बागलु, १८ चैत –होटल व्यवसायी महासंघ गण्डकी प्रदेशले आयोजना गरेको ३ दिने तालिममा आएका पोखरा, स्याङजा, र काठमाडांैका व्यवसायीले पहिलोपटक पञ्चकोट गएर घुम्ने मौका पाए ।
उनीहरुले यहाँ निर्माणाधीन पूर्वाधार देखेर दंग पर्दै अब पर्यटक भित्राउने आर्कषक गन्तव्य बनेको बताए । उनीहरुले पोखरा आएका पाहुनालाई बागलुङ पठाउन पहल गर्ने समेत बताए । बागलुङमा पछिल्लो समय बनेका पूर्वाधार, होटल, होमस्टे र घुम्ने नयाँ गन्तव्यबारे जानकारी भएपछि पाहुना पठाउन सहमत भएका हुन् ।
पोखरा आइसकेको व्यवसायीले बागलुङ कालिका र पञ्चकोट तथा भकुण्डेसम्म अनिवार्य घुम्न सक्ने भएकोले एकदुई दिन बसाइँ लम्ब्याउन सकिने उनीहरुको ठहर छ । ‘यस्ता स्थानको प्रचारप्रसार गर्दै पाहुना बसाल्ने दिन बढाउन सकिन्छ,’ नेपाल ट्राभल एन्ड टुर्स कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मीले भने, ‘अर्गानिक खाना र भर्जिन गन्तव्यका लागि पर्यटक बढी सौखिन हुन्छन् ।’ पोखरा आएका विदेशी पर्यटक राख्न बागलुङमा प्रशस्त होटल बनेको उनले बताए ।
सदरमुकामबाट छोटो समयमा पुगिने र हिमाल देखिने गन्तव्यहरु विदेशी पर्यटकका लागि बढी आर्कषक हुने उनको भनाइ छ । पञ्चकोटसम्म सवारी चढेर मात्र नभइ पैदल यात्रा गरेर समेत लैजान सकिने व्यवस्था गर्दा पर्यटकको बसाइँ एक दिन लम्बिने अर्का व्यवसायी कमलराज रेग्मीले बताए ।
‘लोकगीत, संगीतले नेपाली पर्यटक र साहसिक यात्राले विदेशी लोभिन्छन्,’ व्यवसायी रेग्मीले भने, ‘सदरमुकाम वरिपरि दुवै गन्तव्यहरु बनेकोले अब स्तरीय सडकमा लगानी बढाउनु पर्नेछ ।’ भकुण्डेतर्फ सडक बनाउने, पञ्चकोट क्षेत्रमा साइनबोर्डको व्यवस्थापन चाहिएको उनले सुझाव दिए ।
शालिग्राम संग्राहलयले धेरै पर्यटक भित्राउन सकिने तर, प्रचार बढाउनुपर्ने उनको सुझाव छ । निर्माणधीन पूर्वाधारले पूर्णता पाउँदा पर्यटक बढ्ने उनले बताए । पोखरा आएका पर्यटकलाई बागलुङ पठाउन पहल गर्ने उनले आश्वासन दिए ।
महासंघले ३ दिनसम्म बागलुङमा होटल व्यवसाय सम्बन्धी तालिम दिएको थियो । तालिममा खानाका प्रकार, पाहुना स्वागत र सत्कार, सेवा प्रवाह र व्यवसायको दिगो पना लगायतका विषयमा प्रशिक्षण भएको महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए । पछिल्लो समय बागलुङमा दर्जनबढी स्तरीय होटल बनिसकेका छन् । सानाठूला गरी १ सय ५० होटल रहेको बागलुङमा एकैपटक २ हजार पर्यटक राख्न सक्ने अवस्था भइसकेको छ ।
होटलको निर्माण र क्षमता बढेको सन्देशले विभिन्न संस्थाले राष्ट्रियस्तरका सम्मेलन समेत यहाँ राख्न थालेका छन् । लायन्स, रोटरी लगायतका सामाजिक क्लब, राजनीतिक दलका सभा सम्मेलन, पेशागत संस्थाका अधिवेसन बागलुङमा चल्न थालेका हुन् । कतिपय संस्थाले ढोरपाटनसम्म पुगेर आफ्ना कार्यक्रम सञ्चालन गरेका छन् ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले गलकोटस्थित तोरीखोला होमस्टेमा पुगेर ३ दिने तालिम चलाएको थियो । नेपाल भेटेनरी तथा पशु चिकित्सक संघले पनि आफ्नो महाधिवेशन बागलुङमै गरेको थियो । यस्ता प्रकारका कार्यक्रमले पर्यटक आउने क्रम बढाएको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेस राजभण्डारीले बताए ।
बसाइँको राम्रो व्यवस्थापन छ भन्ने बुझेपछि चितवन, पोखरा, भैरहवा लगायतका स्थानबाट आमा समूह, सहकारी संस्था र धार्मिक संघसंस्थाबाट पनि सयौं पर्यटक आउने क्रम बढेको हो ।
‘बागलुङ कालिका आएका पर्यटकलाई बजारसम्म निशुल्क लैजाने व्यवस्था गर्न सकियो भने अझै व्यवसाय बढाउन सकिन्छ,’ बागलुङ कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले भने, ‘उद्योग वाणिज्य संघले साथ दिए गुठीले पनि साथ दिन्छौं ।’ कालिका मन्दिर आएका आधा पर्यटक बागलुङ बजार लैजान सकिने उनको योजना छ ।