८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

सायद बा यस्तै हुन्छन्


जनमञ्च संवाददाता
  • १९ चैत्र २०७८ , शनिबार

  • सायद बा यस्तै हुन्छन्

    ‘बाबा, दर्शन । के छ खबर ? कस्तो छ हजुरलाई ?’
    बाबाले भन्नुभयो, ‘ठिक छु छोरी । अनि तिमी ?’
    ‘म’नि ठिक छु । अनि, अमेरिका बसाइ कस्तो बितिरहेछ त ? नेपाल र अमेरिकामा के फरक रहेछ बाबा ?’ हाँसीहाँसी सोधेँ मैले ।
    बाबाले विनाकुनै एक्सप्रेसन भन्नुभयो, ‘बिहान हुँदा उज्यालो हुँदो रहिछ । राति हुँदा अँध्यारो हुँदो रहिछ, यहाँ त !’

    सुरुमा त उहाँले के भन्नुभो भनेर सोचेँ । एक छिनपछि भनाइ बुझेर म गलल्ल हाँसे । उता बाबाको छेउमा बसेका आमा र बहिनी पनि हाँस्न थाले ।

    बाबा आफू नहाँसी–नहाँसी हामीलाई हँसाउनुहुन्छ ।
    मलाई अझै बाबालाई जिस्काउन मन लाग्यो । अझै बोल्न मन लाग्यो ।
    भनेँ, ‘बाबा अरू के–के फरक पाउनुभो त ?’
    बाबा पहिलाकै मुडमा बोल्नुभयो, ‘यहाँ त नेपालमा भन्दा धेरै गाडीघोडा कुद्छन् । तर, कतै चाइँचुइँ छैन । शान्त छ । गाडीहरू त असला माछाहरूझैँ बग्दा रहिछन् ।’
    म फेरि हाँसे, गाडीहरू त बग्दा पो रहेछन् अमेरिकामा भन्ने सोच्दै ।

    ‘अरू ?’ फेरि सोधेँ ।

    ‘यहाँ त बाहिर बाटोतिर मान्छे देख्नै नपाइँदो रहेछ । गोरा छन् कि काला खोइ ! कसले छड्के टोपी लायो, कसले सिधा त्यो नि देख्नु छैन । कसले टल्कने झिल्ल परेको सारी लगायो, कसले कति सुन लगायो, फलानोले नौगेडी लगाई, तिलानोले रानी हार लगाई’थी, केही भन्न नपर्नी । यस्तो नदेखेपछि कसैले कसैको कुरा काट्न पनि परेन । आनन्द पो रहिछ यहाँ ।’

    बाबा नहाँसेरै एकसुरले यी सबै कुरा सुनाउँदै हुनुहुन्थ्यो । म बाबाको सत्तरीबर्से अनुहार भिडियो कलबाट नियाल्दै थिएँ । आज फेसबुकले यस्तो सुविधा दिएको छ, विश्व नै घर भएको छ । कति अगाडि पुगिसक्यो विश्व प्रविधिमा ।

    यो संवाद हँुदै थियो, अमेरिका र नेपालमा बाबा–छोरीको । साइडमा बसेकी बैनीले भनी, ‘बाबाले अझै एउटा नयाँ कुरा पता लगाउनुभा’को छ नि दिदी !’
    ‘भन्नुस् न बाबा, त्यो के हो ?’
    अलिकति मिठो मुस्कान झुल्यो बाबाको ओठमा, चाउरी परेका गाला खुम्च्याउँदै ।

    बाबाले भन्नुभयो, ‘यै त, यहाँ जुन खानेकुरा पनि फ्रिजमा राखेर खाने गर्दा रहिछन् । यो चलनचैँ गजब लाग्यो मलाई । नेपालमा त सब्जी ल्यायो, पखाल्यो, तातो कराइमा घप्पलक्क ओइरियो अनि कपाकप खायो । तातोले सबै कीटाणु मर्छ भनेर सोच्छौँ । चिसोले मर्ने कीटाणु त मर्ने भएन नि, तर त्यो जानेका रहिछन् विदेशीले । चिसोको कीटाणुजति फ्रिजले मार्यो, तातोले मर्ने कीटाणु पकाउदा मर्यो । यसरी खाए पो गजब हुने रहिछ ।
    बाबाको बोल्ने शैलीले हाम्रो हाँसो कोठाभरि पोखियो । लाग्दै थियो, हामी सँगसगै छौँ एउटै कोठाभित्र ।
    मैले भनँे, ‘लौ ! बाबा वैज्ञानिक पो हुनुभएछ ।’
    छेउमा रहनुभएकी आमाले भन्नुभयो, ‘तिम्रो बाबा बुद्धिमानी भएर त मैले बिहे गरेको ।’ हामी फेरि हाँस्न थाल्यौँ ।
    बाबाले हाँसोलाई चिर्दै भन्नुभयो, ‘होइन होइन, मैले रोजेको हो तिम्री आमालाई । तर, सोह्रओटी केटी छोडेर सत्रौँ नम्बरमा यो मन परी !’
    लौ कति हाँस्नु अब ! भिडियो कलको माहोल झनै रोमाञ्चक बन्यो । बाबाले अमेरिकी चुस्की लिनुभा’को थियो क्यारे ! अरू बेला धेरै नबोल्ने, गमक्क बस्ने हाम्रा बा आज निर्धक्क खुलेर बोल्नु हुँदै थियो ।

