुसन्धान गर्ने, वडा र प्रहरीको मुचुल्का चाहिने प्रावधान छ ।’

    बेगमले आमाबाबुकै नागरिकता, जन्मदर्ता, प्रहरी र वडा मुचुल्कासमेत पेस गरेकी छन् । ‘मलाई पटकपटक बाबु खोइ भन्छन्, बाबुको निवेदन लिएर आइजा भन्छन्,’ उनले भनिन्, ‘नभएको बाबु कताबाट खोजेर ल्याऔं ?’ क्याम्पसमा नागरिकता चाहिएर आएको र प्रशासनमा भने सास्ती खेपेको उनले बताइन् ।

    २०५९ भदौ २७ गते जन्मेको उनको जन्मदर्ता छ । तत्कालीन अमलाचौर गाविस सचिव भवीदत्त पन्तले उनको जन्मदर्ता गराएको रेकर्ड पेस गरेकी छन् । गृह मन्त्रालयले २०६८ भदौ ५ मा परिपत्र जारी गरेर आमाको नाउँबाट पनि नागरिकता दिन सबै प्रशासनलाई निर्देशन गरेको थियो ।

    परिपत्रमा बाबु वा आमा नेपाली नागरिकता भएमा एकको नाउँबाट नागरिकता दिन सकिने उल्लेख छ । प्रशासकीय अधिकृत सूर्यलाल विकले बेगमको नागरिकता बनाउन कुनै अवरोध गर्न नमिल्ने बताए । ‘मेरै सहकर्मी काम गर्न अप्ठ्यारो मान्छन्,’ विकले भने, ‘पुरानो संस्कार अझै गएको छैन ।’

    कानुनले नेपालमा जन्मेको जोसुकैलाई नागरिकता दिने व्यवस्था गरेकोमा सबै कागज पुगेकालाई पनि अप्ठ्यारो पारेको उनको टिप्प्णी छ । आमाको नाउँमा नागरिकता बनाउन पाइने भने पनि प्रशासनले बाबुको अनिवार्य खोजी गर्छ । ‘भएकाले बाबुआमा लैजान्छन्, बाबु नहुनेले के लैजाने ?’ बागलुङ-३ की अध्यक्ष लक्ष्मी बाँस्कोटाले भनिन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend