मुस्ताङ, १९ चैत्र-अघिल्लो चैतमा बाढीले बगाएको कच्ची पुल पुनर्निर्माण नहुँदा मुस्ताङवासीले सास्ती खेपेका छन् । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक आयोजनामा पर्ने मार्फा खोला पुल निर्माण नहुँदा मुस्ताङवासीलाई सास्ती भएको हो ।
गतवर्ष चैत १५ गतेको दिन मार्फामा रहेको अस्थायी पुल बाढीले बगाएको थियो । मुस्ताङको मार्फा खोलामा पटक÷पटक अस्थायी पुल बगाँउदा यात्रुहरुलाई निकै सास्ती हुने गरेको छ । पक्की पुल नबन्दा अस्थायी पुलकै भर पर्नुपर्ने बाध्यता छ ।
हिमढुङ एन्ड ठोक्कर इमोटर जेभीले जिम्मा लिएको मार्फा खोलाको पक्की पुल निर्माणको सम्झौता अवधि सकिँदासम्म आधा मात्र काम भएको करिडोर सडक आयोजनाले जनाएको छ । निर्माण कम्पनीले ०७५ साल भदौ ६ गते घरपझोङ गाउँपालिका २, मार्फा खोलामा १ सय २० मिटर लामो पुल र वारागुङ मुक्तिक्षेत्रको नरसिंह खेलामा ९० मिटर लामो पक्की मोटरेबल पुल बनाउन २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । पुलको सम्झौता अवधि भदौ २० गतेसम्म थियो ।
निर्माण कम्पनीको ढिलासुस्तीले पुल निर्माणको कामले गति लिन नसकेको स्थानीयको आरोप छ । निर्माण काम समयमै नसकिएपछि कम्पनीले म्याद थप गरी ०७८ साल बैशाख ३१ सम्म निर्माण कम्पनीले पुल निर्माण गरिसक्ने करिडोर सडक आयोजनाले जनाएको छ । वर्षायाम नआउदै मार्फा खोला बढेर अस्थायी पुल भत्काएको कारण उक्त पक्की पुल छिटोभन्दा छिटो बन्नु पर्ने र अस्थायी पुल निर्माण हुनुपर्ने त्यहाँको स्थानीयहरुको माग छ ।