    सरकारी कर्मचारी इमानदार, निष्ठावान् भएर जीवनभर साधारण जीवन भोगाइकै क्रममा चार छोराछोरी हुर्काउन कति चुनौती थिए होलान् । ती पोटिला हातका छाला आज खस्रा र चाउरी परेका देख्दा जिन्दगी भनेकै कलिला, पोटिला अनि चाउरी परेका यादैयादको चौतारीजस्तै लाग्छ ।

    हिजो हामीजस्तै फक्रिँदै गरेको फूल देखिने हाम्रा बा–आमा आज पूर्ण रूपमा फुलेर पनि सुक्न लागेको त्यही फूलबाट आफ्ना सन्तानका लागि सुगन्ध छरिरहनुभएको छ ।

    मलाई एकचोटि बालापनको मझेरीमा फर्किन मन लाग्यो । एक दिन आमा बिहानै मन्दिर जान्छु भनी तम्सिनुभो । बाबाको पुर्पुरो ताती त हाल्यो ! तुरुन्त घर पछाडि गएर लौरो ल्याएर बेस्सरी आमालाई हिर्काउनुभो ।
    अनि भन्नुभो, ‘तँलाई तेरो भगवान्ले खानलाउन दिन्छ ? घण्टी बजाएर सबै काम हुन्छ ? भगवान्लाई त मनमा पो राख्ने हो । सधैँ पूजाआजा भन्दै हिँड्छे यो त ।’ उहाँले आमालाई यस्तै रुखो वचनवाणले घोच्नुभो ।

    थाहा छैन, त्यो पल आमालाई वचनवाणले धेरै दुख्यो कि लौरोले । म चुपचाप हेरिरहेँ । आमा थचक्क भुइँमा बसेर रुन थाल्नुभो । बाबा पनि रिसले फुई…फुई… चुरोट तान्दै आँगनतिर निस्किनुभो ।

    आमाको हातबाट फूलहरू भुइँभरि छरिए । अबिर–केसरी थालीबाट पोखिए । अबिर पोखिएकोमा कुनै गुनासो थिएन । बस्, आमाको आँसु पोखिएकोमा मलाई आपत्ति थियो ।

    याद छैन मलाई, त्यो पल भाइबैनी कता थिए कुन्नि । बस्, यो घटनाको साक्षी थिएँ म । तर, विवश र लाचार पनि । हेर्न मात्रै सक्थँे, केही भन्न सक्दिनथेँ ।

    आमा रुँदै विस्तारै भुइँमा बस्नुभो । पेटीकोट च्यातिएर तिघ्राबाट रातो रगत बग्दै थियो । नराम्रोसित चोट लागेको थियो । सायद, त्यो लौरोमा काँटी थियो । शरीरमा सुम्लाको डाम बसिसकेको थियोे ।

    म अर्को कुनाबाट हेर्दै थिएँ । आमाले आफूले लगाएको सारी निकै माथि सार्नुभो । ला ! आमा के गर्दै हुनुहुन्छ, अब नदेखिनुपर्ने चिज पनि देखिने त होइन ! मैले आँखा अन्तै हटाएँ । बालापन मस्तिष्कले के–के सोच्यो के–के ।

    आज कल्पना गर्छु, न त मल्हम दिएँ न आमा नरोऊ भन्न सकेँ । भित्रभित्र भतभत पोल्यो । त्यो पल मैले मेरो बाबा भयानक भूतजस्तो देखेँ । मेरी हजुरआमाले भूतको कथामा सुनाएझैँ भूत, जसले मेरी प्यारी आमालाई चोट पुर्याएको थियो ।

    बाबा आफूचाहिँ शनिबार आयो कि तास खेल्न गाउँगाउँ डुल्नुहुन्छ । अनि, आमालाई चाहिँ मन्दिर जान दिन्नु हुन्न । म चिया बनाउन सक्ने त भइसके नि बाबा– भन्न चाहन्थेँ । तर, यी सब कुरा भन्न नसकेर मनभित्रै दबाएर छलिएर बारीमा रुन गएँ म ।

    बाबा नास्तिक होइन । तर, मन्दिर जानु सबैभन्दा घृणाको विषय थियो उहाँका लागि । भन्नुहुुन्थ्यो, ‘दुःखी–गरिबलाई सहयोग गरे धर्म हुन्छ । घण्टी बजाउँदैमा केही हुन्न ।’

