बागलुङ, २३ चैत – नेकपा माओवादी केन्द्रका बागलुङ नगर कमिटी अध्यक्ष इन्द्र केसी (पारस) बुधवार नेकपा एमालेमा प्रवेश गरेका छन् । सदरमुकाम बागलुङ बजारमा आयोजित कार्यक्रममा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले केसी सहित माओेवादीका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरे ।
एमालेमा समाहित कार्यक्रममा केसीले माओवादीले एमसीसी अनुमोदन गरेको र कांग्रेससँग गठबन्धन गरेर जनता र कार्यकर्तालाई रुखमा भोट हाल्न बाध्य पारेकोले माओवादी त्यागेको वताए ।
संसदबाट एमसीसी पारित भए लगतै केसीले पार्टीभित्र सैद्धान्तिक असहमति जनाउँदै माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए ।
कार्यक्रममा केसीसहित माओवादी केन्द्र काठेखोला गाउँ कमिटीका उपाध्यक्ष बिष्णु खड्का लगायत करीव ४० भन्दा धेरै नेता तथा कार्यकर्ता एमालेमा प्रबेश गरेका थिए । प्रवेश गर्नेहरु अधिकांश युवाहरु थिए ।
उनीहरु माओवादीको युवा संगठन वाईसिएलको विभिन्न तहमा संगठित युवाहरु रहेको एमाले जिल्ला सचिव विष्णु भुसालले वताए ।