बागलुङ, १७ चैत बागलुङमा जारी पर्यटन तथा होटल व्यवसायीहरुका लागि तीन दिने व्यवसायिक तथा क्षमता अभिबृद्धि तालिम बुधबार सकिएको छ । तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिराध्वज शाहले होटल व्यवसाय जिम्मेबार व्यवसाय भएकाले पर्यटनसँग जोडिएर काम गर्न आग्रह गरे ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्थानीय सरकार सधैं व्यवसायीको साथमा रहेको बताए । उनले नजिकको सरकारका हिसाबले सधैं सहयोग गरिरहेको भन्दै अर्थपार्जन हुने गरी हुने गतिबिधिमा सकृयता बढाउनु पर्नेमा जोड दिए ।
तालिममा बागलुङ, कुश्मा र बेनी बजारमा होटल तथा रेष्टुँरा व्यवसाय गर्दै आएका ५५ जना व्यवसायीको सहभागिता रहेको थियो । होटल व्यवसायी संघ गण्डकी प्रदेश समितिले नेपाल पर्यटन बोर्डको प्रायोजनमा कार्यक्रम आयोजना गरेको हो । तालिममा सहजीकरण पर्यटनविद प्रकाश रेग्मीले गरेका थिए । होटल तथा रेष्टुँरा व्यवसायी संघ बागलुङ र पर्यटन विकास समिति बागलुङले कार्यक्रममा समन्वय गरेका थिए ।
समापन कार्यक्रमको अध्यक्षता होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, स्वागत होटल तथा रेष्टु्ँरा व्यवसायी संघ बागलुङकी सचिव कविता बस्नेत र सञ्चालन महासचिव डिलेन्द्र लम्सालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा ललिता थापा, नरेश कँडेल, राजु खड्का, कमल प्रसाद न्यौपानेले बोलेका थिए ।