बागलुङ, १९ चैत्र- दुवै खुट्टाको अपांगता भएका तमानखोला गाउँपालिका १ का धनिराम सुनार अहिले घरमै बसेर व्यवसायिक बनेका छन् । उनले घरैमा बसेर स्वरोजगारमूलक काम गर्दा कमाइ गरेर परिवार पाल्न सक्ने भएका हुन् ।
सुनारका दुवै खुट्टामा समस्या भएकोले बैशाखी टेकेर मात्र घरमा भित्रबाहिर गर्न सक्छन् । टाढा जान सक्दैनन् । तर समयमा सिकेको सिपले परिवार पाल्न सकेको बताए ।
उनको खुट्टामा सोह्र वर्षको उमेरमै समस्या आएको थियो । खुट्टा सुनिँदै गएर उनी हिँड्नै नसक्ने भएपछि १० वर्षसम्म ओच्छ्यानमा परेका थिए । उनले उपचारसमेत कतै पाउन सकेनन् । बरु, धामीझाँक्री देखाएर आरो हाल्दा खुट्टाका नसा टुटेर गयो । त्यसैले अझै पनि उनको खुट्टा निको नभएको हो ।
अहिले पनि उनको दुवै खुट्टाको नसा र हड्डी सुकेका छन् । आर्थिक अवस्थाका कारण परिवारले उपचारमा लैजान सकेनन् । अपांग भएपछि घरपरिवार र छिमेकीबाट अपमान सहनुपरेको उनले गुनासो गरे । उपचार नभएप्नि आफ्नै प्रयासले हिँड्न खोज्दा उनले १० वर्षपछि मात्रै घस्रन सकेका थिए । त्यसपछि आफैंले बनाएको बैशाखी टेकेर शौचालयसम्म जान सक्ने भएको उनले बताए ।
घरैमा उनले चोया काढ्ने सीप सिके । चोयाका सामान बनाउन थाले । अपांग अवस्थामै बाबुले विवाह गराइदिएका थिए । उनको परिवार पाल्ने दायित्व थपियो । हिँड्न नसक्ने, घरकै डिलमा बस्नुपर्ने बाध्यताबीच उनले सीप सिकेर स्वरोजगार बन्ने निधो गरे ।
दुई महिनासम्म बुर्तिबाङमा बोकिएर गएर उनले सिलाई सिके । ग्रामीण स्वास्थ्य सुधार परियोजनामा ल्याएर फेयरमेड फाउन्डेसनले १५ दिनको मुढा बनाउने तालिम पनि दियो । दुवै सीप सिकेपछि भने उनलाई अहिले जीवन जीउन सहज भएको छ ।
सुनार अझै पिँढी छाड्न सक्दैनन् । तर, पनि उनले व्यवसायीझैं काम गर्न थालेका छन् । नियमित अर्डर आउन थालेपछि उनले दैनिक २ वटा मुढा बुन्न भ्याएका छन् । हाते मेसिनबाट एकदुई वटा कपडा पनि सिलाउँछन् । अहिले त उनले बनाएका मुढा गाउँघरमै बिक्री हुन थालेका छन् । प्रतिगोटा ६ सय रुपैयाँमा बेच्दा उनले केही फाइदा निकाल्न सकेको बताए । यसरी कमाएको पैसाले उनले दुई छोरा र एक छोरी पढाएका छन् । घरका ७ जनाले खाने जोहो उनकै सीप हो ।
‘छोराछोरीको कमाइ छैन, मैले काम नगरे दुई छाक चल्दैन,’ उनले भने, ‘घरको पिँढी छोड्न सक्दिन, तरपनि काम गर्ने हिम्मत हारेको छैन ।’ उनको खुट्टाको अपरेसन भएमा हिँड्न सक्ने सम्भावना होला भनेर केही स्थानमा उपचारका लागि पठाइएको थियो । तर, सुधार हुने अवस्था नदेखेपछि घरमै बसेर व्यवसाय गर्न बीउ पूँजी दिएको परियोजनाका व्यवस्थापक गणेश बरुवालले बताए ।
उनको अपांगता देखेपछि परियोजनाले तालिम र बीउ पूँजी दिएर व्यवसाय गर्न लगाएको थियो । उक्त पूँजीबाट खरिद गरेको धागो र बाँसबाट अहिले नियमित मुढा बुन्दैछन् । ‘हामीले केही सहयोग गरेर उपचारमा पठायौं, अब अपरेशनबाट पनि सम्भव नहुने अवस्था देखेपछि व्यवसायमा साथ दियौं,’ बरुवालले भने, ‘नसा र हड्डीमा असर परिसकेकोले उपचारमा खर्चनुभन्दा व्यवसायमा लगाउनु राम्रो हुन्छ ।’ पोखरास्थित हरियो खर्क अस्पतालमा उनको प्रारम्भिक उपचार भएको थियो ।
अपरेशन गर्नुपर्ने भनेपछि सुनार फर्केका थिए । उपचारपछि पनि पुरानो अवस्था आउने संभावना छैन भनेपछि उपचारै नगरेको सुनारले बताए । ‘सम्पत्ति छैन, उपचारमा ऋण लागे परिवारको बिचल्ली हुन्छ, त्यसैले फर्किएँ’ सुनारले भने ।
पत्नि काली सुनार र छोरा दिपकले पनि बाबुको कमाई नभए घर चल्न नसक्ने भएकोले उपचारमा पठाउन नसकेको बताए । छिमेकी निर्मला बुढाथोकीले गाउँपालिकामा पनि उनको उपचार खर्चका लागि पहल भएको बताइन् । ‘उपचारका लागि धेरै पहल भए, तर झन् खतरा होला भनेर मान्नु भएन’ बुढाथोकीले भनिन्, ‘उपचार गर्नेनै भए अन्य क्षेत्रबाट पनि केही सहयोग जुटाउने कुरा भएको थियो ।’
जीवनभर पिंढीमै बस्नुपर्ने बाध्यताले सुनार पिडीत भएपनि उपचारबाट झन् समस्या आउनेमा उनी सचेत बनेका हुन् । अहिले पनि उनको दुवै खुट्टा टेक्न मिल्दैन । दाहिने खुट्टा पुरै र देब्रे खुट्टामा आंशिक कमजोरी छ । घरमै भित्रबाहिर गर्न उनलाई बैशाखी उपयोगी छ । शौचालयसम्म एक्लै जान सक्छन् । घर छाडेर अन्यत्र जान सक्दैनन् ।