पर्वत, १७ चैत – वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनले चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गइरहेको छ । राजनीतिक दलहरू प्रचारप्रसार, संगठन विस्तार, फरक पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउन तँछाडमछाडको अवस्थामा छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनको बेलामा गाउँ गाउँ पसेका नेता तथा कार्यकर्ताहरू उसै गरी झन्डा फहराउँदै टोल टोलमा देखिन थालेका छन् । चुनावी सरगर्मीको यही माहौलमा सात ओटा स्थानीय तहहरू रहेको पर्वतमा कुल १९ राजनीतिक दलहरूबिच प्रतिस्पर्धा हुने भएको छ ।
चुनाव चिन्हको लागि जिल्ला निर्वाचन कार्यालय आह्वान गरेको निवेदनमा ६ वटा प्रमुख ठुला राजनीतिक दलहरू बाहेक १४ वटा साना राजनीतिक दलहरूले निवेदन दिएका छन् ।
जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माका अनुसार राप्रपा नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) विवेकशील साझा पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस (बी.पी), मौलिक जरोकिलो पार्टी, नेपाल परिवार दल, नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाल दलित पार्टी र उन्नत लोकतन्त्र पार्टी गरी १४ साना दलहरू सक्रिय रहेका छन् ।
साना १४ बाहेक राष्ट्रिय रूपमा सक्रिय रहेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी त चुनावी मैदानमा छँदैछन् । राष्ट्रिय राजनीतिमा सक्रिय रहेको भए पनि लोकतान्त्रिक समाजवादी पार्टी भने पर्वतमा सक्रिय नरहेका कारण १९ दलहरू चुनावी मैदानमा होमिएका हुन् ।
राजनैतिक दलका रूपमा १९ प्रकारका उमेदवारहरु हुन सक्ने छन् भने स्वतन्त्र रूपमा चुनाव लड्न चाहनेहरु भएमा प्रतिस्पर्धी उम्मेदवारको संख्या अझै बढ्ने छ । पर्वतको राजनीतिक अवस्थालाई हेर्दा एमाले, कांग्रेस र माओवादी बलिया शक्ति हुन् । साना दलहरू आफैले उमेदवार खडा नगरेको अवस्थामा ठूला राजनीतिक दलको आड लाग्नुपर्ने हुन्छ ।
पछिल्लो पटकको अद्यावधिक तथ्याङ्क अनुसार पर्वतमा कुल मतदाताको संख्या एक लाख २२ हजार छन् । हालको मतदाता नामावलीमा कुल एक लाख २३ हजार १८५ जनाको नाम रहेको छ भने यो नामावली दाबी विरोधको लागि पठाइएको छ ।
जिल्ला निर्वाचन कार्यालयले जिल्लाका वडा कार्यालयहरूबाट सङ्कलन गरेको विवरणमा यी मध्येका ८५० जनाको मृत्यु भएको छ ।
यस्तै कतिपय मतदाताले दुईतर्फबाट मतदाता नामावलीमा नाम दर्ता गराएका कारण अहिलेको विवरणमा दोहोरो नाम भएकाहरूको नाम पनि हटाएर एउटा मात्रै कायम गरिने छ । मृत्यु भएका तथा दोहोरो परेकाहरूको नाम हटाउँदा कम्तीमा पनि एक लाख २२ हजार हजार मतदाता कायम हुने जिल्ला निर्वाचन अधिकारी शर्माले बताए । पाँच वर्ष अगाडि भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा करिब ९९ हजार जना मतदाता थिए ।
निर्वाचन गराउन वैशाखको २० गतेसम्ममा कर्मचारी खटाउने र वैशाख २८ गतेसम्ममा मतदान केन्द्रमा पठाउने गरी काम भइरहेको निर्वाचन अधिकारी शर्मा बताउँछन् । तयारी स्वरूप मतदान केन्द्र रहने भनिएका ठाउँमा रहेका भौतिक संरचना, त्यहाँको अवस्था, समस्या लगायतका बारेमा अध्ययन गर्ने काम भइरहेको र त्यसका लागि स्थानीय तहहरुसंग समन्वय गर्ने काम भइरहेको छ ।
यस्तै मत बदर नहुन भन्नका लागि विद्यालयहरूमा पुगेर मतदाता शिक्षा प्रदान, आम नागरिकसँग अन्तरक्रिया लगायतका कामहरू भइरहेको पनि शर्माले बताए ।
निर्वाचन कार्यालयले जिल्लाका ७४ स्थानमा कुल एक सय ५० ओटा मतदान केन्द्र राख्ने गरी तयारी गरिरहेको छ । निर्वाचन अधिकृत शर्माका अनुसार केही संख्या तलमाथि हुन सक्ने भए पनि एक हजार ६० जना मतदाता रहेको अवस्थामा एउटा मतदान केन्द्र रहने छ ।
जिल्लाका सबै केन्द्रमा गरेर कुल १२ सय जना कर्मचारीहरू खटाउने गरी तयारी भइरहेको छ ।