    बाबाको एउटा अनौठो बानी थियो, खुसी हुँदा अनावश्यक खोक्ने र बाहिर–भित्र गर्ने । दुःखी हुँदा चुरोट सल्काउने र बुङ्बुङती धुवाँ उडाउने । जब तास खेलेर जित्नुहुन्थ्यो, जितौरीले मासु किनेर ल्याउनुहुन्थ्यो । घर आएर भान्सामा आफैँ ढिँडो ओडाल्न थाल्नुहुन्थ्यो ।

    जुन दिन हातमा झोला हुन्थ्यो, हामी बुझ्थ्यौँ– बाबाले आज जितेर आउनुभा’को छ भन्ने । हारेको दिन चुरोट सल्काउँदै घरभित्र छिर्नुहुन्थ्यो । त्यस दिन भाइबैनी र म फटाफट किताब समातेर पढेको नाटक गर्थ्यौँ । ताकि, बाबाको रिस र दुखेको मन शान्त होस् ।

    तास, मन्दिर यस्तै अनेक कुरामा सयौँपटक लडाइँ भयो घरमा । यस्तै अनेक कुरामा मनमुटाव हुन्थ्यो, बाआमाबीच । आमाको प्रिय विषय मन्दिर जानु, पूजापाठ गर्नु नै थियो । यो अवस्थामा म छुट्ट्याउन सक्दिनथेँ, को सही छ ।

    तर, जीवनचक्र यसरी अघि बढ्यो कि आजको दिनमा मलाई मेरो बाबा भगवान्, सुपरम्यान र बलवान् लाग्छ ।

    सधैँ पैसाको अभाव हुन्थ्यो, तर इमानदार भएर सही बाटोमा हिँड्नुभो । हजारौँ रात चुहिएको छानोमुनि भिजेको ओछ्यानमा काट्नुभो । आफूले पुरानो लुगा लगाएर हामीलाई नयाँ नाना दिनुभो ।

    समयमा विद्यालयको शुल्क बुझाइदिनुभो । बिरामी पर्दा समयमै उपचार गराउनुभो । झुपडी घरबाट पक्की घरमा राख्नुभो । मिठोमिठो मन पर्ने खाना खुवाउनुभो । शिक्षा दिनुभो । संस्कारमा बाँध्नुभो । केही सम्झौता बाले गर्नुभो । केही सम्झौता आमाले गर्नुभो ।

    समयसँगै बा परिपक्व हुँदै जानुभो । सन्तानप्रतिको जिम्मेवारी निभाउँदै जानुभो । अनि, मेरो मनमा भगवान्को ठाउँ बनाउँदै जानुभो । हो, परिस्थिति, परिवेश फरक होला, तर बाले दिने ममता त सन्तानका लागि उस्तै हुन्छ । सायद, सबैका बा यस्तै हुन्छन् । आँ गर्दा अलंकार बुझ्ने । आफूले नखाए पनि तँ खा भन्ने, तिमी मेरा बा ।

    बाबाप्रति म गर्व गर्छु । छोरी पराई धन । आज म चाहन्छु, यस्तै माया र साथ ससुरा बुवाबाट पनि पाऊँ । मैले पनि आफ्नो जिम्मेवारी निभाउन सकूँ । आज डीभी परेर गएकी सानी बैनीले बाआमालाई अमेरिका घुमाउँदै छे । ज्वाइँ छोरा हुनुभएको छ । के मनपर्छ ? भनेर सोध्दै खुवाउनुभएको छ । यी पलहरू फेसबुकमै हेर्दा पनि म गद्गद् छु ।

    समुद्र तटहरूमा बहिनीले टिकटक बनाइदिएकी छे, बाबाआमाको । यी क्षणमा बाबाआमा कहिले क्यापिटल सिटी, नासाजस्ता महत्त्वपूर्ण ठाउँहरू घुम्दै हुनुहुन्छ । अनि लाग्छ, त्यो सम्बन्ध जोगाउन कति घामपानी सहनुभा’को थियो उहाँहरूले ।

    कति धैर्य थियो, कति संघर्ष थियो । म अहिले बुझ्दै छु । हामी नयाँ पिँढी झुक्न जान्दैनौँ । दुवैलाई ठूलो हुनुपर्छ । एकार्काको कदर गर्न जान्दैनौँ । सधैँ आफैँलाई ठूलो हुनुपर्छ । सानातिना मनमुटाव सहन सक्दैनौँ र सम्बन्ध टुंग्याउनेसम्म पुग्छौँ ।

    शंका–उपशंकाबीच रुमलिन्छौँ । वर्तमान बचाउन सके पो भविष्य बन्छ । उहाँहरूले पार गरेको उतारचढावपछि नै त यी सुन्दर पलहरू जन्मिएका हुन् । एउटाएउटा दाना गाँसेर र त सुन्दर माला तयार भएको हो ।

    कतै हामी सम्बन्धका पछाडि लागेर आफ्नै माया गर्ने मान्छेको मनबाट टाढा भएका त छैनौँ ? यही तर्कनामा रुमल्लिएँ म ।

    हठात् टिकटकमा नजर गयो । भिडियो निकै सुन्दर बनेको रहेछ, बाबाआमाको ